भक्तपुर, कार्तिक १६ । रोटरी क्लब अफ भक्तपुरको आयोजनामा सञ्चालित तीनदिने ‘रोटरी पुस्तक प्रदर्शनी २०८३’ आइतबार सम्पन्न भएको छ। पठन संस्कृतिको विकास, नयाँ पुस्तामा पुस्तकप्रतिको रुचि अभिवृद्धि तथा भक्तपुरको कला, संस्कृति र साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रदर्शनीमा पुस्तकप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रदर्शनीको समापन कार्यक्रममा प्रमुख अतिथि रोटरी डिस्ट्रिक्टका डिस्ट्रिक्ट गभर्नर (डीजी) विष्णुबहादुर कार्कीले भक्तपुर रोटरी क्लबको पुस्तक प्रदर्शनी विशेष, नौलो र सिर्जनात्मक कार्यक्रम भएको बताउनुभयो। उहाँले रोटरीको इतिहासमै पुस्तक प्रदर्शनी नौलो र सफल कार्यक्रमका रूपमा स्थापित भएको उल्लेख गर्नुभयो।
दुई दिनसम्म मौसमले साथ नदिए पनि पुस्तकप्रेमीहरूले देखाएको विश्वास, सद्भाव, उदारता र सहयोगले कार्यक्रमलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो। पुस्तक ज्ञानको स्रोत मात्र नभई समाज परिवर्तन र सभ्य भविष्य निर्माणको आधारसमेत भएको उल्लेख गर्दै उहाँले प्रदर्शनीले पठन संस्कृतिको विकास, नयाँ पुस्तामा पुस्तकप्रतिको रुचि वृद्धि तथा भक्तपुरको कला, संस्कृति र साहित्यको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि तथा भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले दुई दशकअघि भक्तपुरमा आयोजित पुस्तक प्रदर्शनीको स्मरण गर्दै यस्ता कार्यक्रमले विद्यार्थी तथा अध्ययनमा रुचि राख्नेहरूलाई थप अध्ययन गर्न प्रेरित गर्ने बताउनुभयो।
साना विद्यार्थीले तत्काल पुस्तक नकिने पनि पुस्तक प्रदर्शनीमा सहभागी भएको अनुभव लामो समयसम्म स्मरणमा रहने उहाँको भनाइ थियो। प्रदर्शनीअन्तर्गत आयोजित पठन संस्कृतिसम्बन्धी अन्तरक्रिया, गजल वाचन तथा कविता वाचनजस्ता कार्यक्रमले प्रदर्शनीलाई थप आकर्षक र अर्थपूर्ण बनाएको उहाँले बताउनुभयो।
कार्यक्रमका सभापति तथा रोटरी क्लब अफ भक्तपुरका अध्यक्ष दशरथ प्रजापतिले विभिन्न सहयोगीहरूको साथ र सहकार्यले प्रदर्शनी सफल भएको बताउनुभयो। मोबाइल र टेलिभिजनजस्ता विद्युतीय उपकरणको बढ्दो प्रयोगका बीच बालबालिकामा सानै उमेरदेखि पुस्तक पढ्ने बानीको विकास गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको उहाँले स्पष्ट पार्नुभयो।
पुस्तक अध्ययनको बानीले बालबालिकाको ज्ञान, सोच र सिर्जनशीलताको विकासमा सहयोग पुर्याउने भएकाले पठन संस्कृतिलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ थियो।
प्रदर्शनीलाई सफल, भव्य र उपलब्धिमूलक बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा सहयोगी महानुभावहरूलाई आयोजक क्लबका तर्फबाट मायाको चिनो प्रदान गरी सम्मानसमेत गरिएको थियो।
पुस्तकलाई ज्ञान, चेतना र सामाजिक रूपान्तरणको माध्यमका रूपमा स्थापित गर्ने लक्ष्यसहित आयोजित प्रदर्शनीले भक्तपुरमा पठन संस्कृतिको प्रवर्द्धन तथा पुस्तकप्रेमी समुदायको विकासमा सकारात्मक सन्देश दिएको छ।
