शुक्रबार, बैशाख ४, २०८३

28.2 C
Bhaktapur
शुक्रबार, बैशाख ४, २०८३
28.2 C
Bhaktapur
HomeNews Contentशिक्षासंस्कार, सिर्जना र आधुनिकताको उज्यालो यात्रा : फुलब्राइट स्कुल को २०औँ वार्षिकोत्सव...

संस्कार, सिर्जना र आधुनिकताको उज्यालो यात्रा : फुलब्राइट स्कुल को २०औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

भक्तपुर । शिक्षा केवल पाठ्यपुस्तकको सीमाभित्र सीमित हुँदैन, त्यो संस्कार, चेतना, सिर्जनशीलता र जीवन बाँच्ने कला सिकाउने प्रक्रिया पनि हो। यही जीवनमूल्यलाई आत्मसात गर्दै फुलब्राइट स्कुल, चाँगुनारायण नगरपालिका–३, भक्तपुरले आफ्नो २०औँ वार्षिकोत्सव विविध शैक्षिक, सांस्कृतिक र साहित्यिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ।

“Fulbright School: The School for 21st Century” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विद्यालयले आधुनिक प्रविधिमैत्री शिक्षा, संस्कारयुक्त अभ्यास र विद्यार्थीको सृजनात्मक क्षमताको उत्कृष्ट समन्वय प्रस्तुत गरेको देखिन्थ्यो। विद्यालय परिसर उत्साह, रङ्ग, संगीत र सिर्जनशीलताले भरिएको थियो, जहाँ प्रत्येक प्रस्तुति विद्यार्थीको प्रतिभा र आत्मविश्वासको जीवन्त अभिव्यक्ति बनेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जनार्दन रिजालले बालबालिकामा गरिएको लगानी नै राष्ट्र निर्माणको आधार हुने उल्लेख गर्दै सिकाइको वातावरण सिर्जना गर्ने पहिलो जिम्मेवारी अभिभावकको भएको बताए। उनले घरलाई बालबालिकाको पहिलो विद्यालयको रूपमा व्याख्या गर्दै भने, बालबालिकालाई अक्षर चिनाउनु मात्र शिक्षा होइन, उनीहरूको मानसिक, सामाजिक र व्यवहारिक विकास सुनिश्चित गर्नु पनि उत्तिकै आवश्यक छ। बढ्दो मोबाइल लतबाट बालबालिकालाई जोगाउन अभिभावक स्वयं सचेत र शिक्षित हुनुपर्छ।´ उनका अनुसार संस्कार, अनुशासन र नैतिकताको बीजारोपण परिवारबाट सुरु हुन्छ, विद्यालयले त्यसलाई परिष्कृत गर्ने काम गर्छ।

कार्यक्रममा वडा नं. ३ का अध्यक्ष श्यामसुन्दर धिमालले विद्यालयले एक्काइसौँ शताब्दीको आवश्यकता अनुसारको शिक्षा प्रदान गरिरहेको उल्लेख गर्दै विद्यालयको प्रशंसा गरे। उनले भने,आजको शिक्षा केवल परीक्षा पास गर्ने माध्यम होइन, यो व्यक्तित्व निर्माण गर्ने प्रक्रिया हो। विद्यालयले विद्यार्थीको अन्तरनिहित प्रतिभा पहिचान गरी त्यसलाई विकास गर्ने वातावरण दिनुपर्छ।´ उनले सामाजिक सञ्जालको नकारात्मक प्रभावबाट विद्यार्थीलाई जोगाउन विद्यालय र अभिभावकबीच घनिष्ठ सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रमको विशेष आकर्षणका रूपमा विद्यालयका पूर्व प्रिन्सिपल स्वर्गीय राजेश दाहालद्वारा लिखित तथा रमेश दाहालद्वारा रचित बालगीतको विमोचन गरिएको थियो। उक्त गीत चर्चित गायक राजेश पायल राईको स्वरमा प्रस्तुत भएपछि कार्यक्रम स्थल भावुक र ऊर्जावान बनेको थियो।

विद्यार्थीहरूले प्रस्तुत गरेका गीत, नृत्य, नाटक, कविता तथा सांगीतिक प्रस्तुति केवल मनोरञ्जन मात्र नभई उनीहरूको सृजनात्मक क्षमताको उत्कृष्ट प्रदर्शन बने।

विशेष गरी फुलब्राइट म्युजिक ब्याण्ड´ काे प्रस्तुति र कक्षागत सांस्कृतिक कार्यक्रमले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। विद्यालयले सबै विद्यार्थीमा क्षमता हुन्छ भन्ने विश्वाससहित शतप्रतिशत विद्यार्थीलाई प्रस्तुति दिने अवसर प्रदान गरेको जनाएको छ, जुन समावेशी शिक्षाको उदाहरणीय अभ्यास हो। विद्यालयकी प्रिन्सिपल एलिना दाहालले प्रस्तुत गरेको प्रगति प्रतिवेदनअनुसार विद्यालयमा हाल ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यालयले २०७२ सालको एसईई परीक्षामा चाँगुनारायण नगरपालिकामै उत्कृष्ट नतिजा हासिल गरेको थियो भने २०८१ मा पनि उत्कृष्ट औसत नतिजा कायम राख्दै आफ्नो शैक्षिक स्तरलाई निरन्तर सुदृढ बनाएको छ। विद्यालयमा विषयगत प्रयोगशाला, बालमैत्री पूर्वाधार, विद्यालय नर्समार्फत नियमित स्वास्थ्य परीक्षण, हस्तलेखन कक्षा, शिक्षक तालिम खेलकुद, चित्रकला, नृत्य तथा अभिनय प्रशिक्षणजस्ता सुविधा उपलब्ध छन्। विद्यालयका विद्यार्थीहरूले चित्रकलामा भारत र जापानबाट अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्नुका साथै स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म उल्लेखनीय सफलता हासिल गरेका छन्।

कार्यक्रममा प्याब्सन भक्तपुरका अध्यक्ष राजन कसपालले फुलब्राइट स्कुललाई शिक्षा, साहित्य र संस्कारको सन्तुलित केन्द्रको रूपमा चित्रण गरे। त्यसैगरी नगर प्रमुख टंक सिटौला तथा अन्य वक्ताहरूले विद्यालयले संस्कारयुक्त र व्यवहारिक शिक्षा प्रदान गर्दै समाजमा सकारात्मक योगदान पुर्याएको बताए। स्व. राजेश दाहालको स्मृतिमा स्थापितस्व. राजेश दाहाल स्मृति प्रथम पुरस्कार´बाट महेन्द्रग्राम माविकी एसईई सर्वोत्कृष्ट विद्यार्थी गोमा श्रेष्ठलाई नगद रु. १० हजारसहित सम्मान गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थी प्रतिनिधि आकृति न्यौपानेले धन्यवाद ज्ञापन गरेकी थिइन्।

विद्यालयले आगामी दिनमा व्यवस्थित मन्टेश्वरी कक्षा सञ्चालन, कक्षा ११ विस्तार, खेलकुद पूर्वाधार विकास, विद्यालय बस सेवा विस्तार, भौतिक पूर्वाधार सुदृढीकरणजस्ता योजनाहरू अघि बढाउने जनाएको छ।

विद्यालयले आफ्नो सफलताको श्रेय विद्यार्थी, शिक्षक, अभिभावक, कर्मचारी र शुभेच्छुकलाई दिँदै संस्कारयुक्त, व्यवहारिक र प्रयोगात्मक शिक्षामार्फत सक्षम, जिम्मेवार र सृजनशील नागरिक निर्माण गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको