शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentअन्तरराष्ट्रिय२५ वर्ष सत्तामा रहँदा पुटिनले रुसको कति ख्याल गर्न सके ?

२५ वर्ष सत्तामा रहँदा पुटिनले रुसको कति ख्याल गर्न सके ?

सन् १९९९ को नयाँ वर्षको पूर्वसन्ध्यालाई म कहिल्यै भुल्न सक्दिनँ । म बीबीसीको मस्को ब्युरोमा प्रोड्युसरको रुपमा काम गरिरहेको थिएँ । अचानक ब्रेकिङ न्यूज आयो कि रुसका राष्ट्रपति बोरिस यल्तसिनले राजीनामा दिए । उनको निर्णय आश्चर्यजनक थियो, यहाँसम्म कि मस्कोमा ब्रिटिश मिडियामा काम गर्नेहरुका लागि पनि ।

यो खबर आउँदा अफिसमा कोही पनि संवाददाता थिएनन् । यसको अर्थ यो समाचार मैले नै तयार गर्नुपर्ने थियो । बीबीसीमा मैले तयार गरेर प्रशारण पनि भएको यो मेरो पहिलो सामग्री थियो ।

मैले आफ्नो रिपोर्टमा लेखेको थिएँ– बोरिस यल्तसिन सधैं भन्थे मैले आफ्नो कार्यकाल पूरा गर्ने छु । आज उनले मन बदलेको कुरा रुसी नागरिकलाई भने ।
एक रिपोर्टरको रुपमा यो मेरो करियरको सुरुआत थियो र रुसको नयाँ नेताको रुपमा भ्लादिमिर पुटिनको पनि ।

यल्तसिनले पुटिलाई के भनेका थिए ?

बोरिस यल्तसिनले राजीनामा दिएपछि रुसी संविधान अनुसार प्रधानमन्त्री भ्लादिमिर पुटिन कार्यकारी राष्ट्रपति बनेका थिए । त्यसको तीन महिनापछि रुसमा चुनाव भयो र पुटिनले नै जिते ।

क्रेमलिन (रुसी राष्ट्रपति कार्यालय) छाड्ने वेला यल्तसिनले पुटिनलाई आफ्नो अन्तिम सन्देश दिँदै भनेका थिए– ‘रुसको ख्याल गर्नू ।’

युक्रेनसँग रुसको युद्ध सुरु भएको तीन वर्ष पूरा हुँदै गर्दा मलाई यल्तसिनको यो भनाइ सम्झना आउँछ । किनभने युक्रेनमाथि रुसी राष्ट्रपति पुटिनले चौतर्फी आक्रमण थालेदेखि विनाशकारी नतिजा आइरहेको छ ।

मुख्य रुपमा युक्रेनका ठूला शहरहरुमा ठूलो क्षति भएको छ । मानिसहरु हताहत भएका छन् । युक्रेनको करिब २० प्रतिशत भूभाग कब्जा हुँदा त्यहाँका एक करोड नागरिक विस्थापित भएका छन् ।
यद्यपि रुसले पनि यसको युद्धको मूल्य चुकाउनु परेको छ ।

पुटिनले विशेष सैन्य अभियान सुरु गर्ने निर्णय लिँदा रुसले युद्ध मैदानमा ठूलो क्षति व्यहोर्नु परेको छ । रुसका शहरहरु लगातार ड्रोन आक्रमणको निशाना बनिरहेका छन् । युक्रेनी सेनाले रुसको कुर्स्क क्षेत्रमा अचानक हमला गरेर भित्रसम्म प्रवेश गरेर एउटा हिस्सा कब्जा गरे । रुसी अर्थव्यवस्थामा अन्तर्राष्ट्रिय प्रतिबन्धले दबाव परिरहेको छ । रुसमाथि घरेलु दबाब पनि छ । यो भन्दा पनि देशको जनसांख्यिकी अवस्था अझै गम्भीर भइरहेको छ ।

२५ वर्षमा कयौं पुटिन देखिए

२५ वर्ष अगाडि जब पुटिन सत्तामा आए, त्यतिवेला देखि नै मैले रिपोर्टिङ गरिरहेको छु । ३१ डिसेम्बर १९९९ मा कसले सोचेको थियो होला रुसको नयाँ नेता साढे दुई दशकसम्म पनि सत्तामा रहिरहला भनेर ? रुस युक्रेनविरुद्ध युद्ध लडिरहला भनेर ? अनि पश्चिमा देश र रुसबीच तनाव चरम अवस्थामा पुग्ला भनेर ?

आज म यही सोचिरहेको छु, यदि बोरिस यल्तसिनले आफ्नो उत्तराधिकारी पुटिनलाई नरोजेर अरु कसैलाई रोजेको भए के रुसको अवस्था यस्तै हुन्थ्यो होला ?

स्वाभाविक छ कि यो प्रश्न एकाडेमिक छ । तर इतिहास यसैप्रकारका ‘किन्तु परन्तु’ र ‘शायद’ शब्दले भरिएको छ ।

तर म एउटा कुरा ठोकुवाका साथ भन्नसक्छु– यी २५ वर्षमा मैले पुटिनका अलग–अलग रुप देखें र यस्तो देख्ने म एक्लो होइन । नेटोका पूर्व प्रमुख लर्ड रोबर्टसनले सन् २०२३ मा मसँग भनेका थिए– ‘जुन पुटिनलाई मैले भेटेको थिएँ, उनीसँग राम्रो सम्बन्ध रह्यो, नेटो–रुस काउन्सिल गठन भयो, ती आजका अहंकारी पुटिनभन्दा बिल्कुल अलग थिए ।’

‘मे २००२ मा जुन व्यक्ति मेरो पछि उभिएका थिए, उनले भनेका थिए कि युक्रेन एक संप्रभु र स्वतन्त्र देश हो, उसले आफ्नो सुरक्षाको फैसला आफैं गर्न सक्छ । अहिले उनले नै भनिरहेका छन् युक्रेन देश होइन ।’

म सोच्छु कि भ्लादिमिर पुटिन आफ्नो आलोचना सुन्नै चाहँदैनन् । उनमा निकै ठूलो महत्वाकांक्षा छ । सोभियत संघलाई विश्वको दोस्रो महाशक्तिको रुपमा मान्यता दिइएको थियो । आज त्यो दाबी रुसले गर्न सक्दैन । मलाई लाग्छ यो कुराले उनको अहंकारमा चोट लागिरहेको छ ।’

पुटिन परिवर्तनको कारण

पुटिन बदलिएको हामीले देखेका छौं । यसको सबैभन्दा सम्भावनाको कारण हुनसक्छ– रुसलाई फेरि पनि महान बनाउने उनको उच्च महत्वाकांक्षा । र, धेरैले यसलाई शीतयुद्धमा रुसको हारको भरपाइ गर्ने आकांक्षाको रुपमा पनि देखेका छन् । उनको यही महत्वाकांक्षाले रुसलाई आफ्ना छिमेकी र पश्चिमी देशसँग टकराव सिर्जना गरिदिएको छ । पुटिनले जे अभिव्यक्ति दिन्छन् वा टिप्पणी गर्छन्, त्यसलाई हेर्दा उनीभित्र पश्चिमा देशहरुले हेप्छन् र सुरक्षा चिन्तालाई बेवास्ता गर्छन् भन्ने असन्तोषको भाव झल्किन्छ । तर के बोरिस यल्तसिनले ‘रुसको ख्याल गर्नू’ भनेर गरेको आग्रहको मान पुटिनले राखे ?

हालै मलाई यसबारेमा सिधै राष्ट्रपति पुटिनलाई यो प्रश्नको जवाफ खोज्ने मौका मिलेको थियो । वर्षको अन्तमा चार घण्टा बढी समयसम्म उनको पत्रकार सम्मेलनमा मैले यो प्रश्न सोधेको थिएँ ।

यसको जवाफमा राष्ट्रपति पुटिनले भने– ‘हो । मैले केवल ध्यान मात्र राखेको छैन । हामीले रुसलाई रसातलबाट किनारासम्म ल्याएर आएको छु ।’

उनले पश्चिमाप्रति आरोप लगाउँदै भने– उनीहरु आफ्नो उद्देश्य पूरा गर्नका लागि रुसलाई प्रयोग गरिरहेका थिए । यसका लागि उनीहरुले यल्तसिनलाई संरक्षण दिएर उनको पिठ्युँ धाप मारिरहेका थिए । तर रुस एक स्वतन्त्र, सम्प्रभू देश होस् भनेर जे सम्भव हुन्छ त्यो गरिरहेको छु ।

पुटिनले आफूलाई रुसको सम्प्रभूता संरक्षकको रुपमा आफूलाई प्रस्तुत गर्छन्, के यो उनको त्यही दृष्टिकोण हो, जसको सहारामा उनी युक्रेनमाथिको आक्रमणलाई सही सावित गर्ने प्रयास गरिरहेका छन् ? या आधुनिक रुसी इतिहासमा पुटिनको यो बुझाइ सही छ ?

तर म अझै पनि विश्वस्त छैन । मलाई लाग्छ अहिलेको मुख्य सवाल यही हो । यसको जवाफ यस कुराले प्रभावित हुनसक्छ कि युद्ध कसरी अन्त्य हुन्छ र रुसको भविष्यको दिशा के हुनसक्छ ?

(स्टिव रोजनवर्ग बीबीसी रुसका सम्पादक हुन् । उनको यो आलेख बीबीसी हिन्दीबाट भावानुवाद गरिएको हो ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको