भक्तपुर । विश्वविद्यालय अनुदान आयोग, भक्तपुरले भक्तपुरको वागीश्वरी कलेज र काठमाडौँको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए – क्वालिटी एस्युरेन्स एन्ड एक्रेडिएसन) प्रदान गरेको छ ।
आयोगको सभा कक्षमा आयोजित उक्त समारोहमा आयोगका अध्यक्ष देवराज अधिकारीले क्यूएए पाउन विगत दस वर्षदेखि निरन्तर धैर्यपूर्वक गरिएको प्रयास आफैमा ठुलो विषय हो भन्दै क्यूएए पाउनु क्षणिक आनन्दको विषय नभई यो उज्ज्वल भविष्यको सङ्केत भएको बताए । वागीश्वरी कलेज क्यूएए पाउने भक्तपुरमै पहिलो सामुदायिक कलेज भएको छ । क्यूएए प्रत्येक पाँच वर्षमा पुनः प्रत्यायन लिनुपर्छ र लगातार तीन पटक प्रत्यायन लिए त्यो कलेजलाई डिन विश्वविद्यालयको मान्यता प्रदान गरिन्छ ।
आयोगका सचिव प्रा. शङ्करप्रसाद भण्डारीले क्यूएए एउटा चरणमात्र भएको बताउँदै गुणस्तरको कुनै मापन नहुने भएकाले त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।