भक्तपुर । चाँगुनारायण नगरपालिकाको १६ औं अधिवेशन सम्पन्न भएको छ । सो अवधिमा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १३ करोड राजश्व संकलन गरेको छ ।
नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा सम्पन्न अधिवेशनले नगरपालिकाको अर्धवार्षिक समिक्षा प्रतिवेदन, विनियोजन ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक लगायत विभिन्न विधेयकहरु र सार्वजनिक महत्वका प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरेको छ ।
शुक्रबार सम्पन्न नगरसभाको १६ औं अधिवेशनमा नगर उपप्रमुख रमेश बुढाथोकीले अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गर्दै पुस २४ गतेसम्म नगरपालिकाले १३ करोड ७ लाख ३७ हजार ५ सय रुपैंया राजश्व संकलन गरेको जानकारी दिए । जुन लक्ष्यको ३५ दशमलव ६ प्रतिशत हो । चाँगुनारायणले चालु आवमा नगरपालिकाले ३६ करोड ६७ लाख २० हजार रुपैंया राजश्व संकलन गर्ने लक्ष्य राखेको नगर उपप्रमुख बुढाथोकीले जानकारी दिए ।
यसैगरी चाँगुनारायणले चालु आवको ६ महिनामा कुल बजेटको १६ दशमलव ३७ प्रतिशत खर्च गरेको छ । चाँगुनारायणको चालु आवको कुल विनियोजित बजेट २ अर्व १२ करोड ३० लाख ९३ हजार ६ सय रुपैंया रहेकोमा पुस अन्तिम सातासम्म ३४ करोड ७७ लाख ३० हजार रुपैंया मात्र खर्च भएको उपप्रमुख बुढाथोकीले बताए ।
उनका अनुसार चालुतर्फ ३१ दशमलव १ प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्च जम्मा ६ दशमलव ४१ प्रतिशत मात्र भएको छ । चालुतर्फ ९३ करोड ७६ लाख २१ हजार ५ सय रुपैयाँ विनियोजन भएकोमा ३१ करोड १६ लाख ५५ हजार ३ सय खर्च भएको छ । यस्तै पुँजीगततर्फ १ अर्व १८ करोड ५४ लाख ७२ हजार रुपैंया विनियोजन भएकोमा हालसम्म ७ करोड ६० लाख ७५ हजार ५ सय रुपैंया खर्च भएको छ ।
नगरपालिकालाई वित्तीय जोखिम न्यूनीकरण तथा सुशासनयुक्त नगरपालिकाको रुपमा पहिचान गराउन कार्यसम्पादनमा उत्कृष्टता हासिल गर्ने उद्देश्यले उप–प्रमुख बुढाथोकीले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ९४ अंक र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) तर्फ ९२.५ अंक दावी सहित नगरपालिकाको प्रारम्भिक नतिजा जिल्ला समन्वय समितिको कार्यालयमा अनुमोदनका लागि पेश गरिएको जानकारी दिए ।
चाँगुनारायण नगरपालिका न्यायिक समितिमा हालसम्म कुल ४४ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएको जानकारी दिँदैं उनले दुबै पक्षलाई राखी छलफल गराई पक्षहरुको मन्जुरी र संयुक्त निवेदनको आधारमा २ वटा निवेदनहरुमा मिलापत्रद्वारा विवाद समाधान गरिएको जनाए ।
यसैगरी छलफलबाट मेलमिलाप हुन नसकेका एक वटा निवेदनको निर्णय गरी निरुपण गरिएको छ भने दुवै पक्षले तारेख छोडी लामो समयसम्म अनुपस्थित रहेका विभिन्न ७ बटा निवेदनको कारवाहीलाई तामेलीमा राखिएको छ । हाल समितिमा ३० वटा निवेदनहरुको कारबाही भइरहेको छ । यस्तै ४ वटा निवेदनहरु अदालत पठाउने गरी आदेश भएका छन् ।
सभामा विधायन समितिका संयोजक जयन्द्र खडकाले जग्गा विकास (प्लानिङं) तथा हाउजिङ निर्माण सम्बन्धी विधेयक र सामाजिक विकास समितिका संयोजक जनक खत्रीले खानेपानी ब्यवस्थापन बोर्ड ऐन २०७७ को संशोधन विधेयक पेश गरेका थिए । ती विधेयक दफावार छलफलपछि सर्वसम्मतले पारित गरिएको थियो ।
यस्तै न्यायिक समितिका सदस्य सुरेश कार्कीले अनुमोदनको लागि सभासमक्ष पेश गरेको मेलमिलापकर्ताहरुको सुची पनि सर्वसम्मतले पारित गरेको नगर प्रवक्ता एवम् वडा नं ८ का वडा अध्यक्ष जनक खत्रीले जानकारी दिए । सभाले विभिन्न सार्वजनिक महत्वका विषयमा पनि छलफल गरि महत्वपूर्ण निर्णय गरेको छ । सभाले नगरकोट–कमलविनायक सडकसहित वडा कार्यालय जोड्ने सडक स्तरोन्नतिका लागि विभिन्न १५ वटा योजनाहरुको बजेट सुनिश्चित गरि बुहवर्षिय ठेक्कामार्फत निर्माण गर्ने निर्णय समेत गरेको छ ।