भक्तपुरको सरस्वती माध्यमिक विद्यालय हरित विद्यालय बन्ने भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालको थाकलमाथमा रहेको सो विद्यालय हरित विद्यालय बन्ने भएको हो ।
जिल्लाकै उत्कृष्ट विद्यालय बन्न सफल उक्त विद्यालयले एक वर्षभित्र हरित विद्यालय बन्नेछ । विद्यालयले सो अवधिमा हरित विद्यालयका सबै सूचकहरू पूरा गर्नेछ ।
सो कार्यक्रमको उद्घाटन चाँगुनारायण नगरपालिकाका नगर प्रवक्ता एवम् चाँगुनारायण नगरपालिका वडा नं.८ का अध्यक्ष जनक खत्रीले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष खत्रीले विद्यालयको शैक्षिक स्तर उकास्नका लागि विद्यार्थी, शिक्षक र समग्र विद्यालयको स्वास्थ्य सुध्रिनुपर्ने बताउनुभयो । उहाँले हरित विद्यालयसँगै विद्यालयको थप शैक्षिक उन्नयन हुने समेत बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका खानेपानी तथा सरसफाइ स्वच्छता शाखा (वास) प्रमुख सुरेन्द्र लामिछानेले हरित विद्यालय कार्यक्रम निर्देशिका, २०७५ अनुसार हरित विद्यालय कार्यक्रम लागू गरिएको जानकारी दिनुभयो । सो कार्यक्रम लागु भएसँगै सामुदायिक विद्यालयको स्वामित्वमा रहेको खाली जग्गामा अनिवार्य रूपमा बालबालिकालाई मनोरञ्जन दिने खेल सामग्री राखिने छ। विभिन्न प्रजातिका बोटबिरुवा रोपण, संरक्षण तथा संवर्धन गरिने कार्यक्रम रहेको उहाँको भनाइ छ ।
विद्यालयका प्रधानाध्यापक टीकाराम पाण्डेयले हरित विद्यालयको अवधारणा पूरा गर्नका लागि विद्यालय कटिबद्ध भई लाग्ने बताउनुभयो । उहाँले नगरपालिकाले सञ्चालन गरेको कक्षा ८ को परीक्षा र एसईईमा उत्कृष्ट भएको जानकारी दिनुभयो । सो कार्यक्रमले विद्यालय परिवार खुसी भएको उहाँको भनाइ थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजिव पुरीले हरित विद्यालय कार्यक्रमका लागि सरस्वती माविलाई छनोट गरेकोमा नगरपालिकालाई धन्यवाद दिँदै सो कार्यक्रमलाई पूर्णरूपमा सफल बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
हरित विद्यालय अवधारणा अन्तरगत गरिने कार्यक्रममा सीप विकास रहेको छ । सो अन्तरगत छात्राहरूलाई स्यानिटरी प्याड निर्माण तालिम, विद्यार्थीलाई च्याउखेती तालिम दिने कार्यक्रम रहेको छ । यसै गरि सो अवधारणालाई पूरा गर्न प्लास्टिक र प्लाष्टिकजन्य वस्तुको पुनःप्रयोग गरि विभिन्न शैक्षिक सामग्री समेत निर्माण गरिने योजना रहेको ग्लोबल पिस फाउन्डेसनको सिनियर प्रोजेक्ट अफिसर सृजना सितिखुले बताउनुभयो । उहाँले फोहोरमैला व्यवस्थापनका साथै बगैंचा निर्माण र आकाशेपानी व्यवस्थापन समेत गरिने जानकारी दिनुभयो । उहाँले कौशी खेती प्रवर्द्धन समेत गरिने बताउनुभयो।
वातावरणमैत्री स्कुल बनाउने, त्यसका लागि शिक्षक, विद्यार्थीको क्षमता अभिवृद्धि गरि वायु प्रदूषण न्यूनीकरणका कार्यक्रम समेत गरिने र त्यस अन्तरगत प्रत्येक हप्तामा एक र दुईवटा तालिम र अभिमुखीकरण गरिनेछ ।