भक्तपुर । शिक्षासम्बन्धी विभिन्न विषयलाई केन्द्रमा राख्दै शिक्षकहरूले चाँगुनारायण नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको ध्यानाकर्षण गराउँदै चेतावनी दिएका छन्। शिक्षकहरूको साझा संगठन नेपाल शिक्षक महासङ्घ, चाँगुनारायण नगर समितिले शाखालाई औपचारिक रूपमा चेतावनी दिएको हो।
महासङ्घले शिक्षक सरुवा, राइट साइजिङ र दरबन्दी मिलानजस्ता विषयमा एकपक्षीय निर्णय गरिए स्वीकार नगर्ने स्पष्ट पारेको छ। यस्ता निर्णयमा महासङ्घलाई समावेश नगरी गरिएका कुनै पनि निर्णय मान्य नहुने जनाइएको छ।
महासङ्घले २०८३ वैशाख १४ गते शाखा प्रमुखसमक्ष ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा विद्यालय सञ्चालनसम्बन्धी सूचनाले थप अन्योल सिर्जना गरेको उल्लेख गरिएको छ। वैशाख ४ गते जारी सूचनामा ६ गते आइतबारदेखि विद्यालय सञ्चालन गर्ने भनिए पनि त्यसको स्पष्ट व्याख्या नभएको महासङ्घको भनाइ छ।
सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको सन्दर्भमा आइतबार नियमित रूपमा विद्यालय सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा अन्योल देखिएको जनाइएको छ। यसले विद्यालय तहमा द्विविधा बढाएको महासङ्घले उल्लेख गरेको छ।
प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थी सबै अन्योलमा परेको जनाइएको छ। महासङ्घका अनुसार यस विषयमा व्यापक गुनासो आएको छ। स्पष्ट निर्देशन नहुँदा कार्यान्वयनमा समस्या भएको बताइएको छ।
महासङ्घले चार विषयमा स्पष्टता माग गरेको छ। आइतबार विद्यालय सञ्चालन भए विद्यार्थीको दिवा खाजा कसरी व्यवस्थापन गर्ने, शिक्षक तथा कर्मचारीले अतिरिक्त समय काम गर्दा पारिश्रमिक के हुने, नयाँ शैक्षिक सत्रको भर्ना कहिलेदेखि सुरु गर्ने र नियमित कक्षा सञ्चालन कहिलेदेखि सुरु गर्ने भन्ने विषय अझै अस्पष्ट रहेको जनाएको छ।
महासङ्घले यस्ता विषयमा तुरुन्त स्पष्ट निर्णय सार्वजनिक गर्न माग गरेको छ। सरोकारवालासँग छलफल गरेर मात्र निर्णय गर्न पनि आग्रह गरिएको छ।
विशेषगरी सरुवा, दरबन्दी मिलान र राइट साइजिङलाई संवेदनशील विषयका रूपमा उठाउँदै यी विषयमा एकपक्षीय निर्णय भए आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ।
ज्ञापनपत्रमा अध्यक्ष प्रद्युम्न कार्की र सचिव गोपाल प्रसाद बरालको हस्ताक्षर रहेको छ। महासङ्घले संवाद र समन्वयमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएको छ।
चाँगुपत्र साप्ताहिककाे नयाँ अङ्क यताबाट पढ्नुस्
https://www.flipbookpdf.net/web/site/e2d74bb24d87ca6306b4dcb23b96eae80cd25d51202604.pdf.html
