भक्तपुर । चाँगुनारायण नगरपालिकामा कर्मचारी कटौती गरिएको छ। नगरपालिकाले ५ जना प्राविधिक र ९ जना अन्य क्षेत्रका कर्मचारी हटाउने निर्णय गरेको हो।
नगरपालिकाले आन्तरिक संरचना मिलान, कार्यसम्पादन मूल्याङ्कन तथा खर्च व्यवस्थापनलाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको जनाएको छ। कटौतीमा परेका कर्मचारीहरू विभिन्न शाखा तथा सेवासँग सम्बन्धित रहेका छन्।
स्रोतका अनुसार कर्मचारी कटौती प्रशासन शाखा, आर्थिक प्रशासन शाखा, पूर्वाधार विकास शाखा तथा नगर प्रहरी शाखामा गरिएको हो। साथै नगरपालिकाले करार सेवामा कार्यरत कर्मचारीसँग गरिएको सम्झौता पनि खारेज गरेको छ।
नगर कार्यपालिकाको २०८२ चैत २५ गते बसेको बैठकको निर्णयअनुसार २०८३ साल वैशाख १ गतेदेखि लागू हुने गरी केही करार कर्मचारीकाे सम्झाैता नवीकरण नगरिने निर्णय गरिएको हो। स्वीकृत दरबन्दीभित्र नपरेका पदहरूमा कार्यरत कर्मचारीको करार सम्झौता अन्त्य गरिएको प्रशासन स्रोतले जनाएको छ।
नगरपालिकाले भने आवश्यक सेवा प्रवाहमा कुनै अवरोध नआउने दाबी गरेको छ भने, यस निर्णयले स्थानीय तहमा रोजगारीको अवस्था र सेवा प्रवाहबारे थप चासो बढाएको छ।
