बुधबार, बैशाख २, २०८३

19.6 C
Bhaktapur
बुधबार, बैशाख २, २०८३
19.6 C
Bhaktapur
HomeNews Contentशिक्षाशारदा माविद्वारा वृहत् भेटघाट : व्यवहारिक शिक्षामा जोड

शारदा माविद्वारा वृहत् भेटघाट : व्यवहारिक शिक्षामा जोड

भक्तपुर । भक्तपुर नगरपालिका–२, यालाछेँस्थित शारदा माध्यमिक विद्यालयको आयोजनामा नयाँ शैक्षिक सत्रको संघारमा वृहत् भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयसँग सम्बन्धित सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार विकास, विद्यार्थीको अवस्था तथा राष्ट्रिय शिक्षा नीतिसम्मका विषयमा व्यापक छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नारायणमान बिजुक्छें ले वर्तमान सरकारप्रति कडा आलोचना गर्दै शासनप्रति असन्तुष्टि व्यक्त गरे। “कोहीले पनि कालो खाएर सेतो हग्न सक्दैन,” भन्दै उनले सरकार ‘मनोगत’ रूपमा सञ्चालन भइरहेको र जनताको हितभन्दा बाह्य शक्तिको प्रभावमा काम गरिरहेको आरोप लगाए। उनले World Bank, International Monetary Fund र Asian Development Bank जस्ता संस्थालाई अमेरिकी प्रभावका साधनका रूपमा व्याख्या गर्दै शिक्षा क्षेत्र निजीकरणतर्फ धकेलिने खतरा रहेको दाबी गरे। “विदेशका लागि सस्तो श्रमशक्ति उत्पादन गर्ने नीति लागू हुँदैछ,” उनले भने।

बिजुक्छेंले समाजवादी विचारलाई कमजोर बनाउने उद्देश्यले शिक्षा प्रणालीमै हस्तक्षेप भइरहेको उल्लेख गर्दै शिक्षालाई ध्वस्त बनाई देशलाई परनिर्भर बनाउने प्रयास भइरहेको आरोप लगाए। “अहिलेको शिक्षा प्रणालीले क्षमता भन्दा प्रमाणपत्र मात्रै हेर्छ,” उनले टिप्पणी गरे। नयाँ पुस्तालाई जिम्मेवार र व्यवहारिक बनाउन शिक्षामा सुधार आवश्यक रहेको उनको भनाइ थियो।

विश्व राजनीतिक सन्दर्भ जोड्दै उनले एसियालाई सम्भावित द्वन्द्वको केन्द्र बनाउने प्रयास भइरहेको दाबी गर्दै इराक, लिबिया, प्यालेस्टाइन र गाजा जस्ता उदाहरण प्रस्तुत गरे।

विशेष अतिथि तथा नेपाल मजदुर किसान पार्टी का केन्द्रीय सचिव प्रेम सुवाल ले असन्तुलित विकास र तीव्र बसाइँसराइका कारण ग्रामीण क्षेत्रका विद्यालयहरू खाली हुँदै गएको बताए। उनले शिक्षा, उद्योग र रोजगारीलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईँ ले शिक्षा क्षेत्रमा अस्थिरता सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाउँदै चैत १५ देखि वैशाख १५ सम्म अघोषित शैक्षिक हडतालजस्तो अवस्था देखिएको बताए। उनले आत्मनिर्भर र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने उल्लेख गरे।

त्यस्तै, नेपाल क्रान्तिकारी शिक्षक संघ का केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापति ले विद्यालय मर्ज नीति गलत भएको भन्दै सामुदायिक विद्यालय जोगाउनुपर्नेमा जोड दिए।

भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी ले नगरपालिकाले सम्पदा संरक्षणसँगै शिक्षा सुधारका लागि काम गरिरहेको बताउँदै स्थानीय पहिचान र सीपसँग जोडिएको शिक्षाको आवश्यकता औंल्याइन्।

विद्यालय व्यवस्थापन समितिका सदस्य हिमालयश्वरलाल मुलले विद्यार्थी केन्द्रित र प्रयोगात्मक शिक्षण पद्धतिमा विद्यालय अघि बढिरहेको बताए भने प्रधानाध्यापक रोशनराज तुईतुईले नयाँ शैक्षिक सत्रदेखि विद्यालयको नयाँ भवन उद्घाटन गरिने जानकारी दिए। २०७२ सालको भूकम्पले क्षति पुगेको विद्यालयलाई मौलिक शैलीमा पुनर्निर्माण गरी आधुनिक सुविधासहित तयार गरिएको उनले बताए।

हाल विद्यालयमा शिशु कक्षादेखि कक्षा १२ सम्म ४१५ विद्यार्थी अध्ययनरत छन्, जसमा ३६ जिल्लाका विद्यार्थी समेटिएका छन्। २७ शिक्षक र ५ कर्मचारी कार्यरत रहेको विद्यालयमा व्यवहारिक, सिपमूलक र जीवनोपयोगी शिक्षामा विशेष जोड दिइँदै आएको छ। प्रयोगशाला, सीपमूलक अभ्यास तथा ‘होमवर्क कक्षा’ जस्ता कार्यक्रममार्फत विद्यार्थीलाई थप सहयोग प्रदान गरिँदै आएको विद्यालयले जनाएको छ।

कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर सुवालले पुनर्निर्माणपछि विद्यालयमा नयाँ उत्साह थपिएको उल्लेख गर्दै दीर्घकालीन विकासका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए। कार्यक्रमको सञ्चालन विनय किरण कोजुले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको