बुधबार, बैशाख २, २०८३

19.6 C
Bhaktapur
बुधबार, बैशाख २, २०८३
19.6 C
Bhaktapur
HomeNews Contentचाँगुपत्र‘काम फर सुद नेपाल’का कार्यक्रमको सामाजिक परीक्षण सम्पन्न

‘काम फर सुद नेपाल’का कार्यक्रमको सामाजिक परीक्षण सम्पन्न


भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ताथली बालगृहमा ‘काम फर सस्टेनेबल डेभलपमेन्ट नेपाल’ (काम फर सुद नेपाल) द्वारा सञ्चालित कार्यक्रमहरूको सामाजिक परीक्षण तथा भेला २०८२ सम्पन्न भएको छ।

कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्‌की अध्यक्ष सुनिता शाहले बालगृहको भौतिक पूर्वाधार, बालमैत्री वातावरण तथा छात्रवृत्ति परियोजनालाई सबल पक्षका रूपमा उल्लेख गर्दै यस्ता पहलले बालबालिकालाई जोखिममा पर्न सक्ने अवस्थाको न्यूनीकरणमा टेवा पुगेको बताइन्। उनले बालअधिकारसम्बन्धी ऐन २०७५ को दफा ४८ अनुसार भर्ना प्रक्रिया अनिवार्य पालना गर्नुपर्ने, बाल संरक्षण मापदण्ड र आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्।

शाहले बालबालिकाको गोपनीयता संरक्षणका लागि “नो फोटो, नो भिडियो” नीति कडाइका साथ लागू गर्न, नियमित बैठक सञ्चालन तथा कर्मचारी व्यवस्थापन स्पष्ट बनाउन, अतिरिक्त क्रियाकलापको क्यालेन्डर तयार गर्न र बालबालिकाका लागि स्याहार योजना अनिवार्य रूपमा लागू गर्न सुझाव दिइन्। साथै, बाल क्लब दर्ता, कार्यक्रमहरूको नियमित मूल्यांकन (sampling) तथा डेटा विश्लेषणलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।

समाज कल्याण परिषदका सहायक निर्देशक आनन्द थापाले पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न सामाजिक परीक्षण अपरिहार्य रहेको बताए। उनले बालगृह सञ्चालन मापदण्ड २०७९ अनुसार ताथली बालगृह सञ्चालन भइरहेको उल्लेख गर्दै बालबालिकाको सर्वाङ्गीण विकास, समान अवसर तथा सांस्कृतिक गतिविधिमा पहुँच विस्तारमा विशेष ध्यान दिनुपर्ने बताए। बालगृह सञ्चालन जटिल हुने भएकाले मनोवैज्ञानिक परामर्श सेवा, लैङ्गिक विभेद अन्त्य तथा दिगो व्यवस्थापनका लागि आत्मनिर्भर कोष निर्माण आवश्यक रहेको उनको भनाइ थियो।

चाँगुनारायण नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख निलाकुमारी घिमिरेले सामाजिक परीक्षण संस्थाको अनिवार्य दायित्व भएको उल्लेख गर्दै बालगृहले राज्यको दायित्वसमेत वहन गरिरहेको बताइन्। उनले बालगृहलाई बालबालिकाको अन्तिम आश्रयस्थलका रूपमा लिँदा विशेष संवेदनशीलता अपनाउनुपर्ने, पूर्व स्वीकृति लिने प्रावधान पालना गर्नुपर्ने तथा अन्तरपालिका समन्वय आवश्यक रहेको धारणा राखिन्। साथै, बालबालिकाका गुनासा सुनुवाइका लागि उजुरी पेटिकाको व्यवस्था गर्नुपर्नेमा जोड दिइन्।

संस्थाका अध्यक्ष ब्रम्हध्वज गुरूङले बालगृह सञ्चालनमा नीतिगत तथा व्यवहारिक चुनौतीहरू रहेको उल्लेख गर्दै दिगो तथा प्रभावकारी व्यवस्थापनतर्फ अघि बढ्ने प्रतिबद्धता जनाए। उनले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यलाई थप सशक्त रूपमा अगाडि बढाउने बताए।

संस्थाका सचिव राजन श्रेष्ठका अनुसार ‘काम फर सुद नेपाल’ले अनाथ, असहाय तथा अलपत्र बालबालिकालाई लक्षित गरी विभिन्न परियोजनामार्फत काम गर्दै आएको छ। संस्था २०६४ सालमा ललितपुरमा दर्ता भई २०७२ सालमा भक्तपुरमा स्थानान्तरण गरिएको हो। संस्थाले शिक्षा, स्वास्थ्य, गाँस, बास र कपासको व्यवस्था गर्दै बालबालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित काम गरिरहेको छ।

संस्थाद्वारा सञ्चालित ताथली बालगृह सन् २००९ मा स्थापना भएको हो। यसमार्फत हालसम्म ६५ जना बालबालिका लाभान्वित भएका छन् भने २४ भन्दा बढी बालबालिका स्नातक तहमा अध्ययनरत वा विभिन्न पेशामा संलग्न भइसकेका छन्। साथै, ‘रोडेक नेपाल’ परियोजनामार्फत १६० भन्दा बढी तथा ‘पद्मा नेपाल’ परियोजनामार्फत ६८० भन्दा बढी बालबालिका लाभान्वित भएका छन्।

करिब एक महिनाको अवधिमा सम्पन्न सामाजिक परीक्षणको प्रतिवेदन चैत २६ गते सहजकर्ता राममाया तामाङले प्रस्तुत गरेकी थिइन्। प्रतिवेदनमाथि सञ्चारकर्मी हरिसुन्दर छुकां, स्थानीय रामप्रसाद मचामसी, देवी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक राजाराम छुकां तथा प्रधानाध्यापक चन्द्रबहादुर थुयाजुलगायतले सुझावसहित टिप्पणी गरेका थिए।

सो अवसरमा विद्यार्थी कुमारी तामाङले ताथली बालगृहबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेकी थिइन्। कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय समाजसेवी, सञ्चारकर्मी, सुरक्षाकर्मी, बालबालिका, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको