भक्तपुर, चैत २६ — चाँगुनारायण नगरपालिका–८, सुडाल (थाकलमाथ)स्थित श्री सरस्वती माध्यमिक विद्यालयले आधारभूत तह (BLE) कक्षा ८ को अन्तिम परीक्षामा शतप्रतिशत नतिजा हासिल गरेको छ।
विद्यालयका अनुसार यस वर्षको परीक्षामा सहभागी सबै विद्यार्थी उत्तीर्ण हुँदै १०० प्रतिशत सफलता हासिल भएको हो। नतिजाअनुसार ७ जना विद्यार्थीले ३.६ देखि ४.० GPA प्राप्त गरेका छन् भने १९ जनाले ३.२ देखि ३.६ GPA हासिल गरेका छन्। त्यसैगरी २ जना विद्यार्थीले २.८ देखि ३.२ GPA प्राप्त गरेका छन्। विद्यालयको समग्र औसत GPA ३.४५ रहेको जनाइएको छ।
विद्यालय प्रशासनले विद्यार्थीहरूको मेहनत, अनुशासन र लगनशीलताका कारण यस्तो उत्कृष्ट नतिजा सम्भव भएको जनाएको छ। साथै शिक्षकको समर्पित प्रयास र अभिभावकको निरन्तर सहयोगले सकारात्मक उपलब्धि हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ।
विद्यालयले सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।
