भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ। बैठकले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूको पराजयबारे समीक्षा गरेको छ।
पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) को अध्यक्षतामा २०८२ चैत २१ गते सुरु भएको बैठक २३ गते मंगलबार सम्पन्न भएको हो। बैठकले निर्वाचनमा पार्टीका उम्मेदवारहरूले अपेक्षित नतिजा हासिल गर्न नसक्नुका कारणबारे प्रारम्भिक समीक्षा गरेको जनाइएको छ।
बैठकमा संगठन विस्तार, जनसम्पर्क अभियानको कमजोरी, तथा स्थानीय तहमा पार्टी गतिविधि अझ प्रभावकारी बनाउन नसकिएको विषयमा छलफल भएको स्रोतले जनाएको छ। साथै, पार्टी सिद्धान्तअनुसार जनस्तरमा राजनीतिक शिक्षा र संगठन विस्तारलाई अझ सुदृढ बनाउनुपर्ने निष्कर्ष निकालिएको छ।
बैठकले निर्वाचनमा नेमकिपालाई मत दिने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै स्थानीय तहसम्म धन्यवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
त्यसैगरी, जिल्ला, पालिका र वडा समितिमार्फत जनभेला आयोजना गरी पार्टी प्रकाशन अध्ययन, अन्तरक्रिया तथा संगठन सुदृढीकरण गर्ने निर्णय पनि गरिएको छ।
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १, २०२६ / २०८३ वैशाख १८) को अवसरमा पार्टीका सबै तहमा पार्टी प्रकाशन अध्ययन तथा छलफल कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ।
बैठकले भेनेजुएला र इरानमाथि डोनाल्ड ट्रम्प प्रशासनद्वारा भएका गतिविधिको विरोध तथा भत्र्सना गरेको छ भने क्युवामाथि लगाइएको नाकाबन्दीको विरोध जनाएको छ।
बैठकले पार्टीका केन्द्रीय सचिव प्रेम सुवाल द्वारा प्रस्तुत प्रतिवेदन सुझावसहित पारित गरेको छ।
