भक्तपुर । भक्तपुरको युनिटी इङ्ग्लिस स्कूलका विद्यार्थीले आफूमा रहेको सिर्जनशीलता, अनुसन्धान क्षमता र आत्मविश्वासको प्रभावशाली प्रस्तुती गरेका छन् ।
सूर्यविनायक नगरपालिका–०५ कटुञ्जेस्थित उक्त विद्यालयले आयाेजना गरेकाे विज्ञान तथा सामाजिक प्रदर्शनी–२०८२ मा विद्यार्थीहरूले आफैंले तयार गरेका विज्ञानसम्बन्धी मोडेल, प्रयोगात्मक सामग्री, एआई तथा रोबोटिक्स परियोजना, स्थानीय स्रोतसाधनबाट निर्मित सिर्जनात्मक सामग्री तथा सामाजिक सचेतनासम्बन्धी प्रस्तुतीहरू प्रदर्शन गरेका थिए। यी परियोजनाहरूले विद्यार्थीहरू केवल पाठ्यपुस्तकमा सीमित नभई व्यवहारिक प्रयोग, समस्या समाधान र नवीन सोचतर्फ उन्मुख भएको देखिएको सहभागीहरूले बताए ।
प्रदर्शनीको मुख्य आकर्षण विद्यार्थीहरूको सक्रिय सहभागिता र उनीहरूको प्रस्तुतीकरण शैली रहेकाे थियोे ।। साना कक्षादेखि माथिल्ला कक्षासम्मका विद्यार्थीहरूले आफ्नो परियोजनाको उद्देश्य, कार्यप्रणाली र उपयोगिताबारे स्पष्ट व्याख्या गर्दै दर्शकहरूको ध्यान आकर्षित गरेका थिए। उनीहरूको आत्मविश्वास, जिज्ञासा र सिकाइप्रतिको लगाव प्रदर्शनीभरि झल्किएको थियो।
प्रदर्शनी अवलोकन गर्न आएका अभिभावकहरूले आफ्ना छोराछोरीको सीप, सिर्जनशीलता र व्यवहारिक ज्ञान देखेर गर्व महसुस गरेको प्रतिक्रिया दिएका थिए। उनीहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने र भविष्यका लागि प्रेरणा दिने विश्वास व्यक्त गरे।
विद्यालयका प्रधानाध्यापक बिपिन गुमान्जुले यस्ता प्रदर्शनीले विद्यार्थीहरूमा सिर्जनात्मक सोच, अनुसन्धान क्षमता, सहकार्य भावना तथा प्रस्तुतीकरण सीप विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले कार्यक्रम सफल बनाउन योगदान गर्ने शिक्षक, कर्मचारी र विशेष गरी विद्यार्थीहरूको सक्रिय भूमिका प्रशंसनीय रहेको उल्लेख गरे।
यो प्रदर्शनीले विद्यार्थीहरूलाई सिकाइको वास्तविक अर्थ अनुभव गर्ने, आफ्नो क्षमता पहिचान गर्ने र भविष्यका लागि नयाँ सम्भावनाहरू खोज्ने प्रेरणादायी मञ्च प्रदान गरेको विद्यालयले जनाएको छ।
