भक्तपुर । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार दामोदर काफ्ले ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्।
उद्योग, शिक्षा, खानेपानी, कृषि, वातावरण, यातायातदेखि पर्यटनसम्म समेटिएको घोषणापत्रले “पुरानो राजनीति होइन, नयाँ सोच र नयाँ नेतृत्व” को नारालाई मुख्य आधार बनाएको छ।
विगतमा कपडा तथा रेडिमेड, मेनबत्ती, दालमोठ र मोटर पार्ट्स उद्योग मा व्यावसायिक अनुभव बटुलेका काफ्ले हाल मोटर पार्ट्स उद्योग सञ्चालन गर्दै आएका छन्। उनले आफ्नो व्यावसायिक अनुभवलाई सार्वजनिक सेवा र विकाससँग जोड्दै भक्तपुर क्षेत्र नं. १ को समुन्नतिका लागि ठोस एजेन्डा अघि सारेको बताएका छन्।
शिक्षा र खानेपानी प्राथमिकतामा
घोषणापत्रमा नेपाली माटो सुहाउँदो शिक्षा नीति, सर्वसाधारणको पहुँचमा गुणस्तरीय विद्यालय तथा गरिब र विपन्न परिवारका बालबालिकालाई निःशुल्क शिक्षा को व्यवस्था गर्ने प्रतिबद्धता गरिएको छ।
खानेपानीतर्फ प्रत्येक घरमा धारा र खानेपानी वितरण निःशुल्क गर्ने लक्ष्य घोषणापत्रमा उल्लेख छ।
धर्म, संस्कृति र सरसफाइ
सबै धर्म, संस्कार र परम्पराप्रति समान व्यवहार गर्दै सामाजिक सद्भाव, सहिष्णुता र आत्मीयता प्रवर्द्धन गर्ने चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ। घरायसी तथा उद्योगजन्य फोहोरको व्यवस्थित व्यवस्थापन र फोहोर शुल्क निःशुल्क गर्ने योजना पनि समेटिएको छ।
कृषि, वन र वातावरण
स्थानीय तहमा रैथाने बीउबिजनको व्यवस्था, रैथाने बाली प्रवर्द्धन गर्दै किसानलाई प्रोत्साहन गर्ने नीति घोषणापत्रको प्रमुख बुँदा हो।
क्षेत्र नं. १ भित्रका बहाल वन, पातला वन र परी बन संरक्षण, साथै आयुर्वेदिक जडीबुटी तथा वनस्पति विज्ञानशाला स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
यातायात, सञ्चार र आवास
डिजेल–पेट्रोल सवारी विस्थापन गरी विद्युतीय सवारी सञ्चालन, प्रदूषणमुक्त शहर निर्माण र गाउँ–शहर, शहर–गाउँ भाडा २० रुपैयाँ कायम गर्ने प्रस्ताव घोषणापत्रमा उल्लेख छ। प्रत्येक सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ सेवा विस्तार गर्ने योजना पनि समावेश गरिएको छ। ऐतिहासिक सम्पदा र धरोहर संरक्षण गर्दै चाँगुनारायण नगरपालिकाभित्रका पुराना कलात्मक धरोहरका लागि अनुदान व्यवस्था गरिने जनाइएको छ।
पर्यटन र पूर्वाधार
नगरकोट, चाँगुनारायण लगायत क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बनाउने, ध्यान, योग र साधना प्रशिक्षण केन्द्र स्थापना गर्दै विश्वव्यापी पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ।
त्यसैगरी मूलपानी–चाँगुनारायण–नगरकोट जोड्ने केबुलकार, मोनोरेल र पोर्टवे का लागि DPR तयार गर्ने घोषणापत्रमा उल्लेख छ।
मतदातासँग अपिल
घोषणापत्रको निष्कर्षमा काफ्लेले भक्तपुर क्षेत्र नं. १ को सुशासन, समृद्धि र उज्ज्वल भविष्यका लागि नयाँ सोच, नयाँ नेतृत्व र नयाँ व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै मतदातालाई नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का युवा उम्मेदवार दामोदर काफ्ले लाई साथ दिन अपिल गरेका छन्।
घाेषणापत्र


