भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–६, पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलले आयोजना गरेको स्पोर्टस् कार्निभल २०८२ एक साता लामो विविध खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमसहित उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
माघ ११ गते आइतबारदेखि माघ १६ गते शुक्रबारसम्म सञ्चालन भएको कार्निभल विद्यालयको ‘Explore, Learn & Grow’ भन्ने प्रि–स्कूल थिमअनुसार आयोजना गरिएको हो। बालबालिकाको अन्तरनिहित प्रतिभा उजागर गर्दै शारीरिक, मानसिक तथा सामाजिक विकासमा टेवा पुर्याउने उद्देश्यसहित आयोजना गरिएको कार्निभलमा प्ले किड्सदेखि सिनियर किड्स तथा कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्निभलका पहिलो र दोस्रो दिन कक्षा १ देखि ४ सम्मका विद्यार्थीबीच विभिन्न खेल प्रतियोगिता सञ्चालन गरियो। तेस्रो दिन प्रि–किड्सका नानीहरू र अभिभावकबीच रमाइलो खेल गतिविधि आयोजना गरियो। चौथो दिन जुनियर किड्स, पाँचौं दिन सिनियर किड्स तथा अन्तिम दिन प्ले किड्सका विद्यार्थीहरूले अभिभावकसँगै खेल गतिविधिमा सहभागिता जनाउँदै कार्यक्रमलाई थप जीवन्त बनाएका थिए।
विद्यार्थीहरूको सर्वाङ्गिण विकासलाई लक्ष्य गर्दै हप्ता भरि सञ्चालन गरिएको स्पोर्टस् कार्निभलमा जम्मा १२ प्रकारका खेलकुद तथा कौशल विकासका गतिविधि समावेश गरिएको थियो। जसमा जम्पिङ रेस, स्पुन रेस, म्याथम्याटिकल रेस, स्याक रेस, रनिङ रेस, पजल रेस, रिङ रेस, कलेक्टिङ बल, बेलुन ब्यालेन्सिङ, टावर मेकिङ गेम, कराते (छात्र/छात्रा) तथा फुटसल रहेका थिए।
अन्तिम दिन विद्यार्थीहरूले कराते स्पाइरल प्रतियोगिता, ग्रेडिङ, काटा तथा टायल ब्रेकिङ जस्ता आकर्षक प्रदर्शन प्रस्तुत गरेका थिए। प्रत्येक दिन विद्यार्थीहरूले अभिभावकलाई स्वागत नृत्य प्रस्तुत गर्नुका साथै विजयी अभिभावकहरूलाई मेडल प्रदान गरिएको थियो। सहभागी तथा विजयी विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिएको विद्यालयले जनाएको छ।
समापन समारोहमा विद्यार्थीहरूले योगा प्रदर्शन, गीत तथा नृत्य प्रस्तुत गर्दै आफ्नो प्रतिभा अभिभावकसामु प्रदर्शन गरेका थिए। आफ्ना बालबालिकाको प्रस्तुति देखेर अभिभावकहरू उत्साहित र खुसी देखिन्थे भने विद्यार्थीहरू पनि अभिभावकसामु प्रस्तुति दिने अवसर पाउँदा निकै उत्साहित देखिएका थिए।
कार्यक्रम समापनका अवसरमा विद्यालयकी प्रिन्सिपल मञ्जु दुवालले खेलकुदले विद्यार्थीहरूको शारीरिक विकास मात्र नभई मानसिक सन्तुलन, अनुशासन, आत्मविश्वास र व्यक्तित्व विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले ग्रेडिङमा सफल विद्यार्थीहरूलाई बधाई दिँदै विद्यालयको शैक्षिक अभ्यासमा संलग्न सम्पूर्ण शिक्षक, अभिभावक तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गरिन्।
यसरी, एक साता लामो वि किड्स स्पोर्टस् कार्निभल २०८२ ले विद्यार्थी र अभिभावक दुवैका लागि मनोरञ्जनसँगै सिकाइ, सहकार्य र सकारात्मक प्रतिस्पर्धाको महत्वलाई प्रभावकारी रूपमा उजागर गरेको विद्यालय प्रशासनको भनाइ छ।
