आदरणीय नगर प्रमुखज्यू, भक्तपुर नगरपालिकाको कार्यालय ब्यासी भक्तपुर ।
यहाँले दुई कार्यकाल भक्तपुर नगरपालिकाको प्रमुख भएर गर्नु भएका काम कारवाहीहरू भक्तपुर नगरवासीहरूको लागि मात्रै होइन सम्पूर्ण देशबासी र विदेशमा समेत प्रचार प्रसार भइरहेका छन् । नगरको समग्र विकास निर्माणका कार्यक्रमहरू होस् वा सरसफाई, सम्पदा संरक्षण तथा सांस्कृतिक गुरूहरूको सम्मानमा गाईजात्रा पर्वमा पुरस्कृत गरिरहेका सांस्कृतिक गतिविधिहरू किन नहुन् ती सबै सहानीय नै मान्नु पर्दछ । सिलू महादेवको मन्दिर पुनः निर्माणले दरबार क्षेत्रको शोभा बढाएको छ । भक्तपुर अस्पताल मात्रै भएको नगर क्षेत्र भित्र धमाधम निजी अस्पतालहरूले स्थान ओगट्न थालेकै बेला हतर पतर भएपनि ख्वप अस्पताल निर्माण कार्य सम्पन्न गरी महिनामा लाखौं बिरामीहरूको सेवा प्रदान गर्ने गरेको कम महत्वपूर्ण विषय होइन । तपाई आफै अन्तरिम संविधानको सभासद् छँदा सदनबाट पारित गरेको स्वास्थ्य र शिक्षालाई निःशुल्क गर्ने कुरा कानुन नबने पनि ख्वप अस्पताल निर्माण संगै पूरा हुने हो कि भन्ने अपेक्षा गरेता पनि त्यो नहुनु भने एक खालको बिडम्बना नै मान्नु पर्दछ । तर जनताबाट उठाइएको पैसाले राखेको अक्सिजन प्लानबाट हाल नि: शुल्क अक्सिजन वितरण गर्नु पनि साराहनीय कार्य भइरहेको छ ।
भक्तपुर नगरका जनप्रतिनिधिहरूले एक मत रूपमा हरेक कार्ययोजनाहरू पारित गरी काम गर्दा पनि स्थानीय जनताले भने अनेकौ गुनासाहरू पोखिरहेका छन् । ब्यवस्थित नगर निर्माणको लागि नगर प्रमुख र नगरपालिकाका कर्मचारीहरू मात्रै लागेर पुग्दैन । त्यसको लागि नगरबासी आफै जागरूक भएर अगाडि बढ्नु आवश्यक छ । वातावरण र प्रकृति मानव जीवनको अभिन्न अंग हो। बिहान सबेरै दिनहुँ जसो भक्तपुर नगरपालिकको फोहोर लिन आउने गाडीले ठूलो स्वरमा भक्तपुरका पूर्व प्रहरी प्रमुखको रचनामा सिर्जना भएको यो नगर भक्तपुर-बोलको गीत सुनाउँदै आउँदा मेरा नाति नातिनाहरूले सधै फोहोर उठाउने गीत भनेर त्यो गीतको अबमूल्यन गर्ने गरेका छन् । यो कुरा अरू विद्यार्थीहरूले पनि महसुस गरेको पाएको छु, सुधार जरूरी होला कि ?
च्याम्हसिंहदेखि भार्वाचो सम्मको मूल बाटो ईट्टा उप्काएर ढुंगाले छापेपछि निकै बलियो र भरपर्दो होला भन्ने सोचेको थिएँ तर ठाउँ ठाउँमा खाल्दा खुल्दी पर्ने र अब ईट्टा नै कतै नदेखिने गरी चोक गल्लीहरू समेत ढुंगाले छापेकाले त्यहाँ समेत चिप्लिने र घाम लाग्दा पोलेर हिड्नै गाह्रो पर्ने महसुस हुने गरेको छ । अझ भैरवको रथ तान्ने बेलामा ढुंगा छपाईको कारण असहज महसुस हुने गरेको पाइएको छ । त्यसमा सुधार गर्नु पर्ला कि ? मूल बजार र सडक सफा देखिए तापनि विदेशीहरू भने चोक चोक र गल्ली भित्र सम्म पुगेर त्यहाँ कस्तो छ त भनी हेर्न जाने गरेको पनि पाएको छु । बाहिर सफा देखिए तापनि भित्री गल्लीहरूको फोहर व्यवस्थापन गर्न नसक्दा अहिले पनि नगरका कयौ स्थान हेर्न लायकका छैनन् । निजी घर र सागालहरूलाई अझ निकास दिएर ब्यवस्थित गर्नु जरूरी देखिन्छ । होइन भने हामीले सोचेको भन्दा फरक धारणा लिएर बिदेशीहरू आफ्नो मुलुक फर्किने पनि डर रहन्छ ।
पहिला नगर प्रवेश गर्ने स्थानहरू माहेश्वरी, हनुमानघाट, भीमसेनखेल, यः सिंखेल, राममन्दिर, बाराहीस्थान, सल्लाघारी निकै फोहर थियो र त्यहाँ नगर बाहिर भएकाले किसानहरूले मलको थुप्रो लाउने गरेका थिए । हाल मलको थुप्रो लाएको नदेखिए तापनि ती स्थानहरू फोहर नै देखिएका छन् । भक्तपुर नगरका निकासहरूबाट निस्केका मलमुत्रहरू हनुमन्तेमा सिधै निस्कासन गरिएबाट यो खोला अति प्रदूषित भएको देख्न सकिन्छ । अझ पुषदेखि जेठ महिनासम्म पानी नभई ब्रह्मायणी देखि सल्लाघारीसम्म निकासको पानी र प्लाष्टिकका थुप्रा, बोटलहरूमात्र देखिन्छ । विशेषगरी हनुमानघाट मान्छेको मृत्युपछि संस्कार गर्ने ठाउँमा अति नै दुर्गन्ध भई एकछिन पनि बस्न नसक्ने स्थिति छ । यी सफा गर्न के कामले रोकेको छ । अलिकति दृढ इच्छाशक्ति राखेमा तपाईलाई भविष्यको पुस्ताले समेत मूल्याङ्कन गर्ने र सफा स्वच्छ हनुमन्ते आफ्नै कार्यकालमा बनाएमा यो कार्यले अरू नपाहरूलाई पनि चाप र दबाब पर्ने भएकोले यो पवित्र काम गर्न ढिलाई गर्नु भएन । मूल त हनुमन्ते नदीको वरपर सफा नहुँदा नगर प्रवेश पछि जति सुकै टिपन टापन कर्मचारी राखेर नगरलाई सफा गरेको देखिएपनि बाहिरबाट फोहर देखिएका छन् । कयौ पर्यटकहरू एयरपोर्टबाटै फोहरका कारण फर्केर गएको भन्ने सुन्नमा आएको छ । एयरपोर्टमा फोहर थुप्रिने र गिद्ध र चील उडिरहेको देखेर प्रदुषित शहर अनुमान गरी ती पर्यटकहरू फर्किने गरेको हान र तानले अनुमान गर्ने गरेको छ । भक्तपुर प्रवेश गर्ने द्वारहरूलाई निकै व्यवस्थित गर्न बाँकी रहेको खौमा ढोकासँगै इन्द्रायणी जाने बाटोमा थुप्रिने फोहरले संकेत गरेको देखिन्छ । भक्तपुर नपा र अन्य नपा जोडिएका पुलहरूमा फोहोरका थुप्रोहरू देख्न सकिन्छ । यसमा पनि सुधार हुनु पर्ने होइन र ? यदि यी कामहरू भनपाले समयमा नै गरेको भए यो कला संस्कृति सहर मात्र होइन सफल हराभरा सहर बन्नेमा दुईमत छैन ।
- कृष्ण प्रजापति, पत्रकार
ईमेल: KumhaKrishna@gmail.com
वातावरण संरक्षण मञ्च, भक्तपुर २०८३ बाट
