सोमवार, माघ २६, २०८२

11.1 C
Bhaktapur
सोमवार, माघ २६, २०८२
11.1 C
Bhaktapur
HomeNews Contentसमाचारचाँगुनारायणमा जैविक तरकारी खेती प्रवर्द्धनका लागि तालिम

चाँगुनारायणमा जैविक तरकारी खेती प्रवर्द्धनका लागि तालिम

भक्तपुर । चाँगुनारायण नगरपालिकामा व्यावसायिक तरकारी खेतीमा रासायनिक मल र विषादी न्यूनीकरणका लागि जैविक मल तथा विषादी निर्माणसम्बन्धी तालिम सञ्चालन गरेको छ ।

“स्वच्छ वायु, लामो आयु” भन्ने नारालाई आत्मसाथ गर्दै खेतबारीमा प्रयोग हुने रासायनिक मल तथा विषादीका कारण मानव स्वास्थ्य, माटो र वातावरणमा पर्न सक्ने प्रत्यक्ष तथा अप्रत्यक्ष दुष्प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरेको हाे ।

चाँगुनारायण स्वच्छ हावा सञ्जालले चाँगुनारायण नगरपालिकाकाे ९ वटै वडामा उक्त तालिम सञ्चालन गरेकाे सञ्जालकी अध्यक्ष रबिता कार्कीले जानकारी दिइन् । कृषकहरूलाई रासायनिक खेतीको विकल्पका रूपमा जैविक खेतीतर्फ आकर्षित गर्दै सुरक्षित, स्वस्थ र वातावरणमैत्री तरकारी उत्पादनमा सक्षम बनाउन प्रेरित गर्ने उद्देश्यल् किसानहरूलाई तालिम दिइएको आयोजकले जनाएको छ।

चाँगुनारायण नगरपालिका वन तथा वातावरण संयोजक सोम प्रधानले रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति घट्नुका साथै मानव स्वास्थ्य, पानीका स्रोत र जैविक विविधतामा गम्भीर असर पारिरहेको उल्लेख गरे । जैविक खेतीले माटोको प्राकृतिक गुण जोगाउने, वातावरण प्रदूषण कम गर्ने र दीर्घकालीन रूपमा स्वच्छ हावा र स्वस्थ जीवनशैलीमा योगदान पुर्याउने भएकाले यसको प्रवर्द्धन अत्यन्त आवश्यक रहेको उनकाे भनाइ छ ।

तालिमका प्रशिक्षक शिव याण्डोले जैविक मल तथा जैविक विषादी निर्माणका विभिन्न विधि, घरमै उपलब्ध सामग्री प्रयोग गरेर मल बनाउने तरिका, रोग–कीरा नियन्त्रणका प्राकृतिक उपाय, माटो व्यवस्थापन तथा दीगो कृषि प्रणालीबारे विस्तृत प्रशिक्षण दिए । उनले जैविक खेतीले उत्पादनलाई मात्र होइन, किसानको स्वास्थ्य र खर्चमा समेत सकारात्मक प्रभाव पार्ने बताए ।

तालिममा जैविक खेतीको महत्त्वबारे विशेष चर्चा गरिएको थियो। जैविक खेतीले रासायनिक अवशेषरहित तरकारी उत्पादन गर्न सहयोग पुग्ने, उपभोक्ताको स्वास्थ्य सुरक्षित हुने, माटो र पानीको संरक्षण हुने तथा दीर्घकालीन रूपमा उत्पादन क्षमता स्थिर रहने विषयमा सहभागीलाई जानकारी गराइएको थियो। साथै जैविक तरकारीको बजार माग बढ्दो रहेकाले किसानको आम्दानी वृद्धि गर्न पनि जैविक खेती उपयोगी हुने धारणा राखिएको थियो।

तालिममा सहभागी कृषक तथा तरकारी उत्पादकहरूले आफ्नै खेतबारीमा प्रयोग गर्न मिल्ने व्यावहारिक ज्ञान प्राप्त गर्न पाएकोमा खुशी व्यक्त गरेका छन्। स्वस्थकर तरकारी उत्पादनमार्फत परिवारको स्वास्थ्य जोगाउनुका साथै वातावरण संरक्षणमा योगदान गर्न पाउने भएकाले यस्ता तालिम अझ विस्तार हुनुपर्ने सहभागीहरूको माग थियो।

स्वच्छ हावा सञ्जाल चाँगुनारायण नगरपालिकाका अनुसार तीन चरणमा वडागत रूपमा तालिम सञ्चालन भएको छ ।

नगरपालिकाले वातावरण संरक्षण, जनस्वास्थ्य सुधार र दीगो कृषि प्रणाली प्रवर्द्धनका लागि जैविक खेतीसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइरहेकाे वास संयाेजक सुरेन्द्र लामिछानेले जानकारी दिए । उनले नगरपालिकाले सरसफाइ कार्यलाई प्रवर्द्धन गरिरहेको बताए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको