सोमवार, माघ २६, २०८२

11.1 C
Bhaktapur
सोमवार, माघ २६, २०८२
11.1 C
Bhaktapur
HomeNews Contentसमाचारभक्तपुरमा पहिलो `इसान फन फिएस्टा’ भव्य रूपमा सम्पन्न

भक्तपुरमा पहिलो `इसान फन फिएस्टा’ भव्य रूपमा सम्पन्न

भक्तपुर । संस्थागत विद्यालय संघ नेपाल भक्तपुर जिल्ला समितिको आयोजनामा पहिलो पटक इसान फन फिएस्टा कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ।

बालबालिकाको सर्वाङ्गीण विकास, खेलकुदप्रतिको रुचि र आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रम भक्तपुरको ऐतिहासिक तौमढी स्क्वायर र शहीदस्मृति खेलमैदानमा सञ्चालन गरिएको थियो।

कार्यक्रमको उद्घाटन भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले रंगीन बलुन उडाएर गरेकी थिइन् । उद्घाटनमा उपप्रमुख जोशीसँगै इसान केन्द्रीय अध्यक्ष प्रेमजन थापा, केन्द्रीय कोषाध्यक्ष उकेश कवां तथा आयोजक समितिका अध्यक्ष कृष्णराम त्वानाबासुले मन्तव्य राख्दै बालमैत्री कार्यक्रमहरूले विद्यार्थीको शारीरिक, मानसिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।

इसान फन फिएस्टामा भक्तपुर जिल्लाका १९ वटा संस्थागत विद्यालयहरु सहभागी भएका थिए। प्रत्येक विद्यालयबाट जुनियर केजी र सिनियर केजी तहका ८/८ जना गरी १६ जना विद्यार्थीहरु सहभागी भएका थिए भने सम्पूर्ण विद्यालयबाट ४ जना शिक्षकहरु कार्यक्रम व्यवस्थापन तथा सहजीकरणमा संलग्न रहेका थिए।

कार्यक्रमको शुभारम्भसँगै तौमढी स्क्वायरमा विद्यार्थीहरूले आकर्षक सामूहिक नृत्य (मास डान्स) र सामूहिक पीटी अभ्यास (मास पीटी एक्सरसाइज) प्रस्तुत गरेका थिए। त्यसपछि तौमढी स्क्वायरबाट भक्तपुर दरबार स्क्वायर हुँदै शहीदस्मृति खेलमैदानसम्म र्याली निकालिएको थियो । त्यसले कार्यक्रम उत्सवमय बनाएको थियो ।

शहीदस्मृति खेलमैदानमा पुगेपछि बालबालिकाका लागि ८ प्रकारका विभिन्न खेल गतिविधि सञ्चालन गरिएको थियो। खेलमार्फत सिकाइ, सहकार्य र अनुशासनको अभ्यास गराउने उद्देश्यले खेलहरू आयोजना गरिएको आयोजक समितिका अध्यक्ष कृष्ण राम त्वानाबासूले जनाए ।

कार्यक्रमको समापन समारोहमा बागमती प्रदेश सभाका सदस्य सुरेन्द्र गोसाईं प्रमुख अतिथिका रूपमा सहभागी थिए । समापन समारोहमा उनले यस्ता कार्यक्रमहरूले प्रारम्भिक तहका बालबालिकामा आत्मविश्वास, नेतृत्व र खेलभावना विकास गर्न सहयोग पुग्ने बताए ।समापन समारोहमा आयोजक समितिका अध्यक्ष कृष्णराम त्वनाबासुले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा सहभागी सबै विद्यालय र विद्यार्थीहरूलाई ट्रफी, मेडल तथा सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो। इसान भक्तपुर जिल्ला समितिले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक, शैक्षिक तथा खेलकुदमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको