ललितपुर । बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्यका आठ बाल साहित्यका कृतिको एकसाथ विमोचन गरिएको छ।
तेस्रो बालसाहित्य महोत्सवको अवसरमा प्युठान वाङ्मय केन्द्र काठमाडौँद्वारा पाटन दरबार सङ्ग्रहालयको भण्डारखाल हलमा आयोजित कार्यक्रममा आचार्यका ‘दसैँको आशिष’, ‘पाटे चितुवा’, ‘उनीहरु कहाँ गए होलान्’, ‘गोपाल’, ‘महिषपाल’ र ‘किराँत’ र ‘डेढ गगरिया’सहित आठ बालसाहित्यिक कृतिहरुको विमोचन गरिएको हो।
पुस्तक विमोचन कार्य सङ्गीत नाट्य प्रतिष्ठानका पूर्वउपकुलपति एवं वरिष्ठ नाट्यकर्मी हरिहर शर्माले एकैपटक आठ वटा किताब प्रकाशन गर्नु महत्त्वपूर्ण भएको बताउँदै प्रकाशित पुस्तकहरु समय सान्दर्भिक रहेको बताए। `जुन वर्गलाई लक्षित गरिएको हुन्छ, त्यो वर्ग वा उमेर समूहको मनमष्तिस्कले मन पराउने खालको विषयवस्तु हुनुपर्छ, आज विमोचन भएको बालसाहित्य पुस्तकले यी विषयहरुलाई समेटेको छ´, उनले भने।
राष्ट्रिय समाचार समिति (रासस)का पूर्वसम्पादक प्रमोद प्रधानले बालसाहित्यका बारेमा आफ्नो धारणाभन्दा पनि विश्वव्यापी अभ्यास र अवधारणालाई ध्यान दिनुपर्नेमा जोड दिए। उनले बालसाहित्यमा बालबालिकाको रुचि र उनीहरूको मनोविज्ञानलाई ध्यान दिएर लेख्ने पद्धतिलाई जोड दिनुपर्ने धारणा राखे।
विमोचन गरिएका पुस्तकहरुको समीक्षा गर्दै प्राध्यापक डा गोविन्द पौडेलले इतिहासलाई सरल रुपमा कलात्मक ढङ्गले प्रस्तुत गरिएको बताए। ‘डेढ गगरिया’ कृतिको बारेमा साहित्यकार कृष्णराज सर्वहारीले पाँच वटा लोककथा रहेको यस पुस्तकमा कथाहरूसँग प्रसङ्ग मिल्ने गीतहरू राखिएको भए अझै उचित हुने धारणा राखे। यो पुस्तक थारु समुदायको बालबालिकाहरुका लागि उपयुक्त हुने उनको भनाइ थियो।
