भक्तपुर । आगामी निर्वाचनमा भक्तपुर क्षेत्र नं. १ बाट नेकपा (संयुक्त) का उम्मेदवार दामोदर काफ्लेले आफ्नो राजनीतिक एजेन्डा सार्वजनिक गरेका छन् ।
उनले आफ्नो चुनाव चिह्नमा मतदान गर्न आह्वान गर्दै देश र समाजको हितलाई केन्द्रमा राखिएको आफ्नो राजनीतिक एजेन्डा सार्वजनिक गरेका हुन् । उम्मेदवार काफ्लेले व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको सेवा र समग्र सामाजिक हितका लागि राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विकासका नाममा हुने भ्रष्टाचार अन्त्य गर्दै पारदर्शी र भ्रष्टाचारमुक्त ठोस योजनामार्फत दिगो विकास अघि बढाइने बताएका छन्।
नेकपा (संयुक्त) ले शिक्षा र स्वास्थ्यलाई आधारभूत अधिकारका रूपमा सुनिश्चित गर्दै निःशुल्क सेवा उपलब्ध गराउने नीति लिएको जनाएको छ। साथै प्रविधिको प्रवर्द्धन, अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाई युवालाई देशमै रोजगारी र अवसर सिर्जना गर्ने पार्टीको लक्ष्य रहेको उम्मेदवार काफ्लेले स्पष्ट पारेका छन्।
“भाषणभन्दा काममा विश्वास गर्ने राजनीति आजको आवश्यकता हो,” काफ्लेले भने, “राजनीतिमा नयाँ सोच, संस्कार, पारदर्शिता, जवाफदेहिता र विकासमुखी अभ्यास स्थापित गर्न हसिया चिन्हमा भोट आवश्यक छ।”
देशलाई आत्मनिर्भर बनाउने, प्रतिभा विदेश पलायन रोक्ने र दीर्घकालीन भविष्य निर्माण गर्ने स्पष्ट दृष्टिकोणसहित नेकपा (संयुक्त) चुनावी मैदानमा उत्रिएको जनाउँदै उम्मेदवार काफ्लेले भक्तपुर क्षेत्र नं. १ का मतदातालाई मतदान गर्न आग्रह गरेका छन्।
