२०८२ साल फागुन २१ काे चुनाव नजिकिँदै छ । चुनावी चर्चा बाक्लिएकाे छ । गरमागरम हुन थालेकाे छ, चुनावी माहाेल । चाेक, चाैतारी, चियापसलका साथै सामाजिक सञ्जाल पनि तात्न थालेकाे छ ।
यही सन्दर्भमा भक्तपुरका एक उम्मेदवारले हाकाहाकी भनेका छन्, :
पटक–पटक धोका दिनेलाई के भनौँ र खै?
जनताबाट पटक–पटक सत्ता पाएका,
तर जनताकै नाममा पद हत्याउने,
भ्रष्टाचार, हत्या र अपराध लुकाउनेहरू
यी जनप्रतिनिधि होइनन्, ठेकादार हुन्।
हिजो सत्ता चलाएका एमाले, कांग्रेस, माओवादी वा कुनै पनि दलका निर्वाचित नेता उनीहरूको गल्ती औँल्याउनु अपराधजस्तै ठान्ने प्रवृत्ति आज लोकतन्त्रकै लागि खतरा बनेको छ।
प्रश्न गर्ने नागरिकलाई दुश्मन ठान्ने,
भावनात्मक भएर रिसाउने,
आलोचनालाई षड्यन्त्र ठान्ने
यो सबै जनताको चेतना दबाउने योजनाबद्ध अभ्यास हो।
यिनिहरूले बुझ्नैपर्छ
जनताले प्रश्न गर्नु षड्यन्त्र होइन,
गलत बाटोमा जान नदिन गरिएको सचेत नागरिकको प्रयास हो।
कुनै नेता वा पार्टी मन पर्छ भन्दैमा
उसले गर्ने हरेक काम सही ठान्नु लोकतन्त्र होइन,
त्यो त अन्धभक्ति हो।
आज कोही लोकप्रिय हुन सक्छ,
भीडले बनाएको नेता हुन सक्छ,
तर जनताको अपेक्षा स्पष्ट छ
पारदर्शिता, जवाफदेहिता र स्पष्टता।
यदि आजैदेखि
“हाम्रो नेता हो, सोध्नै पर्दैन”
भन्ने सोच बसालियो भने
भोलि यही मौन समर्थन नै
ठूला गल्तीहरूको जग बन्छ—
जसको पीडा हामीले हिजो भोगिसकेका छौँ।
इतिहास साक्षी छ—
४७–४८ मा कांग्रेस,
५१–५२ मा एमाले,
६२–६३ मा माओवादी,
७२ तिर केपी ओली—
सबै समयका ‘नायक’ हरू
प्रश्न नगर्दा निरंकुश बने।
त्यतिबेला प्रश्न गर्नेहरू
परिवर्तनविरोधी, देशद्रोही ठहरिए
आज परिणाम सबैका सामु छ।
नेता बिग्रिनु मात्र समस्या होइन,
प्रश्न नगर्ने समाज झन् ठूलो समस्या हो।
आज फेरि नयाँ अनुहार,
नयाँ शक्ति, नयाँ उत्साह देखिँदैछ
तर दृश्य पुरानै हो।
हामी फेरि नायक खोज्दैछौँ,
फेरि देवता बनाउँदैछौँ।
जबकि इतिहास भन्छ—
हरेक दशकको नायक
केही समयमै खलनायक बनेको छ।
यसको जिम्मेवारी
नेता मात्र होइन,
समयमै प्रश्न नगर्ने समाजको पनि हो।
शंका गर्नु कमजोरी होइन,
यो चेतनशील समाजको पहिचान हो।
शंका नहुँदा नेता निरंकुश बन्छ,
शक्ति नियन्त्रणबाहिर जान्छ
र जनता निरीह।
त्यसैले—
दान–चन्दा होस्,
नीति–निर्णय होस्,
स्रोत र उद्देश्यमा
पारदर्शिता खोज्नु अपराध होइन,
यो नागरिकको कर्तव्य हो।
अब समय आएको छ—
नायक पूजा होइन,
जवाफदेही नेतृत्व माग्ने संस्कार बसाल्ने।
नेता भगवान होइनन्।
उनीहरू गल्ती गर्छन्।
त्यो गल्ती समयमै रोक्ने
सबैभन्दा बलियो हतियार भनेकै
भोट दिने जनताको प्रश्न हो।
हिजो सत्ता गएकालाई पनि सोध्नुपर्छ,
आज नयाँ भनिनेलाई पनि।
त्यसैले—
घोषणापत्रसहित आउनेलाई मात्र भोट दिनुहोस्,
हिजो सत्तामा रहेकालाई
“के काम गर्यौ?” भनेर सोधेर मात्र फरक छुट्याउनुहोस्।
हामी संख्या होइनौँ।
हामी भीड होइनौँ।
हामी उपकरण होइनौँ।
हामी दास होइनौँ।
हामी सचेत नागरिक हौँ।
उम्मेदवार: दामोदर काफ्ले, भक्तपुर क्षेत्र नं. १, नेकपा(संयुक्त )
