भक्तपुर । ज्ञान, विद्या र सृजनाकी देवी सरस्वतीको आराधनाको पावन अवसरमा ताथलीस्थित एस.एस. सदन सेकेण्डरी स्कुलले सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम आयोजना गरी शैक्षिक उत्सवका रूपमा मनाएको छ । उक्त अवसरमा विद्यालयमा ८३ जना नयाँ विद्यार्थी भर्ना भएका छन् ।
“The Basecamp for Quality Education” भन्ने नाराका साथ गुणस्तरीय, व्यवहारिक र संस्कारयुक्त शिक्षा प्रदान गर्दै आएको विद्यालयप्रति अभिभावकहरूको आकर्षण बढ्दै गएको देखिएको छ । सरस्वती पूजाकै दिन उल्लेख्य संख्यामा विद्यार्थी भर्ना हुनु विद्यालयप्रतिको विश्वास र भएको विद्यालय प्रशासनको भनाइ छ ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा नानीबाबुहरूले पहिलोपटक अक्षर लेख्दै औपचारिक शिक्षाको यात्रा सुरु गरेका थिए । गुरुजनबाट टीका, प्रसाद र आशीर्वाद ग्रहण गर्दै विद्यार्थीहरूलाई शिक्षामा अभिप्रेरित गरिएको थियो । कार्यक्रमलाई विद्यालयले सांस्कृतिक र शैक्षिक महत्वसहित व्यवस्थित रूपमा सम्पन्न गरेको जनाएको छ ।
कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागी अभिभावकहरूले आफ्ना बालबालिकालाई स्थानीय स्तरमै गुणस्तरीय शिक्षा दिन पाएकोमा सन्तोष व्यक्त गरेका थिए ।
विद्यालयका प्रिन्सिपल प्रदीप थापाले एस.एस. सदन सेकेण्डरी स्कुलले विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर शिक्षण–सिकाइ प्रक्रिया अघि बढाइरहेको बताए । उनका अनुसार बालमैत्री, सुरक्षित र अनुशासित वातावरण, अनुभवी तथा प्रशिक्षित शिक्षक टोली, विद्यार्थीकेन्द्रित शिक्षण शैली विद्यालयको प्रमुख विशेषता हो ।
विद्यालयमा प्रोजेक्ट वर्क, प्रस्तुति, समूहगत सिकाइ जस्ता आधुनिक शिक्षण विधि लागू गरिएको छ । साथै जीवनोपयोगी शिक्षा, व्यवहारिक ज्ञान, नैतिक शिक्षा र संस्कारमा विशेष जोड दिइएको छ । खेलकुद, संगीत, नृत्य, कला, वादविवादलगायत अतिरिक्त क्रियाकलापलाई पनि नियमित रूपमा सञ्चालन गरिँदै आएको छ ।
निरन्तर मूल्याङ्कन प्रणाली र अभिभावकसँग नियमित संवादको अभ्यासले विद्यार्थीको प्रगति नजिकबाट अनुगमन गर्न सहज भएको विद्यालयको भनाइ छ ।
ताथली र आसपासका क्षेत्रमा एस.एस. सदन सेकेण्डरी स्कुल क्रमशः गुणस्तरीय र भरोसायोग्य शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गएको स्थानीयहरूको धारणा छ ।
