भक्तपुर । माघकाे पारिलो र न्यानाे घाम, लिच्छविकालीन इँटाले छापिएको ऐतिहासिक चाँगुनारायण मन्दिरकाे आँगन। उसै त आन्तरिक र बाह्य पर्यककले भरिने ठाउँ । आइतबार फेरि एकपटक बेग्लै तरिकाले जीवित जस्तो देखिन्थ्यो। करिब पन्ध्र सय वर्षअघि राजा मानदेवले शिलालेख कुँदेर इतिहासलाई साक्षी बनाएको यही भूमि आज शब्द, सम्झना र सम्मानको साक्षी बन्यो।
चाँगुनारायण, जहाँ ढुंगाकाे स्तम्भले बाेलिरहेकाे छ इतिहास, इँटा र मूर्तिले बताइरहेकाे छ । नेपालकाे प्रामाणिक इतिहासको कथा सुनाइरहेकाे पवित्र यही ऐतिहासिक प्राङ्गणमा माघ ४ गते चाँगुनारायण नगरपालिका वडा नं. ४ को कार्यालयको आयोजना र भक्तपुर बुढ्यौली साहित्य समाजको संयोजनमा नगरस्तरीय कविता प्रतियोगिता, शिक्षक तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न भयो।
सहभागी कविहरूले चाँगुनारायणलाई साक्षी राखेर `आजको चाँगुनारायण´ बोले। कवितामा बढ्दो विकृति, माटो दोहन, अन्धाधुन्ध विकास, हराउँदै गएको संस्कार र उपेक्षित बुढ्यौली अवस्था प्रतिध्वनित भए। सहभागी २४ जना कविहरूमध्ये अधिकांश ज्येष्ठ नागरिक आमाबुवा पुस्ताका थिए। उनीहरूको स्वरमा अनुभवको गहिराइ थियो, शब्दमा जीवनको उत्तरार्धको पीडा। कविता वाचनका क्रममा मञ्च मात्र होइन, दर्शकदीर्घा पनि भावुक बन्यो।
प्रतियोगितामा भक्तपुर बुढ्यौली साहित्य समाजका उपाध्यक्ष दीनानाथ पोखरेल प्रथम, भक्तपुर सुसेली मञ्चका अध्यक्ष रामशरण न्यौपाने द्वितीय र चाँगुनारायण साहित्य समाजकी सचिव जुनू घिमिरे तृतीय हुन सफल भए। निर्णायकद्वय प्राडा देवी नेपाल र अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारीले मूल्याङ्कन गरेका थिए ।
कार्यक्रमले सम्मानको अर्को अध्याय पनि लेख्यो। यही वडामा बसेर पुस्तौँसम्म शिक्षा दिएर समाज निर्माणमा योगदान पुर्याएका ३० जना निवृत्त शिक्षकहरूलाई सम्मान गरियो। उनीहरूको अनुहारमा सम्मानको उज्यालो मात्र थिएन, जीवनको सार्थकताको सन्तोष पनि देखिन्थ्यो।
त्यसैगरी, भारतको झारखण्डमा सम्पन्न कराँते प्रतियोगितामा सानदार सफलता हासिल गरेका यसै वडाका ११ जना युवा खेलाडीहरूलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरियो। बुढ्यौलीका अनुभूति र इतिहासका कथाबीच युवाको ऊर्जा मिसिँदा कार्यक्रम अझ अर्थपूर्ण बन्यो।
कार्यक्रमकै क्रममा ज्येष्ठ नागरिक मिलन चौतारी, वडा नं. ४ द्वारा साहार नेपालको सक्रियतामा भजन–कीर्तन कार्यक्रम सञ्चालन गरियो। लिच्छविकालीन इँटाको आँगनमा गुञ्जिएका भजनका स्वरले वातावरणलाई आध्यात्मिक र भावनात्मक बनायो।
वडा नं. ४ का वडाध्यक्ष रोजबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा प्रतिनिधि तथा वडाका कर्मचारीहरूकाे सक्रिय उपस्थिति थियो। कार्यक्रम सञ्चालन वडा सचिव हरिगोपाल गैडा र महेशनाथ ढुङ्गानाले गरेका थिए।
