काठमाडौं । भक्तपुर विकास सहयोग सङ्घले आफ्नो ३४औँ स्थापना दिवस शुक्रबार राजधानीको बुद्धनगरस्थित कार्यालयमा विशेष समारोहका बीच सम्पन्न गरेको छ।

सुरुवातमा सङ्घको लोगोमा पूजा, दीप प्रज्वलन र माल्यार्पण गरिएको थियो। कार्यक्रममा सभाध्यक्ष तथा निवर्तमान अध्यक्ष राजाराम जोशीले सङ्घ स्थापनाको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै तत्कालीन चुनौतीपूर्ण परिस्थितिमा प्रतिष्ठित व्यक्तिहरूको साथ लिएर परस्पर हातेमालो गर्दै सङ्घलाई अगाडि बढाइएको बताए ।
उनले हालको कार्यसमितिले नयाँ गतिविधि थप गर्दै सङ्घलाई अझ सशक्त बनाएकोमा खुशी व्यक्त गर्दै निरन्तर प्रगतिका लागि शुभकामना दिए।
पूर्व अध्यक्ष तथा सल्लाहकार कृष्णलाल प्रधानले उपस्थितलाई बधाई दिँदै भक्तपुरको परिवर्तित छवि र सङ्घको योगदानबारे चर्चा गरे। उनले २०४७ सालतिर भक्तपुरलाई ‘सबैभन्दा फोहर शहर’ भन्ने धारणा परिवर्तन भई सफा शहरको पहिचान बनाउन सामूहिक प्रयास भएको उल्लेख गरे। सोही क्रममा भक्तपुर विकासलाई संस्थागत गर्नुपर्ने आवश्यकता महसुस भई प्रा. शिवप्रसाद धौभडेल र पुष्पभक्त मल्लको अध्यक्षतामा तदर्थ समिति बनेको र २०४८ साल भाद्र ६ गते प्रा. ऐश्वर्यलाल प्रधानाङ्गको अध्यक्षतामा सङ्घ विधिवत् दर्ता भएको स्मरण गराए।
उनका अनुसार स्थापना पश्चात् भक्तपुरको वातावरण, कृषि, संस्कृति र सम्पदाको क्षेत्रमा महत्वपूर्ण योगदान भएको छ। सूर्यविनायक मन्दिर निर्माण, वाराहीपीठ मन्दिर पुनर्निर्माण, दरबार क्षेत्रका सम्पदाको संरक्षण, च्वङ्गा गणेश मन्दिर पुनर्निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग, जेसिजमार्फत पहिलो एम्बुलेन्स ल्याउने काम, औद्योगिक मेलामा सहकार्य जस्ता गतिविधि सङ्घका उल्लेख्य उपलब्धि बनेका छन्।

कार्यक्रम संयोजक तथा सह–कोषाध्यक्ष अमृत कायस्थले सङ्घको उद्देश्य र औचित्यमाथि प्रकाश पार्दै सबैलाई स्वागत गरे। अध्यक्ष राजु मृगेन्द्र जोशीले धन्यवाद ज्ञापन गर्दै अग्रजहरूले तय गरेको बाटोमा कटिबद्ध भएर सबै सदस्यहरूको साथ र सहकार्यले नै सङ्घ निरन्तर सफल बनेको बताए।
कार्यक्रम सञ्चालन सदस्य कृष्णेश्वरी हाडाले गरिन् । उनले आगामी भाद्र १४ गते शनिबार बिहान ११ बजे डीडीआई बैंक्वेट, बुद्धनगरमा हुने ३१औँ वार्षिक साधारण सभामा सबै सदस्यहरूको सक्रिय सहभागितामा विश्वास व्यक्त गरिन् ।
सोही साधारण सभामा सङ्घले नियमित प्रकाशन गर्दै आएको पत्रिका ‘खोपृङ’ को २७औँ अंक सार्वजनिक गर्ने जानकारी दिइएको छ।
