मङ्लबार, कार्तिक २५, २०८२

15.1 C
Bhaktapur
मङ्लबार, कार्तिक २५, २०८२
15.1 C
Bhaktapur
HomeNews Contentसमाचारलालाबाला काठमाडौं अन्तर्राष्ट्रिय बालनाटक महोत्सव समापन

लालाबाला काठमाडौं अन्तर्राष्ट्रिय बालनाटक महोत्सव समापन

काठमाडौं । नेपालसहित १२ देशका कलाकारहरूको सहभागितामा सुरु भएको लालाबाला काठमाडौं अन्तर्राष्ट्रिय बालनाटक महोत्सवको पाँचौँ संस्करण इम्पेरियल वर्ल्ड स्कुल परिसरमा सम्पन्न भयो। उद्घाटनपछि स्कुलकै प्रेक्षालयमा दैनिक चार–चार शो मञ्चन गरिए।

महोत्सवमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, इरान, थाइल्यान्ड, युके, जापान, स्लोभाकिया, चेक रिपब्लिक, लातभिया र ब्राजिलका कलाकारहरूले आफ्ना–आफ्नै भाषा, शैली र संस्कृतिमा विविध नाट्य प्रस्तुति गरे। सहभागी बालबालिकाका लागि नाट्य कार्यशाला पनि आयोजना गरिएको थियो।

उद्घाटन समारोहमा बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा प्रमुख अतिथि थिइन्। कार्यक्रममा कलाकार तथा संगीत–नाट्य एकेडेमीका पूर्व उपकुलपति हरिहर शर्मा, प्रा.डा. अभि सुवेदी, रङ्गकर्मी आकाँक्षा कार्की, प्रभाकर न्यौपाने, राम केयसी, मञ्जु गिरीलगायतका विशिष्ट अतिथिहरूको उपस्थिति उल्लेख्य थियो। कलाकार सुन्दर लामाले ‘मुक्ति’ शीर्षकको Performance Art प्रस्तुत गरेका थिए।

समारोहमा सहभागी सबै देशका राष्ट्रिय धुन प्रस्तुत गरिएको थियो। उद्घाटनलगत्तै आयोजक स्कुलको ‘बच्चा माई बच्चा’ र बंगलादेशको ‘मिट्टिकर फुल’ नाटक मञ्चन गरियो।

महोत्सवमा युकेको ‘Abstract Kids Show’ विशेष चर्चित बन्यो। साना बालबालिकालाई लक्षित यो प्रस्तुति पाँच पटक मञ्चन भयो र प्रत्येक शोमा विद्यार्थीसहित अभिभावकले उत्साहपूर्वक अवलोकन गरे।

दोस्रो दिन इरानको ‘Empathy’ र युकेको ‘Abstract Show’ ले दर्शकको मन जिते। तेस्रो दिन श्रीलंकाको Red Apple Theatre International Gathering को ‘Chocolate Biscuit’ र नेपालका Joy House Collective को ‘माछाको रङ्गिन सपना’ बाग्द्वय अत्यधिक प्रशंसित रहे।लचौथो दिन नेपालकै भ्याली भ्यु स्कुलको ‘इच्छा vs समय’ तथा चेक रिपब्लिकको प्रस्तुति मञ्चन गरियो।

आइतबार साँझसम्म सबै विदेशी कलाकार नेपाल आइपुगिसकेका थिए। उनीहरूले आफ्नो ६ दिने बसाइमा काठमाडौं, भक्तपुर र ललितपुरका सांस्कृतिक स्थल अवलोकन गर्नेछन्। चेक रिपब्लिक, स्लोभाकिया र लातभियाका कलाकारहरू थप चार दिन नेपालका विभिन्न स्थान भ्रमण गर्ने तयारीमा छन्। सबै कलाकारको बसाइ, खाने–बस्ने र व्यवस्थापन खर्च इम्पेरियल वर्ल्ड स्कुलले व्यहोरेको जनाएको छ।

बालनाटकका अग्रणी संस्था ‘लालाबाला’को अवधारणा र पहलमा यो महोत्सव नियमित रूपमा आयोजना हुँदै आएको हो। विद्यालयका संस्थापक तथा चेयरम्यान कुमार कार्की भन्छन्—
“हाम्रो विद्यालयलाई कलाको अन्तर्राष्ट्रिय हब बनाउने लक्ष्यका साथ लालाबालासँग सहकार्य गरेका छौँ। विदेशी कलाकारसँगै विद्यार्थीलाइ अन्तर्राष्ट्रिय स्तरको नाट्य सीप सिकाउने हाम्रो लक्ष्य हो।” महोत्सव निर्देशक टंक चौलागाईंका अनुसार, “असहज परिस्थितिमा समेत विभिन्न देशका कलाकार एउटै मञ्चमा उभिएर सकारात्मक सन्देश दिन सफल भएर यो वर्षको महोत्सव विशेष हुन पुगेको” छ। उनी थप्छन्, “बाह्र देशका ५० कलाकार आफ्ना भेषभूषा र झण्डासहित एउटै मञ्चमा देखिँदा लाग्थ्यो—जस्तै एकै बगैँचामा विभिन्न थरीका फूलहरू फुलेका।” विद्यालयकी प्रिन्सिपल जुनिता कार्कीका अनुसार कलाकारहरूको स्वागत कार्यक्रम शुक्रबारदेखिनै शुरुवात भइसकेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको