भक्तपुर । विगत लामो समयदेखि आफ्नो छुट्टै शैक्षिक र सांस्कृतिक पहिचान बनाउन सफल साइनिङ इङ्गलिस सेकन्डरी स्कुलले यस वर्ष पनि घिन्ताङघिसी विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
पूर्खाले सिर्जना गरेको कला र संस्कृतिलाई जर्गेना गर्ने उद्देश्यसहित सञ्चालित उक्त कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले जनचेतनामूलक सन्देशसहितका प्लेकार्ड प्रदर्शन गर्दै पकुनेपाटी, चाँगुनारायण मन्दिर, पिखेल हुँदै विद्यालय प्राङ्गणमा विसर्जन गरेका थिए । यस क्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकको सक्रिय सहभागिता रहेको विद्यालयका संस्थापक विक्रम ढुकुछुले जानकारी दिए ।
उनले सो कार्यक्रमबाट विद्यार्थी, अभिभावक तथा शिक्षकहरुले समेत संस्कृतिबारे जानकारी प्राप्त गरेको जनाए । उक्त कार्यक्रमले चाँगुनारायण नगरपालिकामा सञ्चालित स्थानीय पाठ्यक्रमलाई समेत सहयोग गरेको छ ।
विद्यालयका प्राचार्यका अनुसार यस्तो कार्यक्रमले विद्यार्थीलाई सांस्कृतिक सम्पदा संरक्षणप्रति सचेत बनाउने र समुदायमा एकताको सन्देश फैलाउन सहयोग गरेको छ । कार्यक्रममा श्री महाकाली सांस्कृतिक भजन खलः, कालिटारले विशेष प्रस्तुति दिई विद्यालयलाई सहयोग गरेकोमा विद्यालय परिवारले आभार प्रकट गरेको छ ।
