भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं.२ ले वडा भित्रका जेष्ठ नागरिकहरुलाई धार्मिक स्थल दर्शन तथा अवलोकन भ्रमण गराएको छ । वडाभित्रबाट करीब ३५० जनालाई ललितपुर जिल्लाको गोदावरी क्षेत्रमा अवलोकन भ्रमण गराएको वडा अध्यक्ष सोम प्रसाद प्रधानले अवगत गराए । विभिन्न सांगीतिक कार्यक्रमका साथ मनोविश्लेषक बासु आचार्य एवं प्रेम प्रसाद उप्रेतीद्धारा जेष्ठ नागरिकका व्यवहारिक समस्या र समाधान विषयमा परामर्श सेवा पनि प्रदान गरिएको थियो ।
जेष्ठ नागरिक शारीरिक र मानसिक रुपमा उमेरको कारण प्राय अशक्त रहने र कसै न कसैको आश्रीतमा रहनुपर्ने बाध्यात्मक अवस्थाले उनीहरुको मनोविज्ञानमा पर्न सक्ने प्रतिकुलता चिर्न यस किसिमका कार्यक्रमहरु बेलाबखत गरिरहनु पर्ने वडा अध्यक्ष प्रधान बताँउछन् ।
̏आगो ताप्नु मुढाको,कुरा सुन्नु बुढाको ̋ भन्ने उपमाले बुढाबुढीलाई सम्बोधन गर्ने पुरानो परिपाटी भएपनि अहिले आएर थाङ्गने बुढी,गनगने बुढो जस्ता शब्दबाट अपमानित हुने विद्यमान अवस्था यद्यपि रहेको छ । जेष्ठ नागरिक माथी विभेद र हिंसाका घट्ना पनि बढ्दो क्रममा देखिन्छ । कुनै न कुनै किसिमको दुव्र्यवहार हुने क्रम जारी छ । धनी,गरिब,शिक्षित,अशिक्षित,सपाङ्ग,अपाङ्ग हरेक जेष्ठ नागरिकको आआफ्नै कहानी छ । सबैलाई एउटै समुहको टोकरीमा हालेर हेर्ने गरिन्छ तर यसबाट जेष्ठ नागरिकहरुको मुद्धा सम्बोधन गर्न गाह्रो हुन्छ । जेष्ठ नागरिक मिलन चौतारी चानपा २ का अध्यक्ष लक्ष्मीभक्त सुवाल जेष्ठ नागरिक समाजको जिउँदो प्रतिबिम्ब रहेको उल्लेख गर्दै उहाँहरुको जीवन भोगाईबाट हामीले धेरै ज्ञान आर्जन सक्ने बताँउछन । उनीहरुले आफ्ना सन्तानको पालन पोषण,शिक्षा,दीक्षा,सामाजिक दायित्व पूरा गर्दै राष्टका लागि समर्पित बनेर विशेष योगदान गरेका हुन्छन् । जब शारीरिक र मानसिक रुपमा अशक्त हुन्छन् तब परिवार,समाज र राज्यले जेष्ठ नागरिक लक्षित विभिन्न योजनाहरु ल्याउनु अपरिहार्य रहन्छ ।
चाँगुनारायण नगरपालिका वडा नं.२ ले जेष्ठ नागरिकको मनोभावना बमोजिम वडाभित्र जेष्ठ नागरिक मैत्री विभिन्न गतिविधिहरु सञ्चालनमा ल्याएको जेष्ठ नागरिक समाज दुवाकोटका अध्यक्ष मेदीनी प्रसाद उप्रेती बताँउछन् । वडा नं.२ ले वडाभित्रका सामुदायिक भवनहरुमा निश्चित समयमा जमघट गराई जेष्ठ नागरिकहरुको समस्यामा विशेष चासो राख्दै उनीहरुलाई हरदम खुसी बनाउन प्रयत्नशील रहेको स्थानीय सामाजिक अभियन्ता नबराज काफ्ले बताँउछन् ।
