शुक्रबार, जेष्ठ १०, २०८२

24.1 C
Bhaktapur
शुक्रबार, जेष्ठ १०, २०८२
24.1 C
Bhaktapur
HomeNews Contentखोेज/फिचरविद्यार्थीको ‘मिहिनेत’, शिक्षकको ‘जाँगर’ले दंग भए अभिभावक

विद्यार्थीको ‘मिहिनेत’, शिक्षकको ‘जाँगर’ले दंग भए अभिभावक

भक्तपुर । भक्तपुरको सुडालस्थित महेन्द्रग्राम माध्यमिक विद्यालयका विद्यार्थीको मिहिनेत र शिक्षकको जाँगर देखेर अभिभावकहरु दंग परेका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु र अध्यापनरत शिक्षकहरुले तयार पारी प्रदर्शन गरिएका विभिन्न शैक्षिक सामग्रीहरु देखेर अभिभावकहरु दंग परेका हुन् ।

चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालको जीतपुरस्थित भवनमा गरिएको शैक्षिक प्रदर्शनी, स्वास्थ्य शिविर, रक्तदानका साथै पाक शिक्षा प्रदर्शन हेर्न पुगेका अभिभावकहरुले विद्यालयले विद्यार्थीको पढाइ, सामाजिकीकरण, संस्कार, अनुशासन र सीपको प्रशंसा गरेका थिए ।

सोमबार गरिएको प्रदर्शन हेर्न पुगेका थिए, सोही विद्यालयको कक्षा ५ मा छोरी पढाइरहेका स्थानीय अभिभावक ईश्वर श्रेष्ठ । उनले सरकारी स्कुलले पनि त्यति गर्न सक्ने रहेछ भन्ने विद्यालयमा भएको प्रदर्शनबाट विश्वास लागेको बताए । उनले विद्यालयमा कसरी पठनपाठन हुन्छ? भन्ने कुरा प्रदर्शनी हेरेर थाहा पाएको बताए ।

शैक्षिक प्रदर्शनीमा विभिन्न विषयसँग सम्बन्धित पाठहरुका शैक्षिक सामग्री निर्माण गरिएका थिए । शैक्षिक सामग्रीको प्रयोगले पढाइलाई दिगो र विद्यार्थीले सहज रुपमा बुझ्न सहयोग पुग्ने बुझेका उनले विषयगत रुपमा प्रदर्शनीको अवलोकन गरे ।

विद्यार्थीका साथै उक्त विद्यालयका अध्यापनरत शिक्षकहरुले पनि विभिन्न शैक्षिक सामग्रीहरुको प्रदर्शन गरेका थिए । शिक्षकहरुले स्कुल तथा घरमा खेर जाने कागज, प्लाष्टिक र अन्य सामानहरुको उपयोग गरी विभिन्न खाले शैक्षिक सामग्री बनाएका थिए । त्यसरी बनाएका शैक्षिक सामग्री विद्यार्थीमैत्री र विद्यार्थीको पठनपाठन सुहाउँदो थियो । तिनै सामग्रीहरु देखेर उनले शिक्षकहरुको जाँगरको समेत प्रशंसा गरेका थिए । उनले सरकारी स्कुलका शिक्षकहरु अल्छी र जागिरे हुन्छन् भन्ने सुन्दै आएको कुरा महेन्द्रग्राम स्कुलका शिक्षकहरुले गलत सावित गर्दै आइरहेको बताए ।

यस्तै सोही विद्यालयको व्यवस्थापन समितिका सदस्य उत्तम कार्की पनि प्रदर्शनीमा सहभागी हुन आएका थिए । उनले पनि विद्यालयका शिक्षकहरु र विद्यार्थीहरुले गरेको प्रयासको तारिफ गरे । उनले अभिभावकको मनोभावना अनुसार विद्यालय सञ्चालन गरिरहेको जनाउँदै विद्यार्थी, शिक्षक, अभिभावकको साथले विद्यालय चाँगुनारायण नगरपालिकामा उत्कृष्ट शिक्षा दिने विद्यालयमा दरिएको बताए । भने, ‘पाँच वर्ष अघिसम्म डेढसयको हाराहारीमा विद्यार्थी थिए, अहिले साढे ६ सय विद्यार्थी पुगेका छन्, पढाइका साथै यस विद्यालयले भौतिक र विद्यार्थीको सर्वाङ्गीण विकासका लागि काम गरेको छ ।’

अभिभावकहरुले मात्र नभएर चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले समेत विद्यालयको शैक्षिक अभ्यास र शिक्षा क्षेत्रमा मारेको फड्कोको प्रशंसा गरे । उनले सो विद्यालयमा रहेको टीम वर्कका साथै शिक्षणप्रति इमान्दार शिक्षकहरुका कारण विद्यालयले छोटो समयमा फड्को मारेको उल्लेख गरे । उनले नगरपालिकाले शिक्षालाई प्राथमिकता दिइरहेको उल्लेख गर्दै महेन्द्रग्राम स्कुलको लागि पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

अभिभावक, स्थानीय र स्कुलका शिक्षकहरुसँगै शैक्षिक प्रदर्शनीमा सहभागी भएर उनले विद्यार्थीहरुको मेहनतलाई सधैं कायम राख्ने वातावरणका लागि विद्यालयसँग आग्रह गरे ।
विद्यार्थीहरुले विज्ञान, नेपाली, सामाजिक, स्थानीय पाठ्यक्रम, गणित र अँग्रेजी विषयका विभिन्न शैक्षिक सामग्री निर्माण गरेका थिए । शिक्षकहरुले कक्षा इसिडीका लागि आवश्यक शैक्षिक सामग्री निर्माण गरी प्रदर्शन गरेका थिए । विद्यालयका प्रधानाध्यापक सोमकुमार श्रेष्ठले विद्यालयमा वर्षभर पठनपाठन भएका विभिन्न विषयका पाठगत शैक्षिक सामग्री निर्माण गर्न लगाएर प्रदर्शनी गरिएको जानकारी दिए । सो प्रदर्शनीले विद्यार्थीको सिकाइ क्षमता र सीप मूल्यांकनमा समेत सहयोग पुगेको उनको भनाइ छ ।

उनले भने, ‘वर्षभरी सिकेका, पढेका कुरालाई व्यवहारमा देखाउने, बुझाउने अभ्यास अन्तर्गत प्रदर्शनी गरिएको हो । हामीले विद्यालय सुधार योजना(एसआइपी) मै पनि यसलाई समावेश गरेका छौं ।’ यसैगरी उनले स्थानीय पाठ्यक्रम अन्तर्गत पाककलालाई पनि प्राथमिकता दिएर प्रदर्शन गरेको जानकारी दिए ।

पाककलाका विद्यार्थीहरुले विभिन्न मौलिक खाजाहरु बनाएका थिए । उनीहरुले बारा, अण्डाबारा, नेवारी खाजा सेट, चटामारी, गुन्द्रुक, आलु, पकौडालगायतका खाजामात्र बनाएनन्, त्यसलाई बिक्री पनि गरे । ‘विद्यार्थीलाई सीपसँग र उद्यमसँग जोड्ने अभ्यास अन्तर्गत यो अभ्यास गरिएको हो’, प्रधानाध्यापक श्रेष्ठले जोडे । सोही अवसरमा विद्यालयले निःशुल्क स्वास्थ्य परीक्षण शिविर पनि गरेको थियो । अघिपछि बालबालिका पढ्ने कोठामा विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मीहरुले सेवा दिएका थिए । काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीहरुको प्राविधिक सहयोगमा विद्यालयले सो शिविर सञ्चालन गरेको विद्यालयले जनाएको छ ।

विद्यालयलाई स्थानीय समुदायसँग जोड्ने प्रयासस्वरुप गरिएको शिविरमा दन्त, जनरल मेडिसिन, हाडजोर्नी तथा नशारोग, प्रशूति तथा स्त्री रोग, छाला तथा यौन रोग, बालरोग, आँखा, नाक, कान, घाँटी, सामान्य शल्यक्रियाका साथै इसिजी सेवा, भिडियो एक्सरे सेवा र सामान्य ल्याब टेस्ट सेवा उपलब्ध गराइएको थियो । सो शिविरबाट २५० बढी लाभान्वित भएको विद्यालयले जनाएको छ ।

यसैगरी विद्यालयले रक्तदान कार्यक्रम पनि गरेको थियो । रक्तदानमा २५ जना रक्तदाताको सहभागिता रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार बुढाथोकीले विद्यालयको उन्नयनका लागि सबै पक्षबीच सहकार्य हुन जरुरी रहेको उल्लेख गर्दै त्यो वातावरण बनाउन विद्यालय लागिरहेको जानकारी दिँदै आगामी दिनमा पनि समुदायलक्षित क्रियाकलाप गर्दै जाने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको