भक्तपुर । भक्तपुरको गोल्डेन गेट ईंग्लिश सेकेण्डरी स्कूलमा प्रथम मकै घर सर्जक सम्मेलन सम्पन्न भएको छ । शिक्षामा विद्यमान खाडललाई पुर्न गोल्डेन गेट स्कूलले विद्यार्थीहरूलाई पाठकबाट विचारक, चिन्तक, लेखक, सर्जक, स्रष्टा र द्रष्टा दार्शनिक बन्न दिने अभिप्रायले ूमकै घरू को परिकल्पना गरि सम्मेलन आयोजना गरेको हो ।
स्कूलले उक्त कार्यक्रमलाई वि.सं.२०७९ देखि निरन्तरता दिइरहेको छ । ‘विद्यार्थीहरूको पाठकबाट सर्जकसम्मको रूपान्तरण यात्रा’ को दूरदृष्टिसहितको उक्त कार्यक्रमको आइतबार सम्पन्न संस्करणको उद्घाटन कवि चन्द्रबहादुर उलकले गरेका थिए ।
निरन्तर र विधागत वृहत् पठनबाट सोचाई र कल्पनाशीलताको दायरा फराकिलो बनाउँदै शिक्षक एवं सर्जकहरूको प्रशिक्षण, तालिम, कार्यशाला, सहलेखन, उत्प्रेरणा, पृष्ठपोषण तथा पूनर्लेखनबाट शतप्रतिशत विद्यार्थीहरूलाई वैयक्तिक सक्षमता अनुसारको स्वयंको कृतिसहितको सर्जक बनाउने उक्त योजना अन्तरगत सम्पन्न कार्यक्रममा कवि उलकले विद्यालयको नौलो अभ्यासको प्रशंसा गर्दै साहित्यमार्फत समाजको सेवा गर्ने साहित्य जरुरी रहेको बताए ।

सर्जक विद्यार्थीहरूको सिर्जनाले समाजको चित्रण गरेको चर्चा गरेका उनले गोल्डेन गेट स्कूलको प्रयासले नयाँ साहित्यकार जन्मिने अपेक्षा रहेको सुनाए ।‘गोल्डेन गेट स्कुलले सिद्धिचरण जन्माउने छ, बालकृष्ण सम जन्माउनेछ ।’ सो अवसरमा उनले दुईवटा कविता सुनाएका थिए ।
कार्यक्रममा लेखक तुल्सी निरौलाले विद्यालयको उक्त कामको प्रशंसा गर्दै विद्यार्थीलाई हौसला स्वरूप पुस्तक उपहार प्रदान गरे । साहित्य पठन र लेखनले विद्यार्थीको व्यक्तित्व विकासमा पुग्ने योगदान अतुलनीय रहने भएकाले विद्यार्थीलाई किताबी ज्ञानका अलावा बाहिरी पुस्तकको अध्ययन गराउन उनले जोड दिए ।
सम्मेलनमा विद्यार्थीहरूले आआफूले सिर्जना गरेका सिर्जनाहरू वाचन गरेका थिए । बाल सिर्जना सङ्ग्रहमा ६७ सिर्जनाहरू समावेश गरिएका छन् । सो सङ्ग्रहमा कथा , कविता, जीवनी, संवाद, नियात्रा, चिठी, निबन्ध, पुस्तक समीक्षालगायतका सिर्जनाहरू समावेश गरिएको छ ।
सङ्ग्रहमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीका सिर्जना समावेश गरिएको छ ।विद्यार्थीहरूले प्रस्तुत गरेका सिर्जनामाथि बाल साहित्यकार कार्तिकेय घिमिरेले सिर्जनात्मक टिप्पणी गरेका थिए । उनले गोल्डेन गेट स्कूलको असल अभ्यासको रूपमा सर्जक सम्मेलन गरिएको बताउँदै त्यसले बालबालिकाको व्यक्तित्व र क्षमता विकास हुने बताए ।
उनले फर चिल्ड्रेन, बाई चिल्ड्रेन कार्यक्रम अन्तरगत बालबालिका र शिक्षकहरूका लागि तालिम सञ्चालन गर्न सकिने बताए । उनले भाषा विकासका लागि सर्जक सम्मेलन कोशेढुङ्गा सावित भएको चर्चा गर्दै प्रस्तुत रचनाहरूको समीक्षा गरे । कार्यक्रममा सञ्चारकर्मी हरिसुन्दर छुकां, साहित्यकार ईश्वर थोकरलगायतलेप्रस्तुत सिर्जनामाथि समीक्षा गर्दै विद्यार्थीलाई प्रोस्साहित गर्नका लागि विद्यालयले चालेको कदमको सराहना गरे ।
विद्यालयका प्रिन्सिपल सिंह लामाले सर्जक सम्मेलनको विद्यार्थीमा पठन सीप र लेखन सीप विकासका लागि विद्यालयले निरन्तर रूपमा सिर्जनात्मक कार्य गरिरहेको बताए ।
विद्यालयका संस्थापक निर्देशक अन्जु जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले शिक्षाको उद्देश्य अनुसारको जनशक्ति उत्पादन गर्नका लागि विद्यालय लागिरहेको बताइन् । उनले ज्ञान र सिपको अभिवृद्धि गराउनका लागि विद्यार्थीलाई सिर्जनशील बनाउन विद्यालय लागिरहेको बताउँदै सर्जक सम्मेलनलाई निरन्तरता दिने जानकारी दिइन् । कार्यक्रममा शिक्षक / सिईओ तथा काे- फाउण्डर शिवप्रसाद श्रेष्ठले कार्यक्रमले विद्यार्थी र अभिभावकलाई दिएको सफलताबारे चर्चा गरेका थिए ।
