भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ६ स्थित क्वालिटी अंग्रेजी माध्यमिक विद्यालयको २६ औं वार्षिक उत्सवको अवसरमा विविध कार्यक्रम भएको छ ।
भक्तपुरको उत्तरपूर्वी भेगको उत्कृष्ट र गुणस्तरीय विद्यालयको छवि बनाउँदै अभिभावक तथा विद्यार्थीको मन जित्न सफल क्वालिटी ईंग्लिश सेकेण्डरी स्कुलको सो कार्यक्रम चैत्र २ गते शनिबारका दिन भत्केपाटीस्थित ख्वपः बैङ्क्वैटमा भएको हो ।
कार्यक्रममा मनोवैज्ञानिक परामर्शदाता डा. रविन कटवालले अभिभावक शिक्षाबारेमा अभिमुखिकरण गरेका थिए । ‘संस्कार सहितको शिक्षा’ विषयक अभिभावकीय शिक्षा कार्यक्रमका साथ सम्पन्न सो कार्यक्रमले अभिभावकहरुलाई मन्त्रमुग्ध बनाएको थियो । बालबालिकाहरूको असल हेरचाह कसरी गर्ने भन्ने विषयमा जानकारी दिन र त्यसलाई व्यवहारमा उतार्न सहयोग गर्ने उद्देश्यका साथ विद्यालयले वार्षिकोत्सवसँगै अभिभावक शिक्षा कार्यक्रमलाई जोडेको हो ।
राष्ट्रगानका रचनाकार प्रदिप कुमार राई ‘व्याकुल माइला’ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा उनले सम्पूर्ण विद्यार्थीले आफूमा राष्ट्रप्रेमको भाव विकास गर्नुपर्नेमा जोड दिए । उनले गत वर्षका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गर्दै देशप्रेमलाई व्यवहारमा उतार्न अनुरोध गरे । कार्यक्रममा विद्यालयकी शिक्षिका अनिता थापालाई नियमित शिक्षकको सम्मान प्रदान गरिरएको थियो ।
नेशनल प्याब्सन केन्द्रीय समितिका अध्यक्ष सुवास न्यौपाने, वरिष्ठ उपाध्यक्ष शंम्भु अधिकारी, महासचिव प्रकाश चन्द्र खड्का, काठमाण्डौका अध्यक्ष अमृत खडका तथा भक्तपुरका अध्यक्ष संजय खड्का उपस्थित कार्यक्रममा एस.इ.इ. २०८० का विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुद्वारा नृत्य तथा गायनहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल जिबी खड्काले विद्यालयको प्रगति प्रतिवदेनका साथ विद्यालयको भावी योजना प्रस्तुत गरेका थिए ।