भक्तपुर । भक्तपुरको साइनिङ्ग सकेण्डरी स्कूलको ३२ अभिभावक दिवस भव्यताका साथ सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङको पकुनेपाटीस्थित सो स्कूलको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमसहित ३२ औं अभिभावक दिवस शनिबार सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले गरेका थिए । कार्यक्रममा नेमकिपाका सचिव सुवालले एसईई २०८० उत्तीर्ण विद्यार्थीलाई कदर पत्र प्रदान गरेका थिए । विद्यालयको स्मारिकासमेत विमोचन गरिएको उक्त कार्यक्रममा सचिव सुवालले शिक्षकहरूलाई तालिम दिनुपर्ने बताए । उनले शिक्षकहरूलाई तहगत रूपमा शिक्षक तालिम, अभिभावक अभिमुखिकरण गर्नुपर्ने उल्लेख गर्दै नयाँ पुस्ता हुर्काउन अभिभावकको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा विद्यालयका उत्कृष्ट अभिभावकलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो ।
उत्कृष्ट शिक्षक सम्मानबाट सुनिता ह्यौमिखा, सुस्मिता पुरी र सुरज श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष श्यामसुन्दर धिमालले शिक्षामा बढ्दो खाडललाई पुर्नुपर्नेमा जोड दिए । उनले स्थानीय सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष ख्याल गर्नुपर्नेमा जनाउँदै त्यस निम्ति नीतिको जरुरत रहेको बताए ।
विद्यालय सञ्चालक विक्रम धुकुछुले भक्तपुरको उत्तरपूर्वी क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको साइनिङ्ग स्कूलले उक्त उद्देश्य पूरा गरिरहेको र त्यसका लागि विद्यालयले शैक्षिक, भौतिक र शैक्षणिक गतिविधिहरू अघि बढाइरहेको बताए ।
उनले खुला, शान्त र सुरक्षित वातावरणमा सञ्चालनमा रहेको विद्यालयले युग सुहाउँदो शिक्षा दिइरहेको बताए । त्यसका लागि विद्यालयले अतिरिक्त क्रियाकलापफ कमजोर विद्यार्थीलाई थप कक्षा, विद्यार्थीको क्षमता अभिवृद्धि कार्यक्रम, अभिभावक अभिमुखीकरणका साथै प्रोत्साहनका लागि सम्मान र पुरस्कार प्रदान गरिरहेको जानकारी दिए ।कार्यक्रममा विद्यालयकी प्रिन्सिपल लक्ष्मी खाताखोले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालयले शैक्षणिक क्रियाकलाप गरिरहेको बताइन् । प्रिन्सिपल खाताखोले बालमैत्री र सिकाइ मैत्री वातावरण निर्माण गरिएको जानकारी दिइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर फोजुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्का, उत्प्रेरक तुल्सीहरि प्रजापति तथा अभिभावक र विद्यार्थीले पनि विद्यालयको गतिविधिबारे चर्चा गरेका थिए । थप समाचार चाँगुपत्र साप्ताहिकमा