भक्तपुर । पनौतीकै पहिलो निजीस्तरबाट संचालित सूर्योदय माध्यमिक बोर्डिङ स्कुलले आफ्नो ४१ औं वार्षिकोत्सवको अवसरमा एसइइ सम्मान , पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा २०८० सालमा एसइइ परीक्षामा उत्कृष्ट जिपिए हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भण्डारीले सूर्योदय माध्यमिक बोर्डिङ स्कुलले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको र त्यो गुणस्तरका लागि आभिभावकहरूको पनि उल्लेखनीय भूमिका रहेको बताए । उनले एसईई परीक्षामा राम्रो नतिजा ल्याउँदा पनि सूर्योदयले सरलता देखाएको, उत्ताउलोपन नदेखाएको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि पनौती नगरका उपप्रमुख गीता बन्जाराले गुणात्मक शिक्षाका लागि सूर्योदय माध्यमिक बोर्डिङ स्कुलको प्रतिद्धता र सोही अनुसारको कामले नगरको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुगेको बताइन् ।
विद्यालयका प्रिन्सिपल सूर्यप्रसाद लाकोजूले अंग्रेजी माध्यममा पढाइने स्कुल विदेशी संस्कार सिकाउने थलो बन्न नहुने कुरा बताए । त्यस्तै नगरको शैक्षिक स्तर विकास गर्न सूर्योदयको भूमिका उल्लेखनीय रहेको विचार पनौती नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सबिन ताम्राकारले राखेका थिए ।
कार्यक्रममा खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने छात्रछात्राहरूलाई पुरस्कार वितरण गरिएको थियो भने विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरू रिजा मधिकर्मी, रिया केसी, अभिभवककातर्फबाट रमेश तिमल्सिनाले आ आफ्ना मन्तव्य व्यक्त गरेका थिए ।