भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ९ भातेढिकुरस्थित मदरल्याण्ड स्कुलमा चालू ‘बुक फ्री’ कक्षाको सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले प्रशंसा गरेकी छन् ।
विद्यालयले आयोजना गरेको अभिभावकका लागि अभिमुखीकरण कार्यक्रममा उनले विद्यालयको उक्त असल अभ्यासको प्रशंसा गरेकी हुन् । करिब ३७८ जना सहभागी भएको अभिमुखीकरणमा उनले सूर्यविनायक नगरपालिकाले भौतिक विकासका साथै मानवीय विकासलाई पनि जोड दिइरहेको बताइन् । उनले त्यस अन्तर्गत शिक्षालाई प्राथमिकतामा राखेको बताउँदै मदरल्याण्ड स्कुलले सकारात्मक अभिभावक शिक्षाको विकासका लागि सञ्चालन गरेको अभिभावक शिक्षा कार्यका लागि विद्यालयलाई धन्यवाद ज्ञापन गरिन् ।
उनले अभिभावकले हरेक दिन बालबालिकाहरुको लागि कम्तिमा १ देखि २ घण्टाको समय दिएर उनीहरुको कुरा सुन्ने र भावना बुझ्ने गरेको खण्डमा विद्यार्थीहरुको पढाइमा सुधार आउने र कुलतमा फस्ने सम्भावना कम भएको बताइन् ।
अभिमुखीकरणका प्रमुख वक्ता उत्प्रेरक विकासदेव योन्जनले अभिभावकहरुबाटै बच्चाहरुले सिक्ने भएकाले अभिभावक बच्चाका आइडल बन्नुपर्नेमा जोड दिए । उनले आफ्ना बालबालिकाहरुको सुन्दर भविष्यका लागि अभिभावकले निक्कै ख्याल गर्नुपर्ने उल्लेख गर्दै अभिभावकले असल अभिभावकत्व निभाएमा बालबालिकाहरुको भविष्य उज्ज्वल रहने चर्चा गरे ।
मन्टेश्वरी एवं ईसिडी प्रशिक्षक तथा कल्पवृक्ष एडुकेशन फाउन्डेशनकी डाइरेक्टर प्रतिक्षा गौतमले मदरल्याण्ड स्कुलले शैक्षिक वर्ष २०८१ देखि प्रि स्कुलमा पूर्ण रुपमा पाठ्यपुस्तक विना सिकाई क्रियाकलाप गर्दै आएको र यसमा आफूले कन्सलटेन्टको भूमिकामा आवद्ध हुन पाएकोमा स्कुल परिवारप्रति आभार व्यक्त गर्दै आगामी वर्ष २०८२ पनि मदरल्याण्ड स्कुलसँग सहकार्य गर्ने बताइ् ।
मदरल्याण्ड स्कूलका कार्यकारी संचालक शर्मिला देउजाको सभापतित्वमा सम्पन्न उक्त अभिमुखीकरणमा स्कुलका प्रिन्सिपल संजय खड्काले अभिभावकले बच्चालाई पढपढ मात्र भनेर दबाब दिन नहुने र कलिला बालबालिका स्कुल जान थालेपछि नै लेख्न र पढ्न सक्नु पर्ने जस्ता सोच हटाउनु पर्नेमा जोड दिए ।
उनले विद्यार्थीको क्षमता भन्दा बढी भारी बोकाउनुभन्दा सीप र व्यवहार सिकाउँदै ईसिडीबाट कक्षा १ का लागि तयारी गराउनु पर्ने बताए । प्रिन्सिपल खड्काले ६ वर्ष मूनिका बालबालिकाहरुलाई विहान ६—७ बजेदेखि नै स्कुल पठाउन नहुने, अभिभावकले विहान बेलुकीको खाना सकेसम्म परिवारसँगै खाने जसले गर्दा पारिवारिक स्नेह र महत्वले भविष्यमा आफ्ना छोराछोरीले आमाबुबालाई साथ नछोड्ने जस्ता संवेदनशील पक्षहरुको चर्चा गरेका थिए ।
विद्यालयले निरन्तर रुपमा विद्यालयका अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।