शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रभक्तपुरलाई शैक्षिक हब बनाउन निजी विद्यालयको भूमिका महत्वपूर्ण

भक्तपुरलाई शैक्षिक हब बनाउन निजी विद्यालयको भूमिका महत्वपूर्ण

भक्तपुर । भक्तपुरको रोम्वस सेकेण्डरी स्कूलको एघारौं स्थापना दिवस तथा रोम्वस नेशनल स्कुलको दोस्रो अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ ।

वि. सं. २०७० सालमा भक्तपुरको कमलविनायकमा स्थापित रोम्वस सेकेण्डरी स्कुल र २०७९ मा चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको इथाचामा सुरू गरिएको रोम्वस नेशनल स्कूलको उक्त कार्यक्रम इथाचामा भएको हो ।

विद्यार्थी, शिक्षकहरूको विभिन्न सांस्कृतिक प्रस्तुतिका सम्पन्न उक्त कार्यक्रमको उद्घाटन वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले गरेका थिए । सो क्रममा वागमती प्रदेशका स्वास्थ्यमन्त्री थापामगरले भक्तपुर शैक्षिक हबको रूपमा विकास भइरहेको बताउँदै उनले त्यो पहिचान बनाउन निजी विद्यालयले सहयोग गरिरहेको बताए । शिक्षा र स्वास्थ्यलाई सुधारका लागि भक्तपुरका जनप्रतिनिधिहरू लागिरहेको जनाउँदै उनले भक्तपुरकाका चार नगरपालिकाबीच विकासमा प्रतिस्पर्धा भइरहेको जनाए ।

जन्मथलो छाडेर भक्तपुर रोजेका व्यक्तिले पनि विकासका सबै पूर्वाधार पाउनुपर्नेमा जोड दिएका उनले वागमती प्रदेशका सबै जनताले स्वास्थ्य सेवा उपलब्ध गराउन वागमती प्रदेश लागिरहेको चर्चा गरेका थिए । ७ महिनाको अवस्थामा आफूले गरेका कामहरूको विवरण सुनाउँदै उनले प्रादेशिक अस्पतालहरूले सस्तो मूल्यमा उपचार पाइरहेको बताए । उनले भक्तपुर अस्पताल उत्कृष्ट हुँदै आइरहेको जनाउँदै अस्पतालमा सिटी स्क्यान मेसिन आइसकेको र निकट समयमै मेमोग्राम मेसिन जडान हुने बताए ।

स्वास्थ्य उपचारलाई सहज बनाउनका लागि आफू लागिरहेको उल्लेख गर्दै स्वास्थ्य मन्त्री थापामगरले शैक्षिक संस्थाजस्तो पवित्र संस्थामा कोहीले राजनीति गर्न नहुनेमा जोड दिए ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका पूर्व नगर प्रमुख सोम मिश्रले समुदायको साथ, माया र लगानीमा सञ्चालित रोम्वस नेशनल स्कुलले पुर्याएको योगदानको कदर हुने जनाए । उनले शिक्षाको ज्योति फैलाउन रोम्वस तथा डा. राजेन्द्र कोजूले गरिरहेको मेहनत प्रशंसनीय भएको उल्लेख गर्दै भक्तपुरलाई शिक्षाको हिसाबले नमूना बनाउन सबै पक्ष लाग्नुपर्ने औंल्याए ।
कार्यक्रममा आईएसओ प्रदायक संस्थाका सिईओ सैलेन्द्र खरेलले रोम्वस स्कुलले भक्तपुरमा रहेका विद्यालयहरुमध्ये फरक अभ्यास गरिरहेको र उक्त फरक अभ्यासलाई सीप र समय सुहाउँदो बनाउन स्कुलले पाएको आइएसओ प्रमाणत्रपले थप सहयोग पुग्ने उल्लेख गरे ।

उनले आइएसओ पाइसकेपछि विद्यालयको भौतिक पूर्वाधारका साथै शैक्षिक गुणस्तर वद्धि गर्न पनि सहयोग पुग्ने र त्यसका लागि आफूले सहजीकरण गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका शिक्षा समितिका सदस्य घनश्याम खड्काले समुदायको आवश्यकता अनुसार स्थापित रोम्वस स्कूललाई कुनै प्रशासनिक दुः ख दिन नहुने बताए । उनले शिक्षामा सीप, संस्कार र सिर्जनालाई जोड्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै रोम्वसको शैक्षिक प्रगतिका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्दता जनाए । उनले विद्यालयको स्थानान्तरण र कक्षा थपका लागि सहजीकरण समेत गर्ने बताए ।

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल डा. राजेन्द्र कोजूले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको प्रगति र उन्नतिमा साथ दिने सबैलाई धन्यवाद व्यक्त गरे । उनले विद्यालयले विभिन्न संघसंस्थासँग सहकार्य गरी उक्त सहकार्यलाई विद्यार्थीको पढाइ र भविष्यसँग जोडिरहेको उल्लेख गरे ।

गुणस्तरीय शिक्षालाई जोड दिँदै आएको रोम्वस स्कुलले प्रत्येक विद्यार्थीलाई सीपयुक्त बनाउन, संस्कारयुक्त बनाउनका लागि सीप कक्षा र सांस्कृतिक संस्कारसँग जोडिएका विषयलाई उच्च प्राथमिकता दिइरहेको उनको भनाइ छ ।

कार्यक्रममा वक्ताका रुपमा रहेका अभिभावक तथा विद्यार्थीहरुले ताथलीको इथाचामा रोम्वस स्कुल स्थापनाका कारण आफूहरूलाई सहज भएको बताए । उनीहरुले रोम्वस स्कुलको सुरुवातसँगै उक्त ठाउँको मुहार नै बदलिएको उल्लेख गरे ।

विव्यस सभापति कृष्णराज सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य, नाटक प्रस्तुत गरेका थिए । विद्यार्थीहरूको प्रस्तुति हेरेर अभिभावक दंग परेका थिए । कार्यक्रममा मनासिब बचत तथा ऋण सहकारी संस्था र विद्यालयबीच भएको एमओयु पत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा विद्यालयको कक्षागत रुपमा प्रथम, दोस्रो र तेस्रो भएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

थप चाँगुपत्र साप्ताहिकमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको