शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentशिक्षाविमल स्कुलले सूर्यविनायकको शान बढाएको छ : उपप्रमुख भट्टराई

विमल स्कुलले सूर्यविनायकको शान बढाएको छ : उपप्रमुख भट्टराई

भक्तपुर । विमल मेमोरियल विद्यापीठको १९ औं पुरस्कार वितरण तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० जोरपाटीस्थित सो विद्यालयको १९ औं पुरस्कार वितरण तथा अभिभावक दिवस गत फागुन ३ गते शनिबार सम्पन्न भएको हो । एसईई र बिएलई परीक्षामा हालसम्म शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयको छवि बनाएको उक्त विद्यालयको सो कार्यक्रमको उद्घाटन सूर्यविनायक नगरपालिकाकी उपनगरप्रमुख सरिता तिम्सिना भट्टराईले फूलको बोटसहितको गमलामा पानी दिएर गरेकी थिइन् ।

सो क्रममा उनले चित्तपोलस्थित उक्त विद्यालयको सफलताको कामना गर्दै सूर्यविनायकलाई चिनाउने काममा विद्यालय लागिरहेकोमा खुसी व्यक्त गरिन् । उनले विमल मेमोरियल विद्यापीठको मौलिक विशेषता भएको उल्लेख गदै सूर्यविनायकमा रहेका ९४ वटाभन्दा बढी विद्यालयहरुमध्ये विमल स्कुलको बेग्लै पहिचान भएको जनाए । उनले स्कुलको कारण सूर्यविनायक नगरपालिकाको समेत पहिचान बढेको बताउँदै विद्यालयको प्रगतिको कामना गरिन् ।

विद्यालयका विद्यार्थीहरुलाई पुरस्कृत गरेका उनले सूर्यविनायक नगरपालिकाले शिक्षा र बालबालिकाको क्षेत्रमा उल्लेखनीय काम गर्दै गरेको जानकारी दिँदै वि. सं. २०८३ सालमा नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने तयारीमा लागेको जानकारी दिइन् ।

नगरपालिकाले शिक्षामा सुधारका लागि नियमित अनुगमन गरिरहेको र कार्यविधि बनाएर प्रधानाध्यापक र शिक्षकसँग करार गरिएको चर्चा गर्दै विद्यार्थीको पढाइका लागि विद्यालयको मात्र नभई अभिभावकको भूमिका सबैभन्दा महत्वपूर्ण हुनेमा जोड दिइन् ।

विद्याथीको पढाइ र चरित्र सुधारका लागि अभिभावकले सकारात्मक भूमिका निर्वाह गर्न अनुरोध गरेकी उनले शिक्षा सुधारका लागि सामुहिक एकता जरुरी रहेको बताइन् ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा न. १० का वडा अध्यक्ष शिवराम राउतले विमल मेमोरियल स्कुलले चित्तपोलको शैक्षिकस्तर उकास्नका लागि सहयोग गरेकोमा धन्यवाद दिँदै विद्यालयका लागि वडा कार्यालयबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

नगरपालिकाले भौतिक विकासका साथै मानवीय विकासमा पनि जोड दिइरहेको चर्चा गर्दै उनले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिइरहेको बताए ।

कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विद्यार्थीको भविष्य निर्माणका लागि अभिभावकहरुको भूमिका सबैभन्दा महत्वपूर्ण हुने भएकाले अभिभावक सचेत र सजग हुनुपर्ने बताए । उनले अभिभावकले सकारात्मक भूमिका निर्वाह गरेको अवस्थामा मात्र विद्यार्थीको सर्वाङ्गीण विकास हुने चर्चा गरे ।

शहर बजारमा अनेकौं किसिमका विद्यालयहरु रहेको उल्लेख गर्दै ती विद्यालयहरु नियमसम्मत भए/नभएको बुझेर, बालमैत्री सिकाइ हुने/नहुने बुझेरमात्र विद्यालय छनोट गर्न र लहलहैमा विद्यालय छान्ने र छाड्ने गर्न नहुने उनको भनाइ थियो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल कुमार थापामगरले विद्यालयको प्रगति प्रतिवेदन तथा विद्यालयको भावी कार्यक्रम प्रस्तुत गरे । उनले शान्ति, प्रगति र समृद्धिका लागि शिक्षा भन्ने नाराका साथ स्थापित विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए ।

हाल सो स्कुलमा कक्षा नर्सरीदेखि कक्षा १० सम्म गरी कूल ४२८ विद्यार्थी अध्ययनरत छन् भने ३१ शिक्षकशिक्षिका अध्यापनरत र ६ जना कर्मचारी कार्यरत छन् ।
नेशनल प्याब्सनका केन्द्रीय सहकोषाध्यक्ष विक्रम धुकुछु, नेशनल प्याब्सन भक्तपुरका उपाध्यक्ष शिवकृष्ण कवां, कोषाध्यक्ष विक्रम थापा, एसईई ब्याच २०८० का विद्यार्थी करूणा कार्कीलगायतले शुभकामना मन्तव्य दिएको सो कार्यक्रम विद्यालय सञ्चालक समितिका अध्यक्ष कमल कार्कीको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा विद्यार्थीहरु गायन, नृत्यलगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।

यी हुन् विद्यालयका भावी योजना

  • शैक्षिक सत्र २०८२ देखि पाँचवटा कक्षाकोठा, थप आठवटा शौचालय र २०० जना अट्ने सभाहल सञ्चालन गर्ने ।
    शिक्षक कर्मचारीको कार्यदक्षता अभिवृद्धिका लागि आवश्यक विषयगत तालिम सञ्चालन
    पूर्व प्राथमिक तहमा महन्टेश्वरी तालिम नियमित रुपमा सञ्चालन
    नृत्य, संगीत, चित्रकला, हस्तलेखन, स्काउटका कक्षाहरु प्रभावकारी रुपमा निरन्तरता दिँदै खेलकुदलाई थप व्यवस्थित बनाइने
    कमजोर विद्यार्थीका लागि आवश्यक शैक्षिक व्यवस्थापन गर्ने ।
    शैक्षिक वर्ष २०८२ बाट विद्यालयले महिनाको अन्तिम आइतबार बिदा नगरी नियमित कक्षा सञ्चालन गर्ने
    विद्यालयका सम्पूर्ण कक्षा र हाताभित्र सिसिटिभी क्यामेरा जडान गर्ने साथै डिजिटल ब्रोडकास्टिङ प्रणाली लागू गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको