सोमवार, जेष्ठ ११, २०८३

20.1 C
Bhaktapur
सोमवार, जेष्ठ ११, २०८३
20.1 C
Bhaktapur
HomeNews Contentखोेज/फिचरभक्तपुरका चार नगरपालिकाको बेरूजु करोडौंमा, सबैभन्दा बढी चाँगुनारायणको र कम सूर्यविनायकको

भक्तपुरका चार नगरपालिकाको बेरूजु करोडौंमा, सबैभन्दा बढी चाँगुनारायणको र कम सूर्यविनायकको

सबैभन्दा बढी बेरूजु प्रतिशत चाँगुनारायण नगरपालिकाको देखिएको छ भने सबैभन्दा कम प्रतिशत सूर्यविनायक नगरपालिकाको रहेको छ।

भक्तपुर । आर्थिक वर्ष २०८१/०८२ मा भक्तपुर जिल्लाका चारवटा नगरपालिकाहरूमा करोडौं रुपैयाँ बेरूजु देखिएको छ। सार्वजनिक लेखा प्रणालीलाई पारदर्शी बनाउने प्रयास भइरहेका बेला जिल्लाका स्थानीय तहहरूमा आर्थिक अनुशासनको अवस्था अझै कमजोर रहेको तथ्याङ्कले देखाएको छ।
प्राप्त विवरण अनुसार कुल बजेटको अनुपातमा सबैभन्दा बढी बेरूजु प्रतिशत चाँगुनारायण नगरपालिकाको देखिएको छ भने सबैभन्दा कम प्रतिशत सूर्यविनायक नगरपालिकाको रहेको छ।

कुन नगरपालिकाको अवस्था कस्तो ? ( रुपैयाँमा)

  • चाँगुनारायण नगरपालिका: कुल ३७ करोड ५४ लाख ९२ हजार रुपैयाँको विवरणमा यस नगरपालिकाको बेरूजु २.२३ प्रतिशत अर्थात् ८ करोड ३५ लाख ७० हजार रुपैयाँ देखिएको छ, जुन जिल्लाकै उच्च अनुपात हो।
  • भक्तपुर नगरपालिका: बजेटको आकारका हिसाबले सबैभन्दा ठूलो (४४ करोड ९१ लाख ५० हजार ३ सय रुपैयाँ) रहेको यस नगरपालिकामा रकमका आधारमा सबैभन्दा बढी बेरूजु छ। यसको बेरूजु १.९२ प्रतिशत अर्थात् ८ करोड ६२ लाख ६२ हजार रुपैयाँ रहेको छ।
  • मध्यपुर थिमी नगरपालिका: कुल ३१ करोड ९२ लाख ४३ हजार रुपैयाँको लेखापरीक्षणमा यस नगरपालिकाको बेरूजु १.२८ प्रतिशत अर्थात् ४ करोड ८ लाख रुपैयाँ कायम भएको छ।
  • सूर्यविनायक नगरपालिका: आर्थिक वर्ष २०८१/०८२ मा सूर्यविनायक नगरपालिकाले जिल्लामै सबैभन्दा कम बेरूजु प्रतिशत कायम गर्न सफल भएको छ। ३६ करोड ५७ लाख ४१ हजार ३ सय रुपैयाँको बजेट/रकममा यसको बेरूजु १.०२ प्रतिशत अर्थात् ३ करोड ७३ लाख ५९ हजार रुपैयाँ मात्र रहेको छ।

फर्छ्यौट र बाँकी रकमको चुनौती

तथ्याङ्क अनुसार नगरपालिकाहरूले बेरूजु फर्छ्यौट प्रक्रियालाई पनि तीव्रता दिएका छन्। जसमध्ये सूर्यविनायक नगरपालिकाले ८ करोड ७८ लाख ७७ हजार २ सय रुपैयाँ र मध्यपुर थिमीले ६ करोड १३ लाख ३४ हजार ७ सय रुपैयाँ फर्छ्यौट वा मिलानको प्रक्रियामा राखेका छन्।
स्थानीय तहहरूमा प्रक्रिया नपुर्‍याई खर्च गर्ने, समयमा पेस्की फर्स्याेट नगर्ने र कागजात नपुर्‍याउने परिपाटीका कारण हरेक वर्ष बेरूजुको अङ्क थपिँदै गएको विज्ञहरू बताउँछन्। आगामी दिनमा आर्थिक सुशासन र कानुनी प्रक्रियाको पूर्ण पालना नगरे स्थानीय तहप्रतिको जनविश्वास घट्न सक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको