भक्तपुर । चाँगुनारायण नगरपालिका–७, खरिपाटीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत नतिजा हासिल गरेको छ।
विद्यालयबाट परीक्षामा सहभागी ३१ जना विद्यार्थी सबै उत्तीर्ण भएका हुन्। विद्यालयका प्रधानाध्यापक श्याम श्रेष्ठ का अनुसार यस वर्ष विद्यालयले उत्साहजनक नतिजा हासिल गरेको हो।
विद्यालयको सर्वाधिक जीपीए ३.८० रहेको छ। त्यसैगरी ३ जना विद्यार्थीले ३.६० भन्दा माथि जीपीए प्राप्त गरेका छन् भने ८ जना विद्यार्थीले ३.२ देखि ३.६० सम्म जीपीए ल्याएका छन्।
विद्यालयले सामूहिक मेहनत, शिक्षक–अभिभावकको सहकार्य तथा विद्यार्थीहरूको लगनशीलताका कारण उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको जनाएको छ। विद्यालय परिवारले सफल विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धिका लागि प्रेरित गरेको छ।



