भक्तपुर । कमलविनायकस्थित Rhombus Secondary School मा विद्यार्थीहरूका लागि ट्राफिक सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
ट्राफिक प्रहरी टोली भक्तपुरकाे सहयोग र सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो। विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई सडक सुरक्षासम्बन्धी आधारभूत नियम, ट्राफिक संकेतहरूको अर्थ, सडक पार गर्ने सही तरिका, सवारी साधन प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी तथा अनुशासित नागरिकको भूमिकाबारे जानकारी दिइएको थियो।
कार्यक्रममा ट्राफिक प्रहरीले दैनिक जीवनमा ट्राफिक नियम पालना गर्नुको महत्त्वबारे व्यवहारिक उदाहरणसहित प्रशिक्षण दिएका थिए। विद्यालय आउने–जाने क्रममा विद्यार्थीहरूले अपनाउनुपर्ने सुरक्षा सतर्कता, जेब्राक्रसको प्रयोग, हेल्मेट तथा सिटबेल्टको आवश्यकता लगायतका विषयमा समेत सचेतना प्रदान गरिएको थियो।
विद्यालयका प्रिन्सिपल डा. राजेन्द्र कोजूले विद्यार्थीहरूमा सानैदेखि ट्राफिक अनुशासन र सामाजिक जिम्मेवारीको भावना विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। उनले व्यवहारिक शिक्षासँगै सचेतनामूलक कार्यक्रमले विद्यार्थीलाई जिम्मेवार र सचेत नागरिक बन्न प्रेरित गर्ने उल्लेख गरे।
कार्यक्रममा शिक्षक जनकराज कार्की तथा ईसिए इन्चार्ज सागर बस्नेतको सक्रिय समन्वय रहेको थियो। उनीहरूले विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलाप तथा जीवनोपयोगी शिक्षालाई निरन्तर प्राथमिकता दिँदै आएको जानकारी दिए।
विद्यार्थीहरूको उत्साहपूर्ण सहभागितासहित सम्पन्न कार्यक्रममा प्रश्नोत्तर तथा अन्तरक्रियात्मक छलफलसमेत गरिएको थियो। विद्यालयले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक तथा व्यवहारिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।



