मङ्लबार, जेष्ठ १२, २०८३

18.1 C
Bhaktapur
मङ्लबार, जेष्ठ १२, २०८३
18.1 C
Bhaktapur
HomeNews Contentशिक्षाएसएस सदनमा लोकतान्त्रिक अभ्यासमार्फत प्रतिनिधि चयन

एसएस सदनमा लोकतान्त्रिक अभ्यासमार्फत प्रतिनिधि चयन

भक्तपुर । ताथलीस्थित एसएस सदन सेकेण्डरी स्कुलमा विद्यार्थीहरूले लोकतान्त्रिक अभ्यासमार्फत आफ्ना प्रतिनिधि चयन गरेका छन्। विद्यालयमा आयोजित निर्वाचन कार्यक्रमअन्तर्गत स्कुल क्याप्टेन, भाइस क्याप्टेन, एसेम्ब्ली क्याप्टेन, भाइस एसेम्ब्ली क्याप्टेन तथा विभिन्न हाउस क्याप्टेनहरू चयन गरिएको हो।

विद्यालय परिसरमै सञ्चालन गरिएको निर्वाचनमा विद्यार्थीहरू उत्साहपूर्वक सहभागी भएका थिए। मतदान प्रक्रियामा विद्यार्थीहरू मतदाता बनेर आफ्ना प्रतिनिधि छान्दा विद्यालय परिसर नै लोकतान्त्रिक अभ्यासस्थलझैँ बनेको थियो। विद्यार्थीहरूले गोप्य मतदानमार्फत आफ्ना उम्मेदवार चयन गरेका थिए।

कार्यक्रमका संयोजक कुमार थापाले विद्यालयस्तरमै निर्वाचन गराइनुले विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध र लोकतान्त्रिक संस्कार विकास हुने बताए। उनका अनुसार मतदानको अधिकार, आफ्नो प्रतिनिधि चयन गर्ने प्रक्रिया तथा निष्पक्ष प्रतिस्पर्धाको महत्व विद्यार्थीले व्यवहारिक रूपमा सिक्ने अवसर पाएका छन्।

विद्यालयका प्रिन्सिपल प्रदिप थापाले विद्यार्थीलाई जिम्मेवार नागरिक बन्न सिकाउने उद्देश्यले पाठ्यपुस्तकमा सीमित लोकतान्त्रिक अभ्यासलाई व्यवहारमा उतारिएको बताए। उनले लोकतन्त्रको आधार नै मतदाताको सचेत सहभागिता भएकाले विद्यालय तहदेखि नै निर्वाचनको महत्व बुझाउन आवश्यक रहेको उल्लेख गरे।

विद्यालयका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सहकार्य, अनुशासन, नेतृत्व तथा पारदर्शी प्रक्रियाप्रति विश्वास बढाउने अपेक्षा गरिएको छ। निर्वाचन सम्पन्न भएपछि विजयी विद्यार्थी प्रतिनिधिहरूलाई बधाई दिइएको थियो भने सहभागी सबै विद्यार्थीलाई लोकतान्त्रिक अभ्यासको महत्वबारे जानकारी गराइएको थियो।

विद्यालयमा सम्पन्न यस अभ्यासले विद्यार्थीहरूलाई केवल प्रतिनिधि चयन गर्ने अवसर मात्रै नभई भविष्यमा जिम्मेवार नागरिकका रूपमा समाज र राष्ट्रप्रति उत्तरदायी बन्ने पाठसमेत सिकाएको विद्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको