भक्तपुर । भक्तपुरका सरकारी विद्यालयहरूले निजी स्रोतबाट नियुक्त शिक्षकहरूलाई धमाधम हटाउन थालेका छन्। सरकारले अघि सारेको निःशुल्क शिक्षा नीति कार्यान्वयन गर्दै स्थानीय तहले विद्यालयलाई अतिरिक्त शुल्क नउठाउन निर्देशन दिएपछि यस्तो अवस्था आएको हो।
पहिले सरकारी दरबन्दी अपुग हुँदा विद्यालयहरूले निजी शिक्षक राख्दै विद्यार्थीबाट उठाइने शुल्ककै आधारमा सञ्चालन खर्च धान्दै आएका थिए। तर अहिले शुल्क उठाउन रोक लागेपछि विद्यालयहरू आम्दानीविहीन बनेका छन्, जसले गर्दा खर्च कटौती गर्दै निजी शिक्षक हटाउन बाध्य भएका छन्।
यसले विद्यालय सञ्चालनमै समस्या देखिएको छ। दैनिक प्रशासन, सरसफाइ, मर्मत, विद्यालय बस र अन्य सेवाहरू कसरी चलाउने भन्ने अन्योल बढेको छ। प्रधानाध्यापकहरूले “विद्यालय चलाउने पैसा कहाँबाट आउँछ?” भन्ने प्रश्न उठाउन थालेका छन्।
निजी शिक्षक हटाइँदा कक्षागत पठनपाठनमा पनि असर पर्ने देखिएको छ। सरकारी दरबन्दीका शिक्षक मात्र पर्याप्त नहुँदा विद्यार्थीको सिकाइ कमजोर हुने चिन्ता बढेको छ।
वर्षौँदेखि कार्यरत निजी शिक्षकहरू भने रोजगारी गुम्दा समस्यामा परेका छन्। उनीहरूलाई कुनै वैकल्पिक व्यवस्था वा क्षतिपूर्ति नदिइ हटाइएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ।
शिक्षा क्षेत्रका सरोकारवालाहरूले निःशुल्क शिक्षा कार्यान्वयनसँगै आवश्यक बजेट र जनशक्ति व्यवस्थापन नहुँदा विद्यालयहरू संकटमा परेको टिप्पणी गरेका छन्।
विस्तृत चाँगुपत्र साप्ताहिकमा…



