भक्तपुर ।ख्वप सांस्कृतिक विश्वविद्यालय र समग्र शिक्षाक्षेत्रका विविध विषयमा भक्तपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। Rhombus Secondary School (प्लस टु) को आयोजनामा भएको कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा शिक्षाकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल डा. राजेन्द्र कोजुले ख्वप सांस्कृतिक विश्वविद्यालयको अवधारणा प्रस्तुत गर्दै यसले भक्तपुरको शैक्षिक तथा सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले स्थानीय कला, संस्कृति र मौलिक पहिचानलाई संरक्षण गर्दै शिक्षा प्रणालीलाई व्यवहारिक र समयसापेक्ष बनाउने उद्देश्य रहेको बताए।
अन्तरक्रियामा सहभागी शिक्षाकर्मीहरूले शिक्षाको गुणस्तर, नीतिगत समस्या, प्रविधिको प्रयोग, अभिभावकको भूमिका र विद्यार्थीको भविष्य निर्माण जस्ता विषयमा धारणा राखेका थिए। महेन्द्रग्राम माविका प्रधानाध्यापक सोम श्रेष्ठले स्थानीय विद्यालयमै गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औंल्याउँदै सामुदायिक विद्यालयबीच सहकार्य र समन्वय अपरिहार्य भएको बताए।
क्वालिटी सेकेण्डरी स्कुलका प्रिन्सिपल तथा एनप्याब्सनका केन्द्रीय उपमहासचिव जीबी खड्काले शैक्षिक उन्नयनमा नीतिगत कमजोरी, विभेदकारी व्यवस्था र अभिभावकको उदासीनता प्रमुख चुनौती भएको बताए। उनले सूचना–प्रविधिसँग जोडिएको आधुनिक शिक्षण पद्धति अपनाउनुपर्नेमा जोड दिए।
देवी माविका प्रधानाध्यापक चन्द्रबहादुर थुयाजुले नैतिक शिक्षा र जिम्मेवार नागरिक उत्पादनमा जोड दिँदै शिक्षामा सुधारका लागि बौद्धिक बहस आवश्यक रहेको बताए। त्यस्तै, शिक्षाकर्मी नरेन्द्र जिसीले शिक्षा र श्रमलाई जोड्ने, आत्मनिर्भर र स्वावलम्बी विद्यार्थी उत्पादन गर्ने दिशामा ध्यान दिनुपर्ने धारणा राखे।
कार्यक्रममा सहभागीहरूले साझा समस्या, असल अभ्यास र सहकार्यका सम्भावनाबारे छलफल गर्दै यस्ता कार्यक्रमले शिक्षाक्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।



