भक्तपुर । चाँगुनारायण नगरपालिका क्षेत्रमा सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको ७ दिने ‘ABL Teacher Training–2026’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। New Generation Nepal को आयोजनामा सम्पन्न उक्त तालिममा १० वटा विद्यालयका ३० जना शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।
तालिम अवधिभर सहभागी शिक्षकहरूले शिक्षण सामग्री निर्माण (Material Making) मा व्यावहारिक अभ्यास गरेका थिए। विद्यार्थीमैत्री तथा विषयवस्तु केन्द्रित सामग्री कसरी तयार गर्ने भन्ने विषयमा विस्तृत रूपमा प्रशिक्षण दिइएको थियो। निर्माण गरिएका सामग्रीहरूको प्रयोग गर्दै माइक्रो टिचिङ (Micro Teaching) तथा सामग्री प्रदर्शन (Material Demonstration) समेत गरिएको थियो। यसले शिक्षकहरूलाई आफ्नै कक्षाकोठामा प्रयोग गर्न सकिने नयाँ विधि र सीप विकास गर्न सहयोग पुगेको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा सिकाइ प्रक्रियालाई सक्रिय, सहभागीमुखी र व्यवहारिक बनाउने ‘Activity Based Learning (ABL)’ पद्धतिबारे विशेष जोड दिइएको थियो। प्रशिक्षकहरूले ABL विधि प्रयोग गर्दा विद्यार्थीको सहभागिता बढ्ने, सिकाइ दिगो हुने तथा कक्षा वातावरण अझ आकर्षक बन्ने बताएका थिए। यस तालिमपछि सहभागी शिक्षकहरूले आफ्ना विद्यालयमा नयाँ अभ्यास सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नं. २ का अध्यक्ष सोम प्रसाद प्रधानको उपस्थिति रहेको थियो। उहाँले यस्ता तालिमहरूले शिक्षकको क्षमता अभिवृद्धि गरी सामुदायिक विद्यालयको समग्र गुणस्तर सुधारमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) का अध्यक्ष प्रलाद बनियाँको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक इन्द्रमणि गिरीले स्वागत मन्तव्य राख्दै तालिमले शिक्षकहरूलाई व्यवहारिक शिक्षण सीपमा सुदृढ बनाउने बताउनुभयो।
कार्यक्रम सञ्चालन दामोदर न्यौपानेले गर्नुभएको थियो। साथै, चाँगुनारायण नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको तर्फबाट रञ्जना सापकोटा अतिथिको रूपमा सहभागी भई स्थानीय तहले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रम सफल बनाउन चाँगुनारायण नगरपालिका, सम्बन्धित वडा कार्यालय, शिक्षा तथा खेलकुद शाखा, विद्यालय व्यवस्थापन समिति तथा सम्पूर्ण विद्यालय परिवारको महत्वपूर्ण सहयोग रहेको आयोजकले जनाएको छ। उक्त तालिम स्विट्जरल्याण्डस्थित Diga Foundation को सहयोगमा सञ्चालन गरिएको हो।
आयोजक संस्था New Generation Nepal का अध्यक्ष राजमान रमाङ को नेतृत्वमा सम्पन्न भएको यस तालिमले सामुदायिक विद्यालयहरूमा शिक्षण–सिकाइ प्रक्रियामा नवप्रयोग भित्र्याउने, शिक्षकको क्षमता विकास गर्ने तथा समग्र शैक्षिक गुणस्तर सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
