भक्तपुर । Lions Club of Bhaktapur Doctors को आयोजनामा कमलविनायकस्थित पारागन एकेडेमी (इंग्लिश से. बो. स्कुल) मा एक दिवसीय व्यापक विद्यालय स्वास्थ्य शिविर सम्पन्न भएको छ।
विद्यालय समुदायको समग्र स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त विद्यालय स्वास्थ्य शिविर (आँखा, दन्त तथा मधुमेह परीक्षण) मा विद्यार्थी, अभिभावक तथा शिक्षक–शिक्षिकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। शिविरमा विशेषज्ञ स्वास्थ्यकर्मीहरूको टोलीले आधुनिक उपकरणमार्फत सेवा प्रदान गरेको थियो।
कार्यक्रम अन्तर्गत ३०० भन्दा बढी विद्यार्थीहरूको दाँत परीक्षण गरिएको थियो भने १०० भन्दा बढी अभिभावक तथा शिक्षक–शिक्षिकाहरूको निःशुल्क सुगर (मधुमेह) परीक्षण गरिएको थियो। साथै, सहभागीहरूको आँखाको परीक्षण गरी आवश्यक परामर्श समेत प्रदान गरिएको थियो।
उक्त शिविर Bhaktapur Frontliners को सहयोग तथा Aarogya Laboratories को प्राविधिक सहकार्यमा सम्पन्न भएको हो।
यसै सन्दर्भमा विद्यालयका प्रिन्सिपल पुण्यराम कवांले एकेडेमीको शैक्षिक उपलब्धिबारे प्रकाश पारे । उनका अनुसार यसले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै सक्षम जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको पुष्टि गर्दछ।
स्वास्थ्य शिविरले विद्यालय तहमा स्वास्थ्य परीक्षणको पहुँच विस्तार गर्नुका साथै विद्यार्थी र अभिभावकमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुर्याएको आयोजकले जनाएको छ।
