बिहिबार, बैशाख ३, २०८३

25.1 C
Bhaktapur
बिहिबार, बैशाख ३, २०८३
25.1 C
Bhaktapur
HomeNews Contentविचारप्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुका नाममा खुल्लापत्र…

प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुका नाममा खुल्लापत्र…

नमस्कार अभिवादन !!

१. सर्वप्रथमतः तपाई हरुको सुस्वास्थ्यको कामना गर्दछु। शरीर स्वस्थ भएमामात्र मष्तिस्क स्वच्छ र सक्रिय हुन्छ । अनि, स्वच्छ मष्तिस्क भनेकै संतुलित दिमाग हो। संतुलित दिमागबाटै असल बिचारहरु उब्जन्छन् । राम्रा र सहि चिन्तन र दृष्टिकोणबाट मात्र राष्ट्र समृद्धी बन्ने हो। तसर्थ, यहाँ धेरै औपचारिकताका शब्दहरु भन्दा पनि विषयमा प्रवेश गर्दै छु । छरपष्ट विषयहरु उठाएर दिक्क बनाउने भन्दा पनि शिक्षाका सामयिक र सान्दर्भिक सवालहरुमा केन्द्रित रहने प्रयत्न गरेको छु । एउटै विषयमा कति वर्ष बचनवद्ध बन्नुहुन्छ ? पूरा नभए सम्म त उहि विषय भनिरहनु पर्यो नि भनेर उहि कुरा दोहर्याएर कति पटक भोट माग्न जानुहुन्छ ? मैले जितेपछि यो गर्छु र उ गर्छु भनेर किन फटाहाको पदवी भिर्नुहुन्छ ? गर्न सकिने र सम्भव भएका कुरामात्र गर्ने बानी गर्नुहोस। आकाशका तारा झार्ने प्रकारका वाहियात गफमा कतिलाई कहिलेसम्म ढाँटीरहनुहुन्छ? गर्न नसकिने धेरै कुरा भन्दा गर्न सकिने थोरै भनेहुन्छ ।

२. विद्यालय शिक्षा ऐन बेचेर कति वर्ष खानुहुन्छ? नयाँ शिक्षा ऐनमा यो वा त्यो समावेश गर्ने, शिक्षक कर्मचारीका मागहरु सम्बोधन गर्ने भनेर सहमती गरिएका कुराहरु म ल्याएरै छाड्छु भनेर एक पुस्ता नै बितेको पनि स्मरण गर्नुहुन्छ कि ? सीपमूलक प्राविधिक शिक्षा प्रणालीको मर्म आत्मसात गरि नयाँ पुस्ताको भावना समेटेर विद्यालय शिक्षा ऐन ल्याउने प्रतिवद्धता बिगतमा गरेको बिर्सनुभयो ? अस्तव्यस्त र परम्परागत उच्च शिक्षालाई व्यवस्थित गर्न विश्वविद्यालय छाता ऐन ल्याउने भनेर बोलेको मात्र हैन, सरकारको नीति तथा कार्यक्रममा समेटेर बजेट समेत विनियोजन भएका कुराहरु याद छ कि छैन ? यी ऐनहरु ल्याउन तपाईंहरुलाई कस्ले रोक्यो ? तयार भै सकेको भनिएको विद्यालय शिक्षा ऐन जारी नगर्न कस्को स्वार्थले तपाई रोकिनुभयो? दर्जनी पटक बनेका आयोगका प्रतिवेदनहरु कस्ले र किन धोती लगायो ? वि.सं. २०२८ के शिक्षा ऐनलाई टालटुल गर्दै आधा शताब्दि बितिसक्दा पनि थोरै लज्जा महसुस भएन? यो अवधिमा देशको राजनीतिक प्रणाली फेरिए। सरकार फेरिए। मन्त्री फेरिए। तपाई कति पटक सांसद बन्नुभयो? आखिर जरुरी थिएन भने शिक्षा ऐन ल्याउँछु र शिक्षामा आमूल परिवर्तनको नारा किन भन्नुभयो ? ३. नेपाललाई स्वीटजरलैण्ड बनाउने, जापान बनाउने अमेरिका बनाउने र बेलायत बनाउने भनेर बारम्बार बोल्नुभएको हैन ? नेपाललाई त नेपाल बनाउने र नेपालकै पहिचानले विश्वमा चिनाउने हैन र? वर्षेनी लाखाैं युवा पढाईका लागि भनेर बिदेशमा जाँदा तपाईको मुटु चसक्क भएन ? शिक्षाको शिर्षकमा अरबौं रुपैया बाहिरिदा तपाईंलाई कत्ति पनि असर परेन ? यो मुलुकका लागि आवश्यक जनशक्तीको पलायनका सवालमा पटक्कै चिन्ता लागेन ? यो युवाशक्तीको बैदेशिक पलायनमा हाम्रो शिक्षा प्रणाली नै कारक हो भन्नेमा अझै विमति छ र? यदि यहाँको शिक्षा साँच्चै जीवनोपयोगी र सीपमूलक भएको भए पढ्‌नै भनेर बिदेश कति जना जान्थे, अनुमान गर्न सकिन्छ। हामी कहाँ चुक्यौ भनेर सोच्ने फुर्सद तपाईहरुलाई किन भएन? कक्षा १२ उत्तीर्ण गरेपछि ६० प्रतिशत भन्दा बहिले थप अध्ययनका लागि बिदेश नै जाने भनेर कक्षा ६ पढ्‌दै गर्दा देखि नै बालबालिकाले योजना बनाई रहेका अवस्थाबाट थाहा नै नपाएको जस्तो अभिनय किन गर्नुहुन्छ? अन्यथा, करिब ३ लाख विद्यार्थीले वर्षेनी कक्षा १२ उत्तीर्ण गरेका छन् तर नेपालका कलेजहरुमा स्नतकतहमा करिब १ लाख विद्यार्थी मात्र मुस्किलले भर्ना भएको त स्विकार्नु हुन्छ नि? बाँकी विद्यार्थीका प्रतिनिधिहरुसँग तपाईको अन्तरक्रिया किन हुन सकेन? अध्ययन भिजामा गएकाहरु कति फर्किएका छन् र कति उतै स्थायी रुपले बसेका छन् भन्ने तथ्याङ्क त तपाईसँग होला ।

४. सीप र ज्ञानको संगम शिक्षा हो भनेर भाषण गरेको बिर्सनु भयो ? शिक्षालाई श्रमसंग जोड्छौ र त्यो श्रम, सीपमा आधारित हुने छ अनि उक्त सीपलाई उत्पादनमा लगाउँछौं भनेर अस्ति सम्म चिच्याईरहेको क्षण स्मरण गर्नुस त ? संगै, उत्पादित बस्तु र सेवाको बजार व्यवस्थापनका लागि सिङ्गो विश्व नै जोड्ने भनेर हामीलाई सुनाएको अस्ति जस्तो लाग्छ । आजको हाम्रो शिक्षा प्रणालीले माथि भनेजस्तो श्रम, सीप, उत्पादन र बजार व्यवस्थापन किन गर्न सकेन भनेर बहस र चिन्तन गर्ने हिम्मत किन गर्नुभएन ? शिक्षा प्रणालीले मानवीय मूल्य मान्यता, खोज अनुसन्धान, आविष्कार र नवप्रवर्तन प्रत्यक्ष सम्बोधन नगरेसम्म मुलुकको समृद्धि कागजमा सिमित हुने तथ्यमा शंका छैन । यहाँको प्रातिक सम्पदा र युरेनियम लगायतका मूल्यवान खनिजवस्तुहरुमा अन्य मुलुकहरु आकर्षित भैरहँदा तपाईहरु भने युवाजनशक्ती बेचेर सो को रेमीट्‌यान्समा सपना देखिरहनु बिडम्बनापूर्ण भन्नै पर्दछ ।

५. सबाल शैक्षिक सरचना र समग्र प्रणालीसँग जोडिएको छ। प्राध्यापक, शिक्षक र कर्मचारीहरुका समस्याका कुरा चुनावताका गर्ने मात्र हैन। नकिने कुरा नबोलौ। सकिने गरेर साबित गरौ। यो वर्ष यत्तिवटा पूरा गछौ र बाँकी अकर्को वर्ष यति गछौ भनेर नढाँटी गरेर देखाउन कस्ले छेक्छ र? शिक्षा प्रशासन लथालिङ्ग छ, तपाईले नै भनेको होईन र चुस्त र कामयावी अनि सम्मानजनक शिक्षा प्रशासन बनाउँने भनेर बाचा गरेको प्राविधिक शिक्षा त्यस्तै निरिह हविगतमा घर्घास्ररहेको देख्नु नै भएको छ । हरेक स्थानियतहमा प्राविधिक शिक्षालय संचालन गर्ने भनिएका कार्यक्रमको प्रभावकारिता हेर्नुभएको छ? अनुमती दिएर मात्र शिक्षण संस्था चल्छ त ? आज कैयौ प्राविधिक शिक्षालय ताला लागेको बास्तविकता बुझनु भएको छ ? पाठ्यक्रम विकास केन्द्रलाई प्राण भर्न जरुरी छ भनेको भुल्नु भयो? माध्यमिक तहकै जाँचका लागि २ वटा परीक्षा नियन्त्रण कार्यालयका बोर्ड झुण्ड्याएर गरेको नाटक त हेरिरहनु भएकै होला ।

६. वर्तमान नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा स्थानियतहमा जिम्मा लगाएको छ । आधारभूत अर्थात कक्षा ८ सम्मको शिक्षा अनिवार्य र निशुल्क भनिएको छ । माध्यमिक तह अर्थात कक्षा १२ सम्मको शिक्षा निशुल्क उल्लेख गरिएको छ। यसरी संविधानले गरेको व्यवस्था कार्यान्वयन भएको छ छैन, त्यो तपाईलाई स्पष्ट थाहा छ। सक्ने भए व्यवहारमा गरेर देखाउनुपर्छ हैन भने कानूनमै यत्ति वर्षमा यो काम गर्ने हो भनेर किटानी गर्न तपाईलाई कस्ले छेकेको छ र? अन्यथा, संविधान, कानून र नियमको धज्जी उडाउन पाईन्छ र ? एक दर्जन आयोग सविधानमा अटाउँदा शिक्षा आयोग संवैधानिक बनाउन नसकेकोमा रत्तिपनि शरम लाग्दैन ?

७. अन्तमा, तितो र नजाती नमान्न होला। सत्य अलि खरो र नमिठो लाग्न सक्छ। विद्यालय शिक्षसँग जोडिएका केहि उल्लेखित सन्दर्भहरुलाई गम्भिरतापूर्वक लिई देखिएका समस्याहरुको जवाफ भन्दा पनि समाधान हामीले खोजेका हो। उच्च शिक्षाका वारेमा अर्को पत्रबाट स्मरण गराउने प्रयत्न हुनसक्छ । हालको अवस्थामा निशुल्क शिक्षा लोकप्रिय नारा बनेको छ। मुख्य कुरो भनेको पैसाको कारणले कुनैपनि विद्यार्थी पढ़ाईबाट बन्चित नहोउन भन्नेमा केन्द्रित हुँदा हुन्न र ? बेठीक र गलत गर्दा पनि आफ्‌ना नजिकका भनेर ढाकछोप गर्ने अनि राम्रा र असल काम गर्नेलाई बेवास्ता गर्ने निकृष्ट कर्मको बन्धनबाट मुक्त भै शिक्षामा दण्ड र प्रोत्साहनका मुद्धालाई प्रार्थामकतामा राख्ने हिम्मत गर्नुहोस । आफ्‌नो चाकडी र प्रशंशा गर्ने मात्रै ठीक र राम्रा अरु सबै बेठीक र नराम्रा देख्ने चस्मा आजै मिल्काउदाँ हुन्न र? सस्ता र लोकप्रिय नारा बोकेर हैन, यथार्थ र वस्तुवादी नि विश्वासिलो बनेर देखाउनु हुने विश्वासका साथ प्रस्तुत हुने अपेक्षा सहित हार्दिक शुभकामना व्यक्त गर्दै यो पत्र यहि टुंग्याउने अनुमती चाहन्छु।

 -एक शुर्भाचन्तक

– रमेश प्रसाद लामिछाने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको