आ. सृजना प्रजापतितलेजुको इतिहास सिम्रौनगढसँग जोडिएको छ । त्यहाँका अन्तिम राजा हरिसिंह देवले, गयासुद्दिन तुग्लकको आक्रमणबाट बच्न सन् १३२४ मा नेपालतर्फ भागेका बेला साथमा तलेजु ल्याएका थिए । उनका साथमा रानी देवलदेवी र छोरा जगत सिंह पनि साथै आएका थिए । बिचमा हरिसिंह देवको मृत्यु भएपछि रानी देवलदेवी भक्तपुरमा आफ्ना दाजु रुद्र मल्लकोमा शरण लिन आइन् । यसरी तलेजु भवानी भक्तपुरमा आइपुगेको वंशावलीहरुमा चर्चा गरिएको पाइन्छ । सन् १७४० मा इटालियन मिसिनरीका लागि नेपाल आएका क्यापिचिनोले पनि सिम्रौनगढमा दरबारको अवशेष देखेको कुरा उनको डायरीमा उल्लेख गरेका थिए । भक्तपुर आएर त्यसको सोधखोज गर्दा सोही कुरा नै बताएको भनी उल्लेख गरेका छन् ।
तलेजु मन्दिर बनाउन जग खन्नेको पनि छुट्टै किंवदन्ती रहेको पाइन्छ । किंवदन्ती अनुसार जग खनेर निकालिएको माटो पुनः खाल्डो पुर्दा सम्म हुनुपर्ने रहेछ । भक्तपुरको तीन स्थानमा खनेर पुनः पुर्दा एक स्थानमा माटो बढी भएको र अर्को स्थानमा घटी भएको थियो । तर हाल तलेजु रहेको स्थानमा भने सिफारिस गरे बमोजिम सम्म भएको पाइयो (यस प्रकृयाको पनि वैज्ञानिक कारण हुनसक्छ)। त्यसैकारण त्यहीँ मन्दिर बनाई तलेजु स्थापना गरियो । यता ब्रम्हपुरको तलेजुको भने यस्तो किंवदन्ती नरहेको पाइयो । हुनसक्छ, तीन स्थानमा खाल्डो खनेकोमध्ये एउटा दत्तात्रयको तचपालमा हो भने अर्को स्थान यो नै हो कि? दत्तात्रयको तचपालमा अहिले पनि ‘वाने लायकू’ भन्ने स्थान छदैँछ ।
भक्तपुरको नासमना टोलमा बलम्पु (ब्रम्हपुर) भन्ने स्थान रहेको छ । जहाँ बंगालीहरुले तलेजु स्थापना गरेका छन् । साथै पक्वान वा कायस्थ थरकी कुमारी राख्ने गर्दछन् । पायोः न्ह्याकेगु (दशैं) को दिन उता भक्तपुर दरबार मूलचोककी कुमारी पूजा गरेजस्तै यता बलम्पुमा भएकी कुमारीको पनि पूजा हुन्छ ।
तलेजुको किंवदन्ती अनुसार शाक्य/बज्राचार्य समुदायमा कुमारीको परम्परा रहिआएको छ । हालसम्म पनि भक्तपुर, काठमाडौं र ललितपुरमा शाक्य बज्राचार्य कुमारी राख्ने र इन्द्रजात्रा, दशैं जस्ता चाडपर्वमा पूजा गर्ने परम्परा विद्यमान नै छ । स्थानीय किंवदन्ती अनुसार “तलेजु माजु मल्ल राजासँग पासा खेल्न आउँथिन् । उनी सधैं पर्दा पछाडी हुन्थिन् । एकदिन राजालाई तलेजु प्रत्यक्ष हेर्न इच्छा भयो । राजाले चियाएर हेर्न खोज्दा तलेजु क्रुद्ध भई अलप भइन् । राजाले रोई, कराई क्षमा माग्न थालेपछि माजुले भनिन्, ‘अबदेखि म आउँदिन तर शाक्य/बज्राचार्य कुलकी कन्यालाई कुमारीका रुपमा स्थापना गर्नू । उनैमा मेरो प्रतिरुप पाउँनेछौ ।’, त्यतिबेलादेखि मल्ल राजाले शाक्य/बज्राचार्य कूलकी कुमारीलाई देवीका रुपमा मान्न थाले,” भन्ने कथन रहेको छ ।
भक्तपुरमा भने एक स्थानमा हिन्दू समुदायबाटै कुमारी बनाउने परम्परा पनि रहेको छ । भक्तपुरको नासमना टोलमा बलम्पु (ब्रम्हपुर) भन्ने स्थान रहेको छ । जहाँ बंगालीहरुले तलेजु स्थापना गरेका छन् । साथै पक्वान वा कायस्थ थरकी कुमारी राख्ने गर्दछन् । पायोः न्ह्याकेगु (दशैं) को दिन उता भक्तपुर दरबार मूलचोककी कुमारी पूजा गरेजस्तै यता बलम्पुमा भएकी कुमारीको पनि पूजा हुन्छ । “मात्र फरक यो छ कि मूलचोकमा राँगोको बलि दिइन्छ, भने यहाँ राँगो, हाँस र अण्डा चल्दैन, बोका मात्रै चल्छ,” विश्वनाथ पक्वान (हालकी कुमारीकी बाजे, करिब ६० बर्ष) ले भन्नुभयो । उहाँ थप्नुहुन्छ, “करिव तीन/चार सय वर्ष अगाडी मल्ल राजाहरुले बंगालीहरूलाई तलेजु राख्ने स्विकृति दिए । उनीहरुकै वंश डा. सुदिप भट्टाचार्य र नुप्पुर भट्टाचार्य हुन् । तर दाजुभाइको अंशबण्डा गर्दा उनीहरुको भागमा यो परेन ।” एकान्त (मूल) कुमारीलाई जस्तै नै गरगहना र भेषभुषा लगाई तथा उस्तै विधि विधानमा पूजा गरिन्छ । ‘अझ पहिला हामी टौमढीमा बस्दा त मूल कुमारीलाई जस्तै नै बोकेर यहाँको तलेजुसम्म ल्याइन्थ्यो ।’ करिब एक दशक अघिको आफ्नै अनुभव सुनाउँदै विद्या पक्वान भन्छिन् । उनी थप्छिन्, ‘म कुमारी भइसकेपछि केही बर्ष यो परम्परा रोकियो ।
अहिले आफ्नै भदै कुमारीको रूपमा दशैंको दिन पूजा गर्छौं । कुमारी हुन मूल एकान्त कुमारीकै जस्तो शारीरिक गुण हुनुपर्छ । साथै उस्तै नियमहरु पनि पालना गर्नुपर्छ । अहिले अन्य परिवारबाट कुमारी हुनेहरु छैनन् । साथै बजेटको पनि अभाव छ ।’ हाल उनीहरुको परिवार सोही तलेजु द्योछेंकै माथिको तलामा बस्दै आएका छन् ।
नासमनाको ब्रम्हपुर चोकभन्दा भित्र अझै सानो चोक रहेको छ । यी दुई चोकहरूको बिचको घर नै तलेजु घर हो । हाल कुमारी घर आधुनिक रुपमा पुनः निर्माण भइसकेको छ । सोही घरमा परम्परागत दुई वटा आँखिझ्याल मात्र बाँकी छ । उक्त तलेजुको चोकमा दुई साना प्रस्तरका सिंह, एक इनार, एक क्षेत्रपाल, र एक ठूलो घण्टलाई प्रस्तरको दुई खम्बाको विचमा झुण्ड्याइएको छ । अन्य अभिलेख हालसम्म नपाइए तापनि घण्टामा एक लहर अभिलेख रहेको छ । तर मिति भने उल्लेख गरिएको छैन ।
यसरी भक्तपुरको विभिन्न लुकेका सम्पदामा यो पनि एक हो । प्रचलित किंवदन्तीहरु भन्दा फरक यो तलेजु र कुमारीको उजागर गर्नु यो लेखको प्रमुख उद्देश्य रहेको छ । यहाँ उक्त तलेजुको चोकको वरपर हालको अवस्था र कुमारीका रुपमा पूजा गरिएका केही तस्विरहरू पनि प्रस्तुत गरिएको छ ।
अभिलेखको लिप्यान्तरण
१ श्री ३ दुग्र्जोज यति ।। शाके रूद्र मुनीन्दु संयरि मिति मासे चमाग्र्ज इ सिते पक्ष चैव कुन्हु तिथौ …………………स्वकी ….. वरी संतृष्द्यौ द्विजकोशीनाथ त…..
स्रोतः
प्रत्यक्ष अवलोकन
बिश्वनाथ पक्वान र विद्या पक्वानसँग अन्तरवार्ता
तस्विर स्रोत विद्या : पक्वानको फेसबुक र लेखिका आफै