हरिसुन्दर छुकां
भक्तपुर । आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा भक्तपुरको चुनावी माहोल तातेको छ । दलहरूले जीत र मत संख्या बढाउन विभिन्न रणनीति तय गरेका छन् । उनीहरूको तयारी प्रचार–प्रसार र भेटघाटमा मात्र सीमित छैन । यहाँका प्रमुख दलहरूले मतदाता आकर्षित पार्ने रणनीति बनाइरहेका छन् ।
दलहरू मतदाता आकर्षित मात्र गर्ने दाउमा मात्र छैनन् उनीहरू एकअर्कामाथि चुनौती, कमजोरी उजागर र निर्वाचन आयोगसँग सम्बन्धित विवादहरू समेत उदाग्याएर आगामी फागुन २१ गतेको चुनावी रणभूमिमा प्रतिस्पर्धा गर्दैछन् । राजनीतिक विश्लेषकहरूका अनुसार भक्तपुरमा चुनाव नारा र प्रचारको युद्ध होइन, संगठन, स्थायित्व, मनोवैज्ञानिक प्रभाव र आरोप–प्रत्यारोपकोसमेत मौसम हो ।
उम्मेदवार र निर्वाचन पृष्ठभूमि
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नं. १ मा २५ र क्षेत्र नं. २ मा ३२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । माघ ६ गतेको उम्मेदवारी दर्तामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेपाली कांग्रेस, नेकपा एमाले, रास्वपा, राप्रपा, नेकपा(संयुक्त), उज्यालो पार्टी नेपाल लगायतका दल तथा स्वतन्त्र गरी कूल ५७ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
भक्तपुर क्षेत्र नं. १ : ‘नेमकिपाको किल्ला’ को रूपमा रहेको छ । यस क्षेत्रका प्रमुख उम्मेदवारहरूमा प्रेम सुवाल, नेमकिपा (निवर्तमान सांसद, प्रखर र निडर प्रश्नकर्ताका् छवि बनाएका), किरण न्यौपाने, नेपाली कांग्रेस (अधिवक्ता, बार एशोसियसन केन्द्रीय सदस्य), सोमप्रसाद मिश्र, नेकपा एमाले (पूर्व चाँगुनारायण नगरप्रमुख), रुकेश रञ्जित, रास्वपा(भक्तपुर उद्योग वाणिज्य संघ महासचिव), हरिराम लवजु, नेकपा(मानवअधिकारकर्मी), भरतबहादुर खड्का, राप्रपा(नेपाली सेनाको अवकाश प्राप्त जर्नेल) रहेका छन् । नेकपा (संयुक्त) दामोदर काफ्ले( विगत ३ दशकदेखि राजनीतिमा सक्रिय तथा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंकाे राजनीतिबाट प्रभावित ) छन् ।
अन्य दल र स्वतन्त्र उम्मेदवारमा आम जनता पार्टी, राष्ट्रिय जनमोर्चा, मितेरी पार्टी नेपाल, नेपालका लागि नेपाली पार्टी, जसपा नेपाल, नेकपा माओवादी, श्रम संस्कृति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारहरूमा सुदिप न्यौपाने, सुजिता बुढाथोकी, विष्णुराम दुमरु, राजेश्वरी प्रजापति, पुण्यराम सुवाल, राजु श्रेष्ठ, दशरथ थापा, सुरेश कोजु, बालकृष्ण खाइतु छन् । भक्तपुर क्षेत्र नंं १ मा ३७ मतदान स्थल, ११० मतदान केन्द्र, पुरुष मतदाता : ५२, ०६६ र महिला मतदाता संख्या ५४,०८८ गरी कुल मतदाता १, ०७, ०५४ रहेका छन् ।
भक्तपुर क्षेत्र नंं. २ भने त्रिपक्षीय भिडन्तस्थल बन्ने देखिएको छ । सो क्षेत्रका प्रमुख उम्मेदवारहरूमा रमेश वैद्य (नेमकिपा, व्यवसायी एवम् कृषक ), महेश बस्नेत(नेकपा एमाले, सचिव, पूर्व सांसद), कबिर राणा (नेपाली कांग्रेस, देशान्तर मिडिया अध्यक्ष, वरिष्ठ पत्रकार), राजीव खत्री, (रास्वपा, पत्रकार), रामप्रसाद सापकोटा,(नेकपा) रहेका छन् ।
अन्य दल र स्वतन्त्र उम्मेदवारहरूमा राप्रपा, आम जनता पार्टी, उज्यालो नेपाल पार्टी, नेपालका लागि नेपाली पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, श्रम संस्कृति पार्टी, जसपा नेपाल, नेकपा माओवादी, त्रिमुल नेपाल, नेकपा संयुक्त, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनसेवा पार्टी रहेका छन् ।
स्वतन्त्र उम्मेदवारहरूमा प्रदीप कुमार रुपाखेती, सविन महत, अनिता भट्टराई, अर्चना भट्टराई, रेणु श्रेष्ठ, सुर्वण थापा, साजन ढकाल, नविन कुमार महत, ओमकृष्ण कुटु, बालकृष्ण श्रेष्ठ, लक्ष्मी बास्तोला पौडेल, श्यामकृष्ण धुख्वा, मधु प्रकाश साहुखल, आनन्द कार्की, मनोज लामालगायत छन् । सो क्षेत्रमा ३० मतदान स्थल, मतदान केन्द्र ११४ छन् भने ४८,०४८ पुरुष मतदाता र ५०, २७७ महिला मतदाता छन् । सो क्षेत्रमा ९८, ३५६ कुल मतदाता छन् ।
यस्तो थियो अघिल्लो निर्वाचन (२०७९) को मत परिणाम
अघिल्लो निर्वाचन (२०७९) मा भक्तपुर क्षेत्र नं. १ मा नेमकिपाका प्रेम सुवालले ४२ हजार ७६१, एमालेका नवराज गेलालले ११ हजार ९६८, राप्रपाका भरतबहादुर खड्काले ९ हजार ३०३, माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार २३८, राप्रपाकै माधव खत्रीले ७०७ मत पाएका थिए । यो क्षेत्र नेमकिपाको बलियो आधार मानिएको छ ।
यस्तै भक्तपुर क्षेत्र नं. २ मा अघिल्लो निर्वाचन मत परिणाम यस्तो रहेको थियो । दुर्लभ थापा क्षेत्री (कांग्रेस) ले २४ हजार २३९, महेश बस्नेत (एमाले)ले २३ हजार २८२ अनुराधा थापामगर (नेमकिपा)ले ७ हजार १२७, साजन विक (रास्वपा)ले ४ हजार ०९८, मोहन केसी (राप्रपा)ले २ हजार ५६९ र अन्यले २३७८ मत पाएका थिए । यी परिणामले त्रिपक्षीय प्रतिस्पर्धा र स–साना मतान्तरका कारण यसलाई ‘स्विङ क्षेत्र’ का रूपमा लिइएको छ ।
यस्तो छ दलहरूको रणनीति
संगठन सुदृढीकरण : सबै दलहरूले वडास्तरमा संगठन सुदृढीकरणलाई प्राथमिकता दिएका छन् । विगतका नतिजा, वडामा पनि टोलका प्रभावशाली व्यक्तित्वसँग सम्पर्क गर्ने र मतदाता सूची विश्लेषण गरी दलहरुले आन्तरिक रणनीति तयार गरेका छन् । विश्लेषकका अनुसार उम्मेदवार र दलहरुले आफ्नो लोकप्रियतासँगै समुदाय र स्थानीय मुद्दामा पहुँचका विषयमा ध्यान दिन थालेका छन् ।
मुद्दा निर्माण
दलहरूले ‘विकास’ नारालाई लिँदै फरक एजेन्डा अगाडि सारिरहेका छन् । त्यसको सुरुवात भइसकेको छ । यस अन्तर्गत नेमकिपाले स्थायित्व, विचार र संगठनलाई मुख्य एजेन्डा बनाएका छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयलाई प्राथमिकता दिएको नेमकिपाले राजनीतिलाई सेवाको अवसरका रुपमा लिँदै आएको छ ।
कांग्रेसले सामाजिक समावेशिता, लोकतन्त्र, र स्थानीय विकास, एमालेले पूर्वाधार, राष्ट्रिय नेतृत्वसँगको सम्बन्ध र विकास, रास्वपाले नयाँ दललाई विश्वास गर्न र राप्रपाले वैकल्पिक शक्तिका साथै हिन्दू राष्ट्र र राजतन्त्रको मुद्धा अघि सारेका छन् । सबै दलहरुले भ्रष्टाचार, अनियमितताका साथै विकाससँग सम्बन्धित विभिन्न एजेन्डालाई अघि बढाइरहेका छन् । चुनावी थर्मोमिटरको तापमान बढेसँगै राजनीतिक दल तथा उम्मेदवारहरुले आफ्नो क्रियाशीलता देखाउन सुरु गरेका छन् । उनीहरुले पछिल्लो पुस्ताको सबैभन्दा सजिलो उपायको रुपमा रहेको सामाजिक सञ्जालको उच्चतम प्रयोग गर्न थालेका छन् ।
डिजिटल माध्यममार्फत् प्रत्यक्ष प्रचार
दलहरुले सोशल मिडियाको प्रयोग उल्लेख्य वृद्धि गर्न थालेका छन् । अघिपछि सामाजिक सञ्जालमा फाट्टफुट्ट देखिने उम्मेदवारहरुले मनोनयन दर्तासँगै विभिन्न पोष्टहरु सार्वजनिक गर्दै भोट माग्न सुरु गरिसकेका छन् । उनीहरुले फेसबुक, टिकटक, युट्युबमा छोटो राजनीतिक सन्देश, विपक्षीका कमजोरी उजागर गर्ने सामग्रीमार्फत् भोट माग्न सुरु गरिसकेका छन् । औपचारिक रुपमा पार्टीले घरदैलो सुरु नगरे पनि प्रत्यक्ष भेटघाटलाई बढ्दै गएको छ । टेलिफोनमार्फते सम्पर्क र सम्बन्ध स्थापित गर्ने क्रम तीब्र बन्न थालेको छ ।
राजनीतिक आरोप–प्रत्यारोप
निर्वाचनमा उजुरी र आरोप–प्रत्यारोपको विषय पनि देखिन थालेको छ । एकले अर्कालाई आरोप–प्रत्यारोप सुरु भएका छन् । चोक, टोलका चिया पसल, चौतारीहरुमा पनि यस किसिमको गतिविधि बढेको स्थानीयहरु बताउँछन् । चुनावी माहोल बढेसँगै दल र उम्मेदवारबीच आरोप–प्रत्यारोप थप तीव्र बन्दै गएको छ । केही दलहरूले प्रतिद्वन्द्वीलाई स्थानीय विकासमा असफल, योजना कार्यान्वयनमा ढिलाइ, पारदर्शितामा कमजोरी लगायतका आरोप समेत लगाएर विभिन्न किसिमका टिकाटिप्पणी सुरु भइसकेका छन् । बढ्दो चुनावी सरगर्मीसँगै आरोप–प्रत्यारोप र डिजिटल सञ्जालमा हुने सन्देश युद्धले मतदाताको मनोवैज्ञानिक प्रभावलाई उल्लेखनीय रूपमा परिवर्तन गर्ने दाउमा दल र उम्मेदवार तथा कार्यकर्ताहरु लाग्न थालेका विश्लेषकहरुले जनाएका छन् ।
मतदाता दृष्टिकोण
भक्तपुरका मतदाताहरू अहिले दलहरुको आर्कषक नारा, आरोप, एजेण्डाका साथै दलहरुको विगतको भूमिका, उम्मेदवारहरुको पृष्ठभूमि, राष्ट्रिय तथा स्थानीय स्तरका विषयमा खेलेको भूमिका जस्ता विषयको विश्लेषण गरिरहेका छन् । धेरैले पारदर्शिता, जवाफदेहिता, स्थानीय सेवा वितरण र योजनाको प्रभावको आधारमा नेता तथा दललाई मापन गर्दै छन् । मतदाताको यो मनोविज्ञान बुझेका दल तथा उम्मेदवारहरुले सोही अनुसारको विवरण समेत मतदातासमक्ष पुर्याउन सुरु गरिसकेका छन् । एक स्थानीय शिक्षकले भने, ‘यस क्षेत्रका नेताले गरेको सेवा र बोकेको जवाफदेहिताबारे हामी समीक्षा गरिरहेका छौं, घोषणापत्रको कार्यान्वयनको मूल्यांकन गरिरहेका छौं ।’
भक्तपुरको निर्वाचन नारा, एजेण्डाको द्वन्द्वमात्र होइन, यो रणनीति, संगठन, आरोप–प्रत्यारोपका साथै जनताप्रति गरेको प्रतिवद्धता कार्यान्वयनको मूल्यांकन पनि भएको विश्लेषकहरुको भनाइ छ । विगतको मत नतिजाले भक्तपुर क्षेत्र नं. १ मा नेमकिपाको बलियो पकड रहेको छ । विश्लेषकहरुका अनुसार भक्तपुर क्षेत्र नं.१ मा नेमकिपाको बलियो किल्ला भत्काउनका लागि अन्य दलहरुले आन्तरिक तयारी समेत गरिरहेका छन् । उनीहरु नेमकिपालाई सो क्षेत्रमा हराउने गरी गठबन्धनको तयारीमा समेत लागिरहेको स्रोतकोे भनाइ छ । क्षेत्र नं. २ मा त्रिपक्षीय स्विङ क्षेत्रको प्रतिस्पर्धा रहेको छ । त्यस क्षेत्रको मत परिणामले कुनै दलको सहज विजयलाई चुनौती दिएको छ ।
यसका बीच, मतदाताले स्थायित्व, पारदर्शिता र जवाफदेहिताका आधारमा आफ्नो निर्णय गर्ने देखिन्छ, जुन फागुन २१ मा निर्णायक हुनेछ ।
