भक्तपुर । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
त्यसैले आजको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइन्छ ।

स्वस्थानी मेला
एक महिनासम्म लाग्ने मेलामा भक्तपुरको हनुमानघाट र साँखुको शाली नदीमा विशेष चहलपहल हुन्छ । हनुमान घाटमा आज बिहानै स्नान गर्ने तथा माधव नारायणको पूजा गर्नेहरुको चहलपहल छ । भक्तपुरको हनुमानघाट र साँखुको शालीनदीस्थित माधव नारायणको मन्दिरमा कठोर पूजामा विशेषतः केटा मानिसहरु व्रत बस्ने र पल्टिमार्दै धार्मिक यात्रा पूरा गर्नुपर्ने क्रियाकलाप हुने गर्दछ ।

स्वस्थानी र माधवनारायणका व्रतालुहरु परदेश यात्राअन्तर्गत काठमाडौंको साँखुस्थित शालीनदीबाट भक्तपुरको चाँगुनारायण मन्दिरसम्म आउँछन् । व्रतालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा शुरु गर्छन् । माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्थानको यात्रा गरिन्छ । भोलिपल्ट चाँगुनारायणबाट साँखु र्फकने परदेश यात्राको नियम छ ।
आजैबाट काठमाडौंको शालीनदीमा स्वस्थानीको मेला सुरु भएको छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । त्यसैले साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्छ ।