भक्तपुर । नेपाल संवतको नयाँ वर्षलाई स्वागत गर्दै मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले भक्तपुरको ताथलीमा विगत एक दशकदेखि निरन्तर न्हुँदया भिंतुना र्याली आयोजना हुँदै आएको छ। यस वर्ष पनि नेपाल संवत् ११४७ को स्वागतमा प्रगति युवा समाज, ताथलीले र्याली आयोजना गर्ने भएको छ।
समाजको आयोजनामा आगामी २०८३ कार्तिक २४ गते मङ्गलबार बिहान ७ बजे र्याली सञ्चालन हुनेछ। म्हपूजा तथा गोवर्धन पूजाको दिन आयोजना हुने र्यालीमा सहभागी भई नयाँ वर्षको स्वागत गर्न समाजले स्थानीय बासिन्दा, संस्कृतिप्रेमी तथा सम्पूर्ण शुभेच्छुकलाई निमन्त्रणा गरेको छ।
चाँगुनारायण नगरपालिका–९, ताथलीमा आयोजना हुने र्याली बनमाला टोलस्थित गणेश मन्दिरबाट सुरु कार्यक्रम संयोजक हरिसुन्दर गोसाइँले जानकारी दिए । र्याली खर्क पुल, गोठाले चौर, पण्डित पँधेरो हुँदै फैढोका राममन्दिर पुगेर समापन हुने कार्यक्रम रहेको छ।
नेपाल संवत् नेपाली मौलिक संवत् र नेवार समुदायको सांस्कृतिक पहिचानसँग जोडिएको महत्त्वपूर्ण सम्पदा हो। नयाँ वर्षको अवसरमा निकालिने न्हुँदया भिंतुना र्यालीले आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक चेतना अभिवृद्धि गर्न योगदान पुर्याउँदै आएको आयोजक समाजका अध्यक्ष हरिसुन्दर छुकांले जानकारी दिए । यस्ता सांस्कृतिक गतिविधिले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति, परम्परा र ऐतिहासिक पहिचानसँग जोड्नसमेत सहयोग पुर्याउँदै आएको आयेजकको ठहर छ ।
ताथलीमा एक दशकदेखि निरन्तर आयोजना हुँदै आएको यस र्यालीले स्थानीय समुदायमा नेपाल संवत् प्रतिको अपनत्व बढाउनुका साथै नयाँ वर्षलाई सामूहिक रूपमा स्वागत गर्ने परम्परा बसेको समाजका सचिव रवीन्द्र न्हेम्हाफुकीले बताए । र्यालीमा स्थानीय बासिन्दाको सहभागिताले सांस्कृतिक उत्सवलाई थप जीवन्त बनाउने अपेक्षा गरिएको छ।
२०६८ सालमा स्थापित प्रगति युवा समाजले सामाजिक तथा सांस्कृतिक गतिविधिमार्फत स्थानीय समुदायमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। समाजले नेपाल संवतको नयाँ वर्षका अवसरमा आयोजना गर्दै आएको र्यालीलाई यस वर्ष पनि निरन्तरता दिन लागेको हो।
समाजले न्हुँदया भिंतुना र्यालीमा सहभागी भई नेपाल संवत् ११४७ को स्वागत गर्न सबैलाई आग्रह गरेका छन्। यस वर्षको उक्त र्याली सफल बनाउन समाजले विभिन्न उपसमिति गठन गरी तयारी समेत सुरु गरेको छ ।
र्यालीको विवरण
कार्यक्रम : न्हुँदया भिंतुना र्याली
मिति : २०८३ कार्तिक २४ गते, मङ्गलबार
समय :बिहान ७ बजे
भेला हुने स्थान : बनमाला टोल गणेश मन्दिर, ताथली
र्यालीको मार्ग : बनमाला टोल गणेश मन्दिर → खर्क पुल → गोठाले चौर → पण्डित पँधेरो → फैढोका राममन्दिर (समापन)
