भक्तपुर । भक्तपुर नगरपालिका ले शैक्षिक सत्र २०८२ अन्तर्गत सञ्चालन गरिएको आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा–२०८२ को परीक्षाफल सार्वजनिक गरेको छ। परीक्षा समितिको मिति २०८२/१२/२५ को निर्णयअनुसार नतिजा प्रकाशित गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार परीक्षामा कुल २,९३९ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ९५९ जना सामुदायिक, १० जना खुला सामुदायिक तथा १,९७० जना संस्थागत विद्यालयका विद्यार्थी रहेका थिए। कुल ६४ विद्यालय (सामुदायिक १७, खुला सामुदायिक १ र संस्थागत ४६) परीक्षामा सहभागी भएका थिए।
परीक्षामा सहभागीमध्ये १० जना विद्यार्थी अनुपस्थित रहेका थिए भने बाँकी विद्यार्थीहरूको मूल्यांकनपछि नतिजा सार्वजनिक गरिएको हो।
प्रकाशित नतिजाअनुसार २,७१२ विद्यार्थी अर्थात् ९२.२८ प्रतिशत विद्यार्थी कक्षा ९ मा भर्ना हुन योग्य भएका छन्। यी सबै विद्यार्थीहरूले कुनै पनि विषयमा सैद्धान्तिक वा प्रयोगात्मकतर्फ NG (Not Graded) प्राप्त नगरेको नगरपालिकाले जनाएको छ।
ग्रेड वितरणअनुसार ३.६१ देखि ४.०० GPA ल्याउने ५६७ जना, ३.२१ देखि ३.६० GPA ल्याउने १,०७७ जना, २.८१ देखि ३.२० GPA ल्याउने ७६० जना, २.४१ देखि २.८० GPA ल्याउने २७४ जना तथा २.०१ देखि २.४० GPA ल्याउने ३४ जना विद्यार्थी रहेका छन्। NG प्राप्त गर्ने विद्यार्थी संख्या २२७ रहेको विवरणमा उल्लेख छ।
नगरपालिकाले विद्यालयहरूलाई emis.gov.np प्रणालीमा लगइन गरी Grade Ledger अन्तर्गत कक्षा ८ को नतिजा हेर्न तथा प्रिन्ट गर्न सकिने व्यवस्था गरिएको जनाएको छ।
नगर शिक्षा शाखाका अनुसार नतिजा सार्वजनिक भएसँगै कक्षा ९ भर्ना प्रक्रिया नियमित रूपमा अघि बढाइनेछ।
