शुक्रबार, फाल्गुन २२, २०८२

23.1 C
Bhaktapur
शुक्रबार, फाल्गुन २२, २०८२
23.1 C
Bhaktapur
HomeNews Contentशिक्षाकक्षाबाट जीवनसम्मको यात्रा : गोल्डेन गेटको पिबिएल मेला

कक्षाबाट जीवनसम्मको यात्रा : गोल्डेन गेटको पिबिएल मेला

भक्तपुर । विद्यालयको कक्षा कोठा सामान्यतः पाठ, पाठ्यपुस्तक र परीक्षाको तयारीमा सीमित हुने ठाउँ हो। तर महाकालिस्थानस्थित गोल्डेन गेट इङ्गलिश सेकेण्डरी स्कूल मा भने कक्षा कोठा ज्ञान ग्रहण गर्ने स्थान मात्र होइन, जीवन बुझ्ने प्रयोगशाला बनेको छ। यही प्रयोगशालाको सार्वजनिक रूप बन्यो, पाँचौं गोल्डेन गेट पिबिएल मेला २०८२।

विद्यालयको ३९ वर्षे शैक्षिक यात्राको महत्वपूर्ण कडी बनेको यस मेलाले सिकाइलाई सैद्धान्तिक सीमामा नराखी जीवनसँग जोड्ने विद्यालयको दीर्घकालीन अभ्यासलाई उजागर गर्यो। मेला परिसरमा प्रवेश गर्नेबित्तिकै विद्यार्थीका सिर्जना, अनुसन्धान र प्रयोगले भरिएको वातावरणले सिकाइको परिभाषालाई नै फराकिलो बनाइदिएको अनुभूति हुन्थ्यो ।

मेलाको औपचारिक उद्घाटनसँगै विद्यालयले स्थापना गरेको “गोल्डेन गेट सांस्कृतिक संग्रहालय” को समुद्घाटन प्रमुख अतिथि तथा भक्तपुर नगरपालिका वडा नं. ६ का अध्यक्ष डा. हरिराम सुवालले पौराणिक लाल्टीन प्रज्वलन गर्दै गरे। त्यो लाल्टीन केवल संग्रहालय उद्घाटनको प्रतीक मात्र थिएन, बरु पुस्तौंदेखि पुस्तासम्म ज्ञान र अनुभव हस्तान्तरणको प्रतीक बनेको थियो।

उनले विद्यालयले अपनाएको प्रोजेक्ट–बेस्ड लर्निङ (पिबिएल) विधिले बालबालिकामा सानैदेखि आत्मविश्वास, सिर्जनशीलता र व्यावहारिक क्षमता विकास गरेको बताए। “राणाकालमा पढ्न नपाउने अवस्थाबाट आजको व्यावहारिक शिक्षासम्म आइपुग्नु ठूलो परिवर्तन हो,” उनले भने, “यस्तो अभ्यासले भक्तपुरलाई ज्ञान र विज्ञानको केन्द्र बनाउने लक्ष्यलाई थप बल दिएको छ ।

कार्यक्रमका विशेष अतिथि तथा शिक्षा मन्त्रालयका विज्ञ सल्लाहकार अभिषेक घिमिरे ले गोल्डेन गेटको पिबिएल अभ्यासलाई नेपालको शिक्षा प्रणालीका लागि प्रेरणादायी मोडेलको रूपमा व्याख्या गरे। उनका अनुसार, विद्यालयले हवार्ड गार्नर को बहुबुद्धिमत्ता सिद्धान्तलाई व्यवहारमा उतार्दै फरक क्षमता भएका विद्यार्थीलाई समान अवसर दिएको छ।

“पाठ्यक्रमलाई जीवनसँग जोडेर सिकाउनु नै साँचो शिक्षा हो,” उनले भने, “यस्तो अभ्यासलाई देशभर विस्तार गर्न सकियो भने शिक्षा प्रणालीमै गुणात्मक परिवर्तन सम्भव छ।”

वरिष्ठ संगीतकार तथा शिक्षा मन्त्रालयका सल्लाहकार प्रदीप बोम्जनले पनि गोल्डेन गेटले विद्यार्थीलाई परीक्षा उत्तीर्ण गर्ने नभई जीवनका लागि तयार गर्ने अभ्यास गरिरहेको बताए। यस्तै, शिक्षा संवादकर्ता प्रकाश गौतम ले विद्यालयको शिक्षा दर्शनलाई “अनुसन्धान, प्रयोग र आत्मविश्वासको संयोजन” भने।

विद्यालयका प्रिन्सिपल सिङ्ग लामाका अनुसार यो यात्रा अचानक सुरु भएको होइन। सन् २००६ देखि यातनामुक्त शिक्षण वातावरणको अवधारणा लागू गर्दै विद्यालयले सिकाइलाई विद्यार्थीकेन्द्रित बनाउने प्रयास सुरु गरेको थियो। त्यसपछि सन् २०११ देखि जोन डिवी को अनुभवमा आधारित सिकाइ दर्शनलाई व्यवहारमा उतार्दै प्रोजेक्ट बेस्ड लर्निङलाई विद्यालयको मूल अभ्यास बनाइएको हो।

उनका अनुसार, “सिकाइ केवल जानकारी प्राप्त गर्नु होइन, अनुभवमार्फत ज्ञान निर्माण गर्नु हो। विद्यार्थीले आफैं अनुसन्धान गरेर, सिर्जना गरेर र प्रस्तुत गरेर सिक्दा त्यो ज्ञान जीवनभर रहन्छ।”

सिर्जनाको उत्सव बनेको मेला
मेलामा कक्षा १ देखि ७ सम्मका विद्यार्थीले तयार गरेका १०९ वटा प्रोजेक्ट प्रदर्शनीमा राखिएका थिए। यी प्रोजेक्टहरू केवल विद्यालयको गृहकार्य नभई विद्यार्थीको सोच, जिज्ञासा र अनुभवको प्रतिबिम्ब थिए। कसैले समाजका समस्याको समाधान खोजेका थिए, कसैले प्रकृतिको अध्ययन गरेका थिए, त कसैले आफ्नै कल्पनालाई मूर्त रूप दिएका थिए।

त्यस्तै, “मकै घर” कार्यक्रमअन्तर्गत विद्यार्थीले सिर्जना गरेका १५७० अंग्रेजी र १४४१ नेपाली रचनाले विद्यालयको अर्को महत्वपूर्ण पक्ष उजागर गर्यो, विद्यार्थीलाई पाठकबाट सर्जक बनाउने प्रयास।

आर्ट क्लबका चित्रहरू, सांस्कृतिक संग्रहालयमा राखिएका ऐतिहासिक सामग्री र विभिन्न पेशा तथा संस्कृतिसँग सम्बन्धित वस्तुले मेलालाई केवल शैक्षिक कार्यक्रम नभई सांस्कृतिक र बौद्धिक उत्सवमा रूपान्तरण गरिदिएको थियो।

गोल्डेन गेटको पिबिएल मेला एक दिनको कार्यक्रम होइन, बरु भविष्यको शिक्षा कस्तो हुनुपर्छ भन्ने प्रश्नको एउटा सम्भावित उत्तर हो। यहाँ विद्यार्थीले केवल ‘के पढ्ने’ होइन, ‘किन पढ्ने’ र ‘कसरी प्रयोग गर्ने’ भन्ने कुरा सिकिरहेका छन्।

यसले शिक्षा तब मात्र सार्थक हुन्छ, जब त्यो जीवनसँग जोडिन्छ भन्ने स्पष्ट बनाएको छ । गोल्डेन गेटको यो अभ्यासले कक्षा कोठाबाट सुरु भएको सिकाइ, जब जीवनसँग जोडिन्छ, तब त्यो केवल ज्ञान होइन, अनुभव, आत्मविश्वास र भविष्य निर्माणको आधार बन्छ भन्ने देखाएको विश्लेषण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको